समाज

रैथाने परिकारको स्वाद चाख्न कृषि प्रदर्शनी

स्याउ र मार्सी चामलले मात्रै जुम्लाको पहिचान पूरा हुँदैन। फापर, कोदो, कागुनो, चिनो, उवा, गहत, सिमीदेखि जडीबुटी र तिनबाट बनेका परिकारसम्म जुम्लाको खाद्य संस्कृति गहिरो छ ।  

एकातर्फ खेतीयोग्य जमिनको ठूलो हिस्सा बाँझो छ, अर्कोतर्फ बजारमा आयातित चामल, पिठो र प्याकेट खाद्यवस्तुको खपत बढ्दो छ । स्थानीय रूपमा उत्पादन हुने पोषिलो अर्गानिक बाली हुँदाहुँदै बाहिरको खाद्यान्नमा निर्भर हुनु जुम्लाको विरोधाभास हो ।  

यही यथार्थलाई देखाउँदै मेलाले ‘आफैं उत्पादन गरौं, आफैं खाऔं, बाँकी बजारमा बेचौं’ भन्ने सन्देश प्रवाह गरेको छ ।जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यका अनुसार रैथाने बाली केवल खाद्यान्न होइनन्, खाद्य सुरक्षाको आधार हुन् ।  

मेलाको अर्को महत्वपूर्ण पक्ष लोप हुँदै गएका बालीका बीउ प्रदर्शनीमा राखिनु हो । बीउ हराउनु भनेको संस्कृतिको एक पुस्ता हराउनु जस्तै भएको कृषकहरूको बुझाइ छ । उत्पादन भए पनि बजार नपाउँदा किसान रैथाने बाली छाड्न बाध्य भएको उनीहरूको गुनासो छ । उद्योग वाणिज्य संघ जुम्लाका उपाध्यक्ष बालकृष्ण बुढाले गुणस्तर, प्याकेजिङ र ब्रान्डिङमा जोड दिए ।  

‘निर्यात भइरहेको छ, तर मूल्यअनुसारको गुणस्तर छैन । आफ्नै उत्पादनलाई हेला गर्ने प्रवृत्ति अन्त्य नगरेसम्म रैथाने बालीले बजार पाउँदैन,’ उनले भने ।

फापर, उवा, चिनो र कागुनो जस्ता रैथाने बाली अझै सानो क्षेत्रमै सीमित छन् । कृषि विज्ञहरूका अनुसार यस्ता मेला एक–दुई दिनको उत्सवमा सीमित भए पर्याप्त हुँदैन । बीउ बैंक स्थापना, न्यूनतम समर्थन मूल्य, स्थानीय विद्यालयको मध्याह्न भोजनमा रैथाने खाद्य प्रयोग र स्थानीय तहबाट सुनिश्चित बजारजस्ता दीर्घकालीन उपाय आवश्यक छन् ।  

किसान, उपभोक्ता र सरकारबीच समन्वय हुन सके मात्र जुम्लाका रैथाने बाली र स्वादले पुनर्जागरण पाउने विज्ञहरूको निष्कर्ष छ ।

No description available.

प्रकाशित: २७ मंसिर २०८२ १९:०५ शनिबार