समाज

दिक्तेल बजारमा जमिनमुनि भेटिएको बम सेनाद्वारा निष्क्रिय

दिक्तेल बजारको बेसक्याम्प क्षेत्रमा जमिनमुनि भेटिएको बम डिस्पोज गर्न लैजाँदै नेपाली सेनाको टोली।

खोटाङको सदरमुकाम दिक्तेल बजारमा जमिन खन्ने क्रममा भेटिएको बम नेपाली सेनाले निष्क्रिय पारेको छ। दिक्तेल बजारको बेसक्याम्पस्थित निजी जग्गा खन्ने क्रममा आइतबार साँझ फेला परेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले सोमबार सुरक्षित रूपमा निष्क्रिय पारेको हो।

स्थानीय तारा सुन्दारको जग्गा खन्ने क्रममा फेला परेको उक्त विस्फोटक पदार्थ ‘नेपोलाइट’ नामक बम भएको जनाइएको छ। नेपाली सेनाको दिक्तेलस्थित रणभीम गण, मुडे ब्यारेकको बम डिस्पोजल टोलीले सोमबार बिहान ११ बजे उक्त बमलाई सुरक्षित स्थानमा लगेर निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

स्थानीयले सुँगुरको खोर बनाउन जमिन खन्ने क्रममा बमजस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले रातभर उक्त स्थानलाई सुरक्षित राखी सोमबार बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीलाई जिम्मा दिएको थियो।

रणभीम गणका गणपति प्रमुख सेनानी पवन कार्कीले फेला परेको वस्तु विस्फोटक पदार्थ रहेको पुष्टि गर्दै सुरक्षित रूपमा डिस्पोज गरिएको बताए।

दिक्तेल बजारको बीच भागमै पर्ने बेसक्याम्प तत्कालीन १० वर्षे माओवादी सशस्त्र द्वन्द्वका क्रममा सुरक्षा फौजको अस्थायी क्याम्पका रूपमा प्रयोग भएको स्थान हो। फेला परेको विस्फोटक पदार्थ पनि त्यही समयमा सुरक्षा फौजले राखेको हुनसक्ने स्थानीयको अनुमान छ।

स्थानीयका अनुसार माओवादी द्वन्द्वका क्रममा बेसक्याम्पमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त युनिफाइड कमान्डको सुरक्षा फौज तैनाथ थियो। शान्ति प्रक्रिया सुरु भएपछि बेसक्याम्पबाट सुरक्षा फौज अन्यत्र सारिएको थियो।

बेसक्याम्प आसपास यसअघि पनि पटकपटक विस्फोटक पदार्थ फेला पर्दै आएको स्थानीयले बताएका छन्। बेसक्याम्प हटेपछि जग्गाधनीले खेतीपातीका लागि खनजोत गर्ने क्रममा बम तथा अन्य विस्फोटक पदार्थ भेटिँदा स्थानीय त्रसित हुने गरेका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बेसक्याम्प हटेपछि खेतीका लागि जग्गा खनजोत गर्ने क्रममा पटकपटक विस्फोटक पदार्थ भेटिनु गम्भीर विषय भएको बताए।

उनले बेसक्याम्प आसपासको क्षेत्रमा अझै विस्फोटक पदार्थ हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै स्थायी समाधान खोज्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताए।

प्रकाशित: २२ भाद्र २०८३ १५:०३ सोमबार