ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले चालु आर्थिक वर्षदेखि हरेक वडामा कम्तिमा एकजना कृषि प्राविधिक राख्ने भएको छ। ‘खेतबारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा’ नारा तय गर्दै पालिकाले प्रत्येक वडाका किसानलाई खेती लगाउने तरिकादेखि यसको व्यवस्थापनसम्मका जानकारी दिने गरी ‘एक वडा, एक कृषि प्राविधिक’ राख्ने भएको हो।
पाथीभरा याङवरकमा ६ वटा वडा छन्। पालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार किसानको घरदैलोमा प्राविधिक सेवा पुर्याउन चालु वर्षमा यो व्यवस्था सुनिश्चित गर्न लागिएको हो। पालिकाले सिँचाइ प्रणालीमा सुधार नगरेसम्म कृषि उत्पादन सम्भव नहुने निष्कर्ष पनि निकालेको छ। यो कार्यक्रमअन्तर्गत पालिकाले मुख्य उत्पादन दिने खेती क्षेत्रको वर्गीकरण गरी त्यसै आधारमा आवश्यक सिँचाइको व्यवस्था गरी उत्पादन र उत्पादकत्व वृद्धिमा विशेष ध्यान दिने भएको छ।
कृषि उत्पादन वृद्धिलाई याङवरक गाउँपालिकाको समृद्धिको आधार हुने अपेक्षा गरेको पालिकाले मागका आधारमा किसानलाई आधुनिक प्रविधि र यन्त्र उपलब्ध गराउने भएको छ। रासायनिक विषादी प्रतिस्थापन गरी जैविक विषादी र जैविक मलको उत्पादन र प्रयोगमा पालिकाले जोड दिने भएको छ। पालिकाले कृषिमा आधारित उद्योगलाई दीर्घकालीन सोचको रूपमा विकास गर्ने भएको छ। पालिका अध्यक्ष सुब्बाका अनुसार पालिकामा उत्पादन भएको कृषि उपजलाई पालिकाको मेवाखा क्षेत्रमा स्थापना भएको पाथीभरा कोशेली घरमार्फत बजार व्यवस्थापन गर्ने योजना छ।
चालु आर्थिक वर्षभित्रै पालिकाको उत्पादनजन्य सामग्रीलाई कच्चा पदार्थको रूपमा प्रयोग गर्न मिल्नेगरी एक कृषि उद्योग स्थापना गर्ने योजना छ। पालिकाले रैथाने बालीको प्रवर्द्धनलाई पुर्खाले आर्जेको धनको रूपमा लिने घोषणा गरेको छ। त्यसैअनुरूप परम्परादेखि खेती हुँदै आएका तर लोप हुने अवस्थामा रहेका कृषि तथा फलफूलजन्य उत्पादन प्रवर्द्धनका लागि किसानलाई प्रोत्साहित गरिने पालिकाले जनाएको छ।
पालिकाले आफ्नो क्षेत्रको कृषि क्षेत्रको वास्तविक स्थिति पत्ता लगाई अभिलेखमा लिपिबद्ध गर्न किसान सूचीकरण कार्यक्रमलाई ६ वटै वडामा विस्तार गर्ने भएको छ। पालिकाले किसानलाई व्यवसायमुखी बनाई उनीहरूको मेहनत र कृषि प्रणालीको दिगोपनका लागि हरेक वर्षको फागुन २७ गते उत्कृष्ट ४ किसानलाई नगदसहित सम्मान पनि गर्दै आएको छ।
प्रकाशित: १३ श्रावण २०८२ १६:०४ मंगलबार