समाज

अमरसिंह माविका अस्थायी टहरा हटाइयो

५१ टहरा हटाइयो<br>

पोखरा अमरसिंहचोकमा हटाइएको अस्थायी व्यावसायिक टहरा। तस्बिरः नागरिक

अमरसिंह नमूना माविको खेलमैदानमा बनेका अस्थायी व्यावसायिक टहरा हटाइएको छ। पोखरा महानगरपालिका– १२ स्थित अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानको अग्रभागमा अस्थायी टहरा बनाएर लामो समयदेखि त्यहाँ व्यावसाय संचालन गरिएको थियो।  

पृथ्वी राजमार्गसँग जोडिएको उक्त स्थानमा रहेका व्यवसायिक सटरहरु व्यावसायीले नै हटाएका हुन्। टिनका टहरा बनाई व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले पोखरा महानगरपालिकाको रोहवरमा विद्यालयसँग समन्वय गरी ती टहरा हटाएका हुन्। विद्यालयले सुचना निकालेर टहरा हटाउन व्यावसायीलाई आग्रह गर्दै आएको थियो। मंगलबार त्यहाँबाट ५१ वटा टहरा हटाइएको छ। व्यावसायी आफैले टहरा नहटाए विद्यालयले नै हटाइदिने भनेर विद्यालयले नै १५ दिने सूचना प्रकाशित गरेको थियो।  

‘हामीले नै व्यावसायीलाई टहरा हटाउन भन्यौ। बारम्बारको प्रयासपछि अहिले टहरा हटेका छन,’ विद्यालयका प्रधानाध्यापक बलराम पोखरेलले भने, ‘अब त्यो ठाउँ सफा हुनेछ। समाजले आवश्यकता ठानेका संरचना बन्नेछन्।’ पोखरा भित्रिने मुख्य प्रवेशद्वारमै टहरा सहितका ती व्यावसायिक संरचनाले पोखराको सौन्दर्यता समेत बिगारेको गुनासो बारम्बार आउने गरेको थियो।

विद्यालयले उक्त जग्गालाई २०३६ सालदेखि नै भाडामा दिँदै आएको थियो। टहरा बनाएर व्यावसायीले सस्तो भाडादरमा उक्त ठाउँमा व्यावसाय संचालन गर्दै आएका थिए। सस्तो भाडादरमा बसेर व्यावसाय गरिरहेकाले विद्यालयले चाहेर पनि व्यावसायी हट्न मानेका थिएनन। पोखरेलका अनुसार आठ रोपनी क्षेत्रफलमा त्यहाँ सटर बनाइएको थियो। खेलमैदान, पठनपाठन हुने भवन सहित विद्यालयको नाममा २ सय ७ रोपनी जग्गा रहेको छ। विद्यालयको खेलमैदानको दक्षिणतर्फको जग्गामा व्यावसायिक टहरा बनाइएको थियो।

प्रधानाध्यापक पोखरेलका अनुसार ती सटरबाट विद्यालयले मासिक २ लाख ३८ हजार भाडा विद्यालयले पाउँदै आएको थियो। उक्त रकम विद्यालयले शैक्षिक गतिविधिमा खर्चदै आएको थियो। आन्तरिक श्रोतबाट राखिएका शिक्षकका लागि पारिश्रमिक दिन त्यही आम्दानी खर्च हुँदै आएको विद्यालयको भनाई छ।

‘हामीले व्यावसायिक टहरा बनाएर राखेको जग्गा सफा गरेका हौ। अब समाजले आवश्यकता ठानेका संरचना त्यहाँ बनाइनेछ’ उनले भने। उनका अनुसार अहिले नै व्यवासायिक भवन बनाउने भन्ने निर्णय भएको छैन। तर व्यवासायिक भवन बनेको खण्डमा भने अहिले व्यावसाय गरिरहेका व्यावसायीलाई नै प्राथमिकता दिने पनि उनले बताए।  

विद्यालयका लागि आवश्यक परेमा उपयोगी हुने संरचना उक्त जग्गामा बन्ने उनको भनाई छ। विद्यालयको उक्त खेलमैदान अरुबेला पनि राजनीतिक भेलाका लागि उपयोग हुँदै आएको छ। विद्यालयको खेलमैदान भएपनि उक्त मैदानमा खेल भन्दा बाह्य गतिविधि बढि हुने गरेका छन्।  

महानगरले पनि विद्यालयको जग्गामा बनेका ती संरचना हटाउन व्यावसायीलाई दवाव दिएको थियो। महानगरले पनि सहरी सौन्दर्यीकरणका दृष्टिले पोखराको मुख्य प्रवेश मार्गका रुपमा रहेको अमरसिंह क्षेत्रमा रहेका ती टहराका कारण अस्वाभाविक देखिएको बताएको छ। टहरा हटाएर व्यवसायीले महानगरपालिकाको सहरी सौन्दर्यीकरणको अभियानमा साथ महानगरका प्रमुख धनराज आचार्यले बताए। ‘लामो समयदेखि व्यावसाय सञ्चालन गर्दै आइरहेका व्यावसायीलाई पुनस्र्थापना गर्ने सम्बन्धमा विद्यालयसँग आवश्यक छलफल तथा समन्वय गरिनेछ,’ उनले भने।  

प्रकाशित: ५ जेष्ठ २०८३ १५:१५ मंगलबार

अमरसिंह मावि अस्थायी टहरा