समाज

उदयपुरमा प्रशासनको छड्के: अवैध मेडिकलमा तालाबन्दी, तीनलाई जरिवाना

चौदण्डीगढीको मेडिकलमा अनुगमन गर्दै टोली । तस्बिर: महेश्वर/नागरिक

उदयपुर प्रशासनले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको एक मेडिकल पसलमा ताला लगाएको छ भने अन्य तीन स्वास्थ्य संस्थालाई जरिवाना गरेको छ।

मापदण्डविपरीत सञ्चालन भइरहेको जनगुनासोपछि प्रशासनले सोमबार गरेको छड्के अनुगमनका क्रममा चौदण्डीगढी नगरपालिका-४, बसाहास्थित बीज मेडिकल हलमा तालाबन्दी गरिएको हो।

जिल्ला अनुगमन समिति संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेको नेतृत्वमा खटिएको संयुक्त टोलीले महेन्द्र मण्डलद्वारा सञ्चालित उक्त मेडिकल हल राज्यले तोकेको मापदण्ड पूरा नगरी अवैध रूपमा चलेको पाएपछि तत्काल ताला लगाएको हो।

सहायक प्रजिअ पाण्डेले भने, ‘अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन गरेको भेटिएकाले बीज मेडिकल हलमा ताला लगाइएको हो।’

सोही अनुगमनका क्रममा टोलीले दर्ता प्रमाणपत्र बिना सञ्चालनमा रहेका चौदण्डीगढीकै पाथिभरा डेन्टल क्लिनिक, शुभम डेन्टल प्रालि र दिव्यान्स फार्मेसीलाई जरिवानासमेत गरेको छ।

अनुगमनका क्रममा विभिन्न मेडिकल पसलबाट म्याद गुज्रेका औषधिहरू पनि बरामद गरिएको प्रशासनले जनाएको छ।

जनगुनासो बढेपछि चौदण्डीगढी नगरको बेलटार, बसाहा लगायतका बजार क्षेत्रमा छड्के अनुगमन थालिएको सहायक प्रजिअ पाण्डेले बताए।

अनुगमन टोलीमा स्वास्थ्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय र स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले जिल्लाका अन्य स्थानीय तहहरू बेलका, कटारी र सदरमुकाम त्रियुगाका बजारमा पनि अनुगमनलाई तीव्रता दिइने जानकारी दिए।

‘कतिपय मेडिकलहरू अवैध रूपमा सञ्चालन भएको र अवैध औषधिको समेत कारोबार हुने गरेको जनगुनासो आएकाले जिल्लाका सबै मेडिकलमा अनुगमनलाई तीव्र बनाउँदै लैजान्छौं,’ प्रजिअ लुईटेलले भने।

प्रकाशित: १९ श्रावण २०८२ २१:१० सोमबार