जुम्लाको दुर्गम गाउँ सिंजा गाउँपालिका–६ स्थित जोडुगाउँकी २३ वर्षीया अमला बुढा (शाही) दसैँअघिको दिन जङ्गलमै बेहोस भइन्। एक महिनाअघि मात्र खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो सन्तानको नर्मल सुत्केरी भएकी अमला दसैँ मनाउन घर फर्किँदै गर्दा बाटोमै गम्भीर अवस्थामा पुगिन्।
असोज १४ गते दुई दिनपछि दसैँ पर्न लागेको बेला उनी आफ्ना श्रीमान् कर्णबहादुर बुढासँग गाउँ फर्किरहेकी थिइन्। जुम्ला सदरमुकाम खलंगाबाट जोडुगाउँ पुग्न करिब ५–६ घण्टाको पैदल यात्रा पर्छ। उकालो–ओरालो, घना जंगल र चट्टानी बाटो पार गर्दै उनीहरू सुत्केरी महिला र नवजात शिशुसहित हिँडिरहेका थिए। अचानक बाटोमै अमलालाई शारीरिक समस्या देखिन थाल्यो। आँखा धमिलो, शरीर काम्ने, रगत बग्ने, पेट दुख्ने, रिंगटा लाग्ने लक्षण देखिन थाले। 'घना जंगलको बीचमै बेहोस भइन्, दाँत बानिन्,' श्रीमान् कर्णबहादुरले सम्झिए।
दुई झोला, नवजात शिशु र बेहोस श्रीमतीलाई सम्हाल्न उनी एक्लै असमर्थ थिए। सोही बेला त्यही बाटो हुँदै गइरहेका पत्रकार गोल्डेन बुढा र विवेन्द्र नेपाली साथै स्थानीय केही व्यक्ति पुग्दा परिस्थिति सम्हालियो। 'बेहोस श्रीमतीलाई पानी छम्केर होसमा ल्यायौं। विवेन्द्रले अमलालाई पिठ्युँमा बोके, म स्वयं शिशुलाई बोकें,' पत्रकार गोल्डेनले घटनाको स्मरण गरे, 'म आफैँले उनका आफन्तलाई फोनमार्फत गुहार गरें। मैले बच्चा बोकेर अघि लागें। बाटो अझै धेरै बाँकी थियो – पहाड चढ्ने, झर्ने, हिलो–पथ्थर सम्हाल्ने।'
जंगल पार गरेपछि कर्णबहादुरका आफन्त स्ट्रेचर लिएर आइपुगे। त्यसको सहायतामा अमलालाई तलको भाडगाउँस्थित आफन्तको घर पुर्याइयो। त्यहाँ एक रात बिताएपछि भोलिपल्ट आधा घण्टा उकालो चढेर उनीहरू आफ्नै घर पुगे। 'सुत्केरीको यस्तो अवस्थामै जंगलको बाटो हिँड्नुपर्यो, यति जोखिम बोकेर दसैँ मनाउन आउनु परेको अवस्था दु:ख लाग्दो छ,' कर्णबहादुरले भने।
सडकको पहुँच नपुगेका कारण जुम्लाका सयौं नागरिक अझै पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। सुत्केरी सेवा, स्वास्थ्य सेवा, आवतजावत र अत्यावश्यक सुविधा पुर्याउने बाटोको अभावले यहाँका नागरिक जीवन र मृत्युको सीमामा हिंड्न बाध्य छन्। 'सडक सञ्जालले गाँसिएको भए यो पीडा हुने थिएन,' पत्रकार गोल्डेनले भने।
जुन बाटोमा सुत्केरी थिइन्, त्यो बाटो अस्पताल पुर्याउने एम्बुलेन्स पनि जान सक्दैन। उनले महिनाभरको कोठा भाडामा लिएर खलंगामै आराम गरिन्। श्रीमान् कर्णबहादुर बुढाका अनुसार बजारको भाडा महिनाको दुई हजार पाँच सय रुपैयाँ तिर्नुपर्थ्यो। काम पनि छैन, हरेक दिन खर्च बढ्दै जान्थ्यो। जोडुगाउँ पुग्नका लागि खलंगाबाट ओरालो झर्दै तलिउम, जातिभिड, छकलेपानी हुँदै जाने पैदल बाटो नै एकमात्र विकल्प हो। उकालो–ओरालो, चिसो हावाले भरिएको जङ्गलको त्यो बाटो न त सजिलो थियो, न त सुरक्षित।
सुरुमा त ठीकै लाग्यो, तर ओरालो झर्दै गर्दा शरीर एक्कासी गाह्रो हुन थाल्यो, घटनास्थल मानव बस्तीभन्दा टाढा थियो, एम्बुलेन्स जान सक्दैन। श्रीमान् कर्णबहादुरका हातमा दुईवटा झोला, एक महिनाका शिशु, र सुत्केरी श्रीमती। एक्लैले सबै सम्हाल्न सक्ने अवस्था थिएन। 'त्यस घडीमा म बिलकुलै लाचार भएँ,' कर्णबहादुर भन्छन्, 'जङ्गलको बीचमा मेरी श्रीमती बेहोस, शिशु रोइरहेको, म के गरुँ?'
'एक मिनेटको ढिलाइ भएको भए अवस्था कस्तो हुन सक्थ्यो, कल्पनै गर्न सक्दिन,' जीवनमै यस्तो क्षण कहिल्यै भोगेको थिइनँ,' अमला भन्छिन्, 'दसैँको मुखमा आफ्नै घर पुग्ने आशा छैन जस्तो लागेको थियो।'
यो घटना केवल अमला बुढाको मात्र पीडा होइन, यो दुर्गम नेपालको प्रतिनिधिमूलक पीडा हो। जुम्लाका धेरै गाउँहरू आज पनि सडक सञ्जालबाट बञ्चित छन्। स्वास्थ्य संस्थासम्म पुग्न दिनको यात्रा गर्नुपर्ने अवस्था छ। 'हाम्रो गाउँमा सुत्केरी महिलाले सजिलै अस्पताल पुग्न सक्ने अवस्था छैन,' कर्णबहादुर भन्छन्, 'अस्पताल पुग्दा पुग्दै बच्चा जन्माउने अवस्था आउँछ।'
सुत्केरी, बिरामी, वृद्धवृद्धा, बालबालिकाको जीवन बचाउने आधार आधारभूत पूर्वाधार हो। त्यो बिना कयौं अमला बुढाहरू जङ्गलमै बेहोस हुँदै कहिलेकाहीं ज्यानै गुमाउँदै जीवन कटाइरहेका छन्। म स्वयं घटनाको प्रत्यक्ष साक्षी, साथ दिने व्यक्ति र पत्रकारको भूमिकामा थिएँ। मैले देखे, यो केवल दुःखको कथा होइन, मानवताको एक उज्यालो क्षण पनि हो– जहाँ केही मानिसहरू काँधमा जीवन बोकेर पहाड चढिरहेका थिए।
प्रकाशित: २६ आश्विन २०८२ ०९:४१ आइतबार