प्रदेश प्रहरी कार्यालय विराटनगरले गत वर्ष आपराधिक गतिविधिमा संलग्न भई अदालतबाट दोषी ठहर भएर भाग्दै आएका साढे ३ हजारभन्दा बढी फरार प्रतिवादी पक्राउ गरी कानुनी कारबाही गरेको छ।
विभिन्न खाले आपराधिक गतिविधिको आरोपमा अदालतले विभिन्न मितिमा गरेको फैसलाअनुसार दोषी प्रमाणित भएर लुकेर बसेका प्रदेशका १४ वटै जिल्लाका ३ हजार ५१३ जना फरार प्रतिवादी पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कार्यालयको वार्षिक प्रगति विवरणअनुसार प्रदेशका १४ वटै जिल्ला प्रहरी, इलाका, चौकी, अपराध अनुसन्धान ब्युरो र अस्थायी प्रहरी चौकीबाट परिचालित टोलीको सक्रियतामा प्रतिवादी पक्राउ गर्न सफलता मिलेको हो।
प्रदेश प्रहरी कार्यालयले सञ्चालन गरेको ‘फरार प्रतिवादीको खोजी तथा पक्राउ र अदालतको फैसला कार्यान्वयन अभियान’ लाई निरन्तरता दिँदा ०८१ साउनदेखि असार मसान्तसम्मको एक वर्षमा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालय मोरङका १ हजार १५६ जना र सबैभन्दा कम सोलुखुम्बुका १४ जना छन्।
त्यसैगरी सुनसरीबाट एक हजार २ जना, झापाका ५३४ र उदयपुरका २६० फरार प्रहरी नियन्त्रणमा परेका छन्। इलाम प्रहरीले १४६ जनालाई नियन्त्रणमा लिएको छ भने ओखलढुंगाले ६९ जना, धनकुटाले ५७ जना, खोटाङले ५३ जना र ताप्लेजुङले ४८ जना फरार प्रतिवादी पक्राउ गरेको छ। तेह्रथुमले ४५, भोजपुरले ४४, पाँचथरले ४२, संखुवासभाले २८ जना नियन्त्रणमा लिएको छ भने प्रादेशिक अनुसन्धान समूहले १५ जना प्रतिवादी पक्राउ गरेको छ।
यसरी जम्मा ३ हजार ५१३ जना फरार प्रतिवादी पक्राउ गर्दा एक हजार ४१६ वर्ष कैद सजाय भुक्तान भएको प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) इश्वर कार्कीले बताए। उनका अनुसार कैद फर्स्याैटसँगै पक्राउबाट जरिवानाबापत १४ करोड ७७ लाखभन्दा बढी राजस्व संकलन भएको छ।
डिआईजी कार्कीको भनाइअनुसार विभिन्न आपराधिक गतिविधिमा संलग्न भएर फरार भएकालाई पक्राउ गरी कानुनी कारबाही नगर्दा समाजमा गलत सन्देश जाने र अपराधीको मनोबल बढेर समाजमा अशान्ति हुने निष्कर्षका साथ फरार पक्राउ तथा कारबाही अभियान चलाइएको हो। फरार प्रतिवादी गाउँ, घर, छिमेकमा लुकेर बस्ने गरेकाले स्थानीय नागरिकको सहयोगमा अभियान सफल भएको उनले बताए।
आगामी दिनमा पनि फरार प्रतिवादी भए नजिकको प्रहरी कार्यालयलाई जानकारी दिन डिआईजी कार्कीले अनुरोध गरेका छन्। सूचना दिने व्यक्तिको गोपनीयता पूर्णरूपमा सुरक्षित राखिने विश्वास दिलाउँदै उनले समाजमा अपराध कम गर्न जनताको ठूलो सहयोगको अपेक्षा गरेको बताए।
प्रकाशित: ९ श्रावण २०८२ १८:०४ शुक्रबार