नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटीकाको अवसर पारेर पर्यटकीय सहर पोखराको लेकसाइडमा आयोजित भाइटीका महोत्सवमा १७ देशका ५१ भन्दा बढी विदेशी पर्यटकले नेपाली चेलीको हातबाट सप्तरङ्गी टीका लगाएका छन्। होटल सङ्घ पोखराको आयोजनामा बुधबार उक्त महोत्सव सम्पन्न भएको हो।
महोत्सवमा बेलायत, अमेरिका, अस्ट्रेलिया, लिथुआनिया, बेल्जियम, जापान, रुस र चीन लगायतका देशका पर्यटकहरूको सहभागिता रहेको होटल सङ्घले जनाएको छ।
महोत्सवमा स्थानीय रेन्बो चिल्ड्रेन होमका बालिकाहरूले विदेशी पाहुनाहरूलाई विधिपूर्वक सप्तरङ्गी भाइटीका र सयपत्री फूलको माला लगाइदिएका थिए।
साथै, पुरुष पर्यटकलाई नेपाली ढाका टोपी र महिला पर्यटकलाई सल ओढाइदिँदै तिहारको विशेष भाइटीका मसला समेत प्रदान गरिएको थियो।
टीका ग्रहण गरेपछि विदेशी पर्यटकहरूले बालिकाहरूलाई दक्षिणा दिएका थिए। त्यसपछि पर्यटकहरूलाई परम्परागत सेलरोटी र अचारसहित विभिन्न स्वादिष्ट नेपाली परिकार खुवाइएको थियो।
सो अवसरमा रेन्बो चिल्ड्रेन होमका बालबालिकाहरूले देउसी-भैलो प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए भने पर्यटकहरू समेत देउसी-भैलोको लयमा छमछमी नाचेर रमाएका थिए।
यो भाइटीका महोत्सवको १९ औं संस्करण हो। महोत्सवमा विदेशी पाहुनाहरू स्वतःस्फूर्त रूपमा सहभागी भएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।
उनले भने, ‘भाइटीका लगाउन पर्यटकहरू दोहोर्याएर आउने गरेका छन्। यसले पर्यटकको आगमन वृद्धि गर्न र बसाइ लम्ब्याउन ठूलो सघाउ पुर्याएको छ।’
सङ्घको आयोजनामा भएको सामूहिक भाइटीका बाहेक पोखराका विभिन्न होटलहरूले समेत विदेशी पाहुनालाई छुट्टाछुट्टै भाइटीका लगाइदिने प्रबन्ध मिलाएको उनको भनाइ छ।
होटल सङ्घ पोखराका पूर्वअध्यक्ष तथा बटरफ्लाई फाउन्डेसनका संस्थापक गोविन्दराज पहारीले भाइटीका महोत्सवले विदेशी पर्यटकहरूमा उत्साह र मनोरञ्जन थप्ने काम गरेको बताए।
उनले भने, ‘पर्यटकहरू भाइटीका लगाएर खुसी हुन्छन्। यसले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै नेपाल आएका पर्यटकले यहाँको मौलिक संस्कृति बुझ्दै मनोरञ्जन लिन पाएका छन्।’
महोत्सवमा सहभागी विदेशी पाहुनाहरू नेपाली आतिथ्यता र भाइटीका लगाउन पाउँदा निकै मख्ख परेका थिए। सहभागीहरूले नेपालको सांस्कृतिक पर्व तिहार साँच्चिकै रमाइलो र आत्मीय रहेको प्रतिक्रिया दिए।
पहिलोपटक भाइटीका लगाएकी अस्ट्रेलियाली नागरिक रुपर्टले तिहार पर्व सम्बन्ध प्रगाढ बनाउन महत्त्वपूर्ण रहेको बताइन्। उनले भनिन्, ‘म यस अर्थमा भाग्यमानी छु कि मैले यहाँका दिदीबहिनीको हातबाट आत्मीयताका साथ भाइटीका लगाउन पाएँ र यसको सांस्कृतिक महत्त्वबारे जानकारी पाएँ।’
त्यस्तै, लिथुआनियाकी महिला पर्यटक मोनिकाले भाइटीका लगाउन पाउनु आफ्नो जीवनकै सबैभन्दा महत्त्वपूर्ण क्षण भएको उल्लेख गरिन्।
नेपाली संस्कृति साँच्चिकै आत्मीय रहेको बताउँदै उनले भनिन्, ‘यो मेरो लागि सबभन्दा स्वर्णिम क्षण हो, यो समय मेरो लागि अमूल्य छ र यसका लागि म धन्यवाद दिन चाहन्छु।’
नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा पोखरा महानगरपालिकाको सहयोगमा सम्पन्न भएको यो महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्याउने विश्वास होटल सङ्घको छ।
प्रकाशित: २५ कार्तिक २०८३ १९:२३ बुधबार



