समाज

हिमालको फेदमा गुमनाम 'आकासे ताल'

गुठिचौरको सिरान हिमालको काखमा लुकेको आकासे ताल। तस्बिर: अजित थापा/जुम्ला

शब्द हराउने अनि शून्यतामा केवल हृदयको धड्कन सुनिने उचाइ। त्यहीँ कतै जुम्लाको गुठिचौर गाउँपालिका–१ को शान्त काखमा लुकेको छ ‘आकासे ताल’। नामजस्तै यो तालमा आकाश आफैँ झरेर बसेको छ। निलो, स्थिर र अद्भुत।

चारैतिर फैलिएका सेताम्य हिमालहरू, बीचमा चन्द्रमाजस्तो गोलो पोखरी, अनि त्यस पोखरीको सतहमा आकाशको पूर्ण प्रतिबिम्ब। पहिलो नजरमा लाग्छ, मानौं पृथ्वीले आफ्नो काखमा स्वर्गको अंश टिपेकी छन्। केही वर्षअघि यो तालको नाम स्थानीय बाख्रा पालक र गोठाला बाहेक कसैले सुनेको थिएन। ताल पत्ता लगाउन भूमिका खेलेका सोही वडाका स्थानीय साङ्गे गुरुङका अनुसार विसं २०७२ मा चौँरी खोज्दै जाने क्रममा तालमा पुगिएको बताए।

तर, केही वर्ष अगाडिको कर्णालीकी युवा स्रष्टा सृजना सिज्जुले सामाजिक सञ्जालमा आकासे तालको छोटो भिडियो सेयर गरेपछि यो गुमनाम सौन्दर्य एकाएक हजारौं आँखाको केन्द्र बन्यो। त्यसपछि जुम्ला, सुर्खेत, नेपालगञ्ज, काठमाडौं-सबैतिरका युवाहरूले एउटा नयाँ नाम उच्चारण गर्न थाले, 'हिँडन लेक– आकासे ताल।'

दसैँ–तिहारको मौसमसँगै यहाँ आन्तरिक पर्यटकको लहरै लाग्यो। स्थानीयहरू भन्छन्, 'तालको निलोपन हेरेपछि मानिसहरू मौन हुन्छन्। यहाँ शब्द बेकार हुन्छ।'

जुम्ला सदरमुकाम खलंगाबाट करिब दुई घण्टा सवारीमा पुगिन्छ मणिसाँघु गाउँ। त्यसपछि सुरु हुन्छ पैदल यात्राको अध्याय। चोत्रागाउँ हुँदै सात घण्टासम्मको उकालो–ओरालो यात्रा। पथरीला बाटो, हावाको चिसो सुस्केरा र शरीरको थकाइसँगै मनमा उब्जिन्छ एउटा प्रश्न 'कति टाढा होला त्यो निलो ताल?' तर, जब पहिलो झल्कनमा आकासे ताल देखिन्छ, यात्रुको सारा थकाइ एकैछिनमा हराउँछ।

पर्यटक भरत नेपाली भन्छन्, 'आकासे तालको सुन्दरताले हरेक पीडा पगाल्छ। बाटो कठिन छ तर त्यही कठिनाइ नै यसको सौन्दर्य हो।'

अब, यो ताल केवल यात्रुको आकर्षण होइन, गुठिचौर गाउँपालिकाको गर्व बनेको छ। गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी) भन्छिन्, 'गुठिचौर उपत्यका र आकासे ताल हाम्रो समृद्धिको मेरुदण्ड बन्न सक्छ।' यस्तै प्रमुख प्रशासकीय अधिकृत मायालक्ष्मी बुढा (महत)का अनुसार मौरेसम्मको सडकमा झण्डै ५० लाख रुपैयाँ लगानी भइसकेको छ र अब तालसम्मको ३ किलोमिटर लामो पदमार्ग निर्माणको तयारी भइरहेको छ।

गुठिचौर–१ का वडाध्यक्ष अर्जुनकुमार महतरा भन्छन्, 'मेरो वडाको गर्व हो आकासे ताल। यसको संरक्षण र प्रवर्द्धन हाम्रो पहिलो प्राथमिकता हो।' समुद्री सतहदेखि करिब ४ हजार ७ सय ७९ मिटर माथि, जहाँ आवाज पनि हलुका सुनिन्छ। यही उचाइमा शान्त र नीलो आकासे ताल बसेको छ।

आन्तरिक पर्यटक अजित थापा भन्छन्, 'आकाश छुन खोजेझैं लाग्ने त्यो उचाइ र त्यसमा बसोबास गरेको ताल-कर्णालीको सबैभन्दा सुन्दर दृश्य हो।' यदि तीनै तहका सरकारहरू मिलेर पर्यटन पूर्वाधार र सूचना व्यवस्थामा जोड दिन सके आकासे ताल केवल एउटा गन्तव्य होइन कर्णालीको पर्यटन चिह्न बन्न सक्छ। यहाँ होमस्टे, गाइड, हस्तकला, र स्थानीय उत्पादनमार्फत रोजगारी सिर्जना गर्ने ठूलो सम्भावना छ।

स्थानीयहरू आशावादी छन्, 'यदि बाटो सजिलो भयो भने, हरेक महिना हजारौं आन्तरिक र बाह्य पर्यटक आउनेछन्।' जहाँ आकाशले आफूलाई पानीमा हेर्छ, आकासे तालको किनारमा उभिँदा लाग्छ। आकाश यतैसम्म झरेको रहेछ र मानिस स्वर्ग नजानै खोज्दैछ।त्यो शान्त नीलो पानीभित्र जसरी आकाशको प्रतिबिम्ब देखिन्छ, त्यस्तै हरेक यात्रुले त्यहाँ पुगेर आफ्नो आत्माको प्रतिविम्ब देख्छ। यो केवल ताल होइन, यो जुम्लाको आत्मा हो, जहाँ पृथ्वी र आकाश एउटै रंगमा रङ्गिएका छन्।

प्रकाशित: ९ कार्तिक २०८२ ०९:०४ आइतबार