समाज

ताप्लेजुङको हिमाली बस्तीमा पनि लटरम्म फल्यो स्याउ

व्यावसायिक खेतीको बलियो सम्भावना

गुणस्तर परीक्षण समेत सफल भएको स्याउको उत्पादनले बर्षेनि सम्भावनाको आसा देखाउन थालेपछि ताप्लेजुङको हिमाली बस्ती फले र घुन्सामा स्याउको व्यावसायिक खेती गर्न सकिने देखिएको छ। 

स्याउमा हुनुपर्ने स्वाद, दाना र चिनीको मात्रामा गुणस्तरीयता परीक्षण समेत सफल हुनु र परीक्षण उत्पादनले सम्भावना देखाउनुले स्याउको व्यावसायिक खेती गर्न सकिने बलियो आधार प्राप्त भएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए। स्थानीय किसान र विभिन्न संस्थाहरूले परीक्षणका लागि रोपेका स्याउका बोटले गुणस्तरीय फल दिँदा स्थानीयमा उत्साह बढेको पालिका अध्यक्ष लिम्बूको भनाई छ। 

स्थानीय नामग्याल शेर्पाले फलेमा फुजी,गाला र गोल्डेन डेलिसियस प्रजातिका स्याउको उत्पादन परीक्षणले व्यावसायिक खेतीको बलियो सम्भावना देखाएको जानकारी दिए। फले समुद्र सतहबाट करिब ३ हजार २ सय ३२ मिटरको उचाइमा रहेको बस्ती हो। घुन्सा भने समुद्र सतहबाट ३ हजार ४ सय ७५ मिटर उचाइमा रहेको छ। फले र घुन्सा कञ्चनजंघा पदमार्गमा पर्ने बस्ती हुन्। यो मार्ग हुँदै बर्षेनि ठुलो संख्यामा विदेशी पर्यटक विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजंघा हिमालको आरोहण तथा भ्रमणका लागि जाने गरेका छन्। 

पछिल्लो समय आन्तरिक पर्यटक समेत कञ्चनजंघा आधार शिविरसम्मको भ्रमणका लागि जाने गरेका छन् भने हिमाल आरोहणको प्रारम्भिक तालिम समेत यसै क्षेत्रमा हुने गरेको छ। घुन्सा र फलेमा इटालीबाट ल्याइएका ‘फुजी’,गाला र ‘गोल्डेन डेलिसियस’ प्रजातिका स्याउका बिरुवा परीक्षणका लागि रोपिएको थियो। पुतली सहयोग परियोजना,स्वीट्जरल्याण्डको टोली र स्थानीय समुदायको साझेदारी तथा पुतली सहयोग आयोजनाको सहकार्यमा दिगो पर्यावरणीय कृषि प्रणाली कार्यक्रमअन्तर्गत फलेटार र घुन्सामा दुई–दुई रोपनी क्षेत्रफलमा नमुना स्याउ बगैँचा विस्तार गरिएको पुतली सहयोग परियोजनाले जनाएको छ। 

परीक्षणका लागि रोपिएका बिरुवाले गुणस्तरीय स्याउको उत्पादन दिन थालेपछि यहाँका हिमाली बस्तीमा स्याउको व्यावसायिक खेती गर्न सक्ने सम्भावना देखाएको छ। पालिका अध्यक्ष लिम्बू परीक्षण उत्पादनमै गुणस्तरीयता र उत्पादनमा समेत बलियो सम्भावना देखेपछि अब पालिकाले यस क्षेत्रमा स्याउको व्यावसायिक खेतीलाई मुख्य माध्यम बनाउने बताउँछन्। 

पालिकाले पालिका क्षेत्रको कृषिजन्य उत्पादनलाई बिचौलियाको प्रभावबाट टाढै राखी सिधै बजार केन्द्रित गर्न कृषि एम्बुलेन्स समेत सञ्चालनमा ल्याई सकेको छ। व्यावसायिक उत्पादनमा जोड दिने र उत्पादित कृषिजन्य बस्तुको बजारीकरण सुनिश्चित गरी आत्मनिर्भरताबाट व्यवसायमुखी कृषि प्रणालीमा किसानलाई आबद्ध गर्ने पालिका अध्यक्ष लिम्बूले जानकारी दिए। 

प्रकाशित: १२ आश्विन २०८३ १३:२१ सोमबार