जिल्लाको पश्चिमी भेग कटारीक्षेत्रबाट फेरि भारी मात्रामा जडीबुटीजन्य प्रतिबन्धित गाँजा बरामद भएको छ।
केही दिनअघि दुई पटकमा ठुलो मात्राको गाँजा फेला परेकै ठाउँको जंगलबाट १८२ किलो गाँजा बरामद भएको हो। कटारी नगरपालिका ६ स्थित शिखर सामुदायिक बन उपभोक्ता समूहको जंगलक्षेत्र झाडीबाट सोमबार राति प्रहरीले सो परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
गाँजा लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले राति खोजतलास गर्दा झाडीमा लुकाई छिपाई राखेको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ। सुराकीले दिएको जानकारी अनुसार सम्भावित क्षेत्रमा प्रहरी टोली परिचालन गर्दा प्लास्टिकले बेरेको अवस्थामा ९ बोरा बेवारिसे अवस्थाको गाँजा बरामद भएको हो। जंगलको झाडीमा भेटिएको गाँजा कसको र कहाँबाट ल्याइएको भन्ने बारे भने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ।
गाँजा ओसारपसार गर्ने व्यक्तिहरू भने कोही नभेटिएकाले उनीहरूको खोजतलास भइरहेको प्रहरी भनाइ छ।
कटारी ६ कै अर्को एक सामुदायिक वन क्षेत्रको जंगलबाट सात दिनअघि मात्र सशस्त्र प्रहरी बल बेसक्याम्प कटारीको टोलीले १ सय ३० किलो गाँजा बरामद भएको थियो। त्यस्तै ३ साताअघि पनि जंगलमै लुकाई छिपाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय कटारको टोलीले खोजतलास गर्दा १ हजार १ सय २२ किलो गाँजा बरामद गरेको थियो।
सो जंगलमा गाँजा कहाँबाट आइरहेको छ भन्ने यकिन नभएको प्रहरी भनाइ छ। पहाडी भेगबाट तराईका सप्तरी सिराहा लाने गरी चोरी निकासी गर्ने क्रममा प्रहरीको आँखा छल्न जंगलमा लुकाइराख्ने र सुरक्षित अवस्था भयो कि जिल्ला सीमा पार गर्ने उदेश्यले जंगलक्षेत्र रोजाइमा पर्ने गरेको अनुमान गरिएको छ।
यसबारे अनुसन्धान भइरहेको र ढिलो चाँडो अपराधी पक्राउ पर्ने अपेक्षा प्रहरीले गरेको छ।
प्रकाशित: ६ आश्विन २०८३ १४:०६ मंगलबार