ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवन गरे कारबाही हुने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले शुक्रवार एक सूचना जारी गर्दै अहिले पनि पाथीभरा मन्दिर क्षेत्रमा आंशिक रुपमा मदिराजन्य पदार्थको बिक्री वितरण भइरहेको पाईएकोले त्यसो नगर्न आग्रह गरेको छ ।
क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवन गरिएको प्रतिबन्धको कडाई कार्यान्वयनका लागि आग्रह गरेका छन् । उनले पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवन गरे प्रचलित कानुन बमोजिम कारबाही हुनेतर्फ समेत सचेत गराएका छन् ।
यही असोज ६ गते फुङलिङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय र पाथीभरा क्षेत्र विकास समितिमार्फत पाथीभरा क्षेत्रका होटल तथा बजार पसलको अनुगमन भएको थियो । सो अनुगमनका क्रममा अनुगमन टोलीले माथिल्लो फेदी र बलुडाँडा आसपासका केहि पसलबाट स्थानीय उत्पादनको सहित मदिराजन्य पदार्थ फेला पारी नष्ट गरेको थियो ।
क्षेत्र विकास समितिले सो अनुगमनबाट पाथीभरा क्षेत्रमा अहिलेपनि आशिंक रुपमा मदिराजन्य पदार्थको बिक्री वितरण भइरहेको पाईएको निश्कर्ष निकाल्दै अबपनि उक्त कार्य दोहोरिए कानुन अनुसार कारबाही हुने बताएको हो । क्षेत्र विकास समितिको मिति २०८१ साल वैशाख २ गतेको निर्णय अनुसार २०८१ वैशाख ४ गतेबाट पाथीभरा मन्दिर क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री वितरण,प्रयोग र सेवन गर्न पाइदैंन ।
प्रकाशित: १० आश्विन २०८२ १९:०८ शुक्रबार