समाज

पाथीभरा क्षेत्रमा भेटिएको प्रतिबन्धित मदिरा नष्ट

पाथीभरा क्षेत्रमा भेटिएको प्रतिबन्धित मदिरा नष्ट गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले मादक पदार्थको बिक्री बितरण तथा प्रयोगमा रोक लगाईको ताप्लेजुङस्थित पाथीभरा क्षेत्रबाट लोकल तथा अन्तशुल्क स्टिकर नटाँसिएका मादक पदार्थ जफत गरी नष्ट गरेको छ ।  

फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझासहित सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काको अगुवाइमा सोमवार भएको अनुगमनका क्रममा माथिल्लो फेदी, बुलुडाँडासहितका क्षेत्रबाट स्थानीय उत्पादनको मदिरा र अन्तशुल्क स्टिकर नटाँसिएका बियर जफत गरी नष्ट गरेको हो ।  

सहायक प्रमुख जिल्ला अधिकारी खड्काले बिक्री बितरण तथा सेवन गर्न प्रतिवन्ध गरिएको पाथीभरा क्षेत्रमा लोकल मदिरा र अन्तशुल्क स्टिकर नटाँसिएका पेय पदार्थ फेला परेपछि जफत गरी नष्ट गरिएको जानकारी दिइन् ।  

कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख यमनाथ गिरीले अन्तशुल्क स्टिकर नटाँसिएका मादक पदार्थ फेला परेपछि यसका बारेमा गहिरो अनुसन्धान सुरु गरिएको जानकारी दिए ।  

सहायक प्रमुख जिल्ला अधिकारी खड्काका अनुसार अनुगमन टोलीले म्याद नाघेका सामग्री जफत गरी नष्ट गरेको छ । अनुगमन टोलीले पाथीभरा क्षेत्रका होटल तथा पसलहरुमा उपभोग्य वस्तुको बिक्री दरबारे समेत अनुगमन गरेको जनाएको छ ।

‘उपभोक्तामैत्री बजार स्थापनाका लागि उपभोग्य वस्तुलाई व्यवसायिक मापदण्ड विपरित जान नदिन जागरण सहित अनुगमनमा निस्किएका हौं’फुङलिङ नगरपालिकाको अनुगमन कार्यदल टोली संयोजक तुलसा निरौलाले बताइन् ।  

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका सूचना अधिकारी नवीन भट्टराईले चाडपर्व लक्षित अनुगमनलाई बजारको प्रभाव र चहलपहलसहितका हिसावले वर्गीकरण गरी अनुगमन कार्य अघि बढाईएको जानकारी दिए ।  

जिल्ला प्रशासन कार्यालय, फुङलिङ नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयले स्थानीय उद्योग वाणिज्य संघसँग मिलेर उपभोक्ता अधिकारको पक्षमा बजार तथा पसलको नियमित अनुगमन गर्दै आइरहेको छ ।  

अनुगमनको कार्यतालिका बनाई नियमित र प्रभावकारी रुपले अघि बढाइरहेको सहायक प्रजिअ खड्का बताउँछिन् । उनले उपभोग्य वस्तुको वर्गीकरण गरी नियमित रुपमा अनुगमन गर्नेगरी तयार भएको अनुगमन कार्यतालिकाको प्रभावकारी कार्यान्वयनमा अग्रसर भइरहेको बताइन् ।  

अनुगमन टोलीले आइतबार फुङलिङ बजारको वीरेन्द्रचौकदेखि टुक्रे आसपासका क्षेत्रका दैनिक उपभोग्य वस्तु(खाद्यान्न)बिक्री गर्ने केन्द्रहरुको अनुगमन गरेको थियो । 

प्रकाशित: ६ आश्विन २०८२ २१:१५ सोमबार