समाज

उदयपुर सिमेन्ट उद्योगमा फेरि चोरी

चोरी भएको गणेश मन्दिर र उद्योग प्रवेशद्वार

पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेमा गएराति फेरि चोरी भएको छ । लगभग ३ महिनायता उद्योगमा भईरहेको किससिलेवार चोरीको क्रममा मंगलबार राति उद्योग परिसरबाहिर रहेको गणेश मन्दिरमा चोरी भएको हो। 

उद्योग प्रवेशद्वारभन्दा उत्तर पूर्व खाली चौरमा रहेको गणेश मन्दिरमा चोरी भएको कुरा विहान पुजा गर्न आएका पुजारीले चाल पाएर आफुलाई खबर गरेको निमित्त महाप्रबन्धक बैधनाथ झाले बताए। उनका अनुसार विहान ५ः०० वजे पुजा गर्न आउँदा मन्दिरको ढोका खुल्लै रहेको र भित्रका पुजाका सामग्रहीहरु केही नरहेको अवस्थामा फेला परेको हो। 

पुजारी बालकुमार पराजुलीलाई उद्धृत गर्दै जिएम झाले बताए अनुसार मन्दिरभित्र रहेको पुजा थाली, तामाको गाग्री, तामाको अम्खोरालगायत पुजा सामग्रीहरु सबै चोरी भएको छ। मूर्ति भने यथावत राखेर बाँकी काम लाग्ने सामानजत्ति सबै चोरेर लगेको उनले बताए। मन्दिरको ताला पनि कतै नभेटिएकाले चोरले लगेको अनुमान गरिएको छ। 

चोरी भएको विषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरीमा खबर गरिसकेको झाले बताए। प्रहरी प्रशासनले टोली पठाएर अनुसन्धान गर्ने आश्वासन दिएको उनको भनाई छ। उद्योग परिसरमित्रै इलाका प्रहरी कार्यालय जलजले पनि रहेको छ। प्रहरी कार्यालयदेखि बढीमा ३ सय मिटरमा उद्योग प्रवेशद्वार र प्रवेशद्वारदेखि मुस्किलले सय मिटर दूरीमा चोरी भएको मन्दिर छ। 

उसो त उद्योगमै ५९ जना सुरक्षाकर्मी कार्यरत छन्। ५९ मध्ये १८ जना उद्योग परिसरको सुरक्षामा खटाइएका छन् भने २० जनालाई उद्योगभित्र र परिसरको सरसफाईल नाली तथा झाडी फाँड्ने काममा खटाइएके छ। बाँकी २० जनालाई २५ किलोमिटर टाढा रहेको सुकौरास्थित उद्योगको चुनर्ढुगा खानीक्षेत्रको सुरक्षामा खटाइएको छ। एकजना सुरेन्द्र मगर भने कमाण्डर तोकिएका छन्। 

उद्योगभित्रका बिभिन्न ठाउँमा यसअघि ६ पटक चोरी भईसकेको उद्योगका एक ज्यालादारी कर्मचारीले बताए। उनका अनुसार गएको भदौ ११ गते (सेप्टेम्बर २७) यता अज्ञात समूहले महाप्रबन्धक आवास (क्वाटर) मा मात्र ३ पटक चोरी गरिसकेको छ। जिएम क्वाटरको ढोकाको ह्याण्डल तोडेर कोठाभित्र रहेको ५६ इन्चको एलइडी टेलिभिजन सेट, मोवाईल चार्जरजस्ता सामग्री चोरेर लगेको छ। 

एसियाकै गुणस्तरीय कहलिएको गैँडा ब्राण्डको सिमेन्ट उद्योग विगत ४ वर्षयता जिएमविहीन भएर लगभग बन्द हुन पुगेको छ। ६ महिनाअघि १५ दिन चलेको उद्योगबाट उत्पादित क्लिंकर बोरा अभावमा बिक्री हुन सकेको थिएन। झा निमित्त जिएमको जिम्मेबारीमा आएपछि उधारोमा ५३ हजार थान बोरा खरिद गरेर बिक्री वितरण सुरु गरे पनि निजी सिमेन्टको भाउ घटेपछि बिक्री घटेको छ। 

८ सय ५० रुपैँयामा बिक्री भईरहेको निजी सिमेन्ट उद्योगहरुले उदयपुर सिमेन्ट ७ सय २५ मा बिक्री सुरु भएलगत्तै भाउ घटाएर ६ सय ५० मा झारेका छन्। निजी सिमेन्टको मूल्य घटेपछि बिक्री घटेको गैँडा सिमेन्टको भाउ घटाउन खोज्दा मन्त्रालयगत निर्णय आवश्यक पर्ने भएपछि घटाउन नसक्दा बिक्री घटेको झा बताउँछन्।  

जिएम चयनमा सरकारको ढिलाई : 

बन्द उद्योग तथा कलकारखानाहरु सबै सुचारु गर्ने प्रतिबद्धता जनाएको बालेन सरकारले उदयपुर सिमेन्ट पनि सुचारु गर्ने जनाएको छ। त्यसका लािग सञ्चालक समिति र महाप्रबन्धक नियुक्ति प्रक्रिया अघि बढाएको महिनौँ बिते पनि निर्णय गर्न भने अल्झिएको छ। प्रचण्डमान श्रेष्ठलाई यसअघि नै सञ्चालक अध्यक्ष छानिसकेको सरकारले अन्य २ जना सञ्चालक सदस्य पनि नियुक्त गरिसकेको छ। 

तर, मन्त्रालयले उद्योगको मुल नेतृत्व जिएम नियुक्तिको काममा भने महिनौँ अड्किएको अवस्था छ। महाप्रबन्धक नियुक्तिका लागि उद्योगले भदौ १७ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो। जस अनुसार जिएमका लागि आवेदन दिएका ९ जना सबैलाई व्यवसायिक कार्ययोजना प्रस्तुती तथा अन्तरवार्ताको परीक्षासमेत लिइसकेको छ। 

असोज १३ र १४ गते लिइएको परीक्षामा छनौटमा परेका उत्कृष्ट ३ जनाको नाम असोज ३० गते मन्त्रालयले प्रकाशित गरेको थियो। ३ मध्ये १ जना जिएम छान्ने निर्णय भने अहिलेसम्म मन्त्रालयले ठोस गर्न बाँकी छ। मन्त्रालयले परीक्षामा उत्कृष्ट ठहरिएका ३ जनामा चितवनका उमेश लामिछाने, कालीकोटका कमल शाही र अर्घाखाँचीका रामचन्द्र पाण्डे छन्। 

उनीहरुमध्ये १ जना उद्योगको भावी जिएम हुने छन् तर, ती मध्ये कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्री बालेन साह र रास्वपा सभापति रवि लामिछानेबीच कुरा नमिल्दा निर्णयमा ढिलाई भईरहेको हुनसक्ने आशंका छ।   

प्रकाशित: १८ कार्तिक २०८३ १३:१३ बुधबार