ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा एक युवक टिपरसहित तमोर नदीमा खसेर बेपत्ता भएका छन्।
तमोर–५ जलविद्युत आयोजनाको टिपर चेकजाँच गर्ने क्रममा मेकानिकको रूपमा कार्यरत अन्दाजी २४ वर्षीय सुदीप सुवेदी गाडीसहित नदीमा खसेका हुन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बेपत्ता हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका-४ निवासी रमराज सुवेदीका छोरा सुदीप सुवेदी रहेका छन्। उनी उक्त जलविद्युत कम्पनीमा मेकानिकल क्षेत्रमा कार्यरत थिए।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार, घटना फक्ताङलुङ गाउँपालिका–६ लेलेपस्थित तमोर करिडोर सडक खण्डमा भएको हो।
ग १ क ६३१८ नम्बरको टिपर चेकजाँच गर्ने क्रममा गाडी एक्कासी सडकबाट करिब २५ मिटर तल तमोर नदीमा खसेको थियो।
घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी लुङथुङबाट प्रहरी सहायक निरीक्षक टंक बस्नेतको नेतृत्वमा एक प्रहरी टोली घटनास्थलमा खटाइएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए।
प्रहरी टोलीले बेपत्ता सुवेदीको खोजी कार्य जारी राखेको छ।
प्रकाशित: ९ भाद्र २०८२ १७:०१ सोमबार