ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिका भित्रका सडक सञ्जाल विस्तार, स्तरोन्नति तथा नियमित मर्मतसम्भार गरी बाह्रैकाल सवारी सञ्चालनको व्यवस्था मिलाउने भएको छ।
पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार पालिकाका नागरिक, सहज, सुरक्षित र भरपर्दो यातायात सेवाको विस्तार गरी जनजीवनलाई थप सहज र गुणस्तरीय बनाउन सडक तथा यातायात पूर्वाधारको विकासलाई प्राथमिकतामा राखिएको हो। पालिकाले उक्त कार्यका लागि चालु आर्थिक वर्षमा २ करोड ५० लाख ७९ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।
सडक सञ्जालको बिस्तार, नियमित मर्मतसम्भार र स्तरोन्नती गर्ने कार्यलाई प्राथमिकतामा राखी पालिका भित्रका सडडमा बाह्रैकाल सवारी सञ्चालन गर्ने अवस्था बनाउन आफूहरूले विशेष ध्यान दिएको पालिका अध्यक्ष वनेमको भनाइ छ।
चालु आवमा पालिकाले एकीकृत बस्ती विकास गुरुयोजना निर्माण गरी पहिरो विस्थापित परिवारको स्थायी पुनर्वास गर्ने कार्यक्रम तय गरेको छ। पालिकाको वडा नं ४ ओदक तथा ताम्राङ र वडा नं ३ साँघुका गरी ६५ घर परिवार अहिले पालिकाले निर्माण गरेको अस्थायी एकीकृत आवासगृहमा रहेका छन्। उनीहरूलाई स्थायी पुनर्वास गराउने लक्ष्यसहित पालिकाले प्रकृया अघि बढाइरहेको जनाएको छ।
पालिकाले भवन तथा बस्ती विकासतर्फ चालु आवबाटै निर्माणाधीन प्रमुख प्रशासकीय भवन सञ्चालनमा ल्याउने गरी लिफ्ट फिटिङ तथा ट्रस भर्याङ जडान गर्ने कार्य अघि बढाउने भएको छ। एकीकृत बस्ती विकास गुरुयोजना निर्माण गरी पालिकाको आवासीय क्षेत्र पहिचान गर्नेसहितका कार्य चालु आवमा सम्पन्न गर्ने पालिकाले जनाएको छ।
यसबाहेक पालिकाले सोनाम छ्योलिङ गुम्बा निर्माण कार्य पूरा गर्ने, वडा नं ४ मा रहेको निर्माणाधिन अधुरो स्वास्थ्य संस्थाको काम पूरा गरी चालु अवस्थामा ल्याउने, गंगा आधारभूत विद्यालयको खेल मैदान, महेन्द्र माविको अधुरो भवन निर्माण, मालिङ्गेनी आविको शौचालय भवन निर्माण तथा पालिकाका ६ वटै वडामा आवश्यक पूर्वाधार निर्माण र पालिका क्षेत्रका विभिन्न पूर्वाधारको घेराबारा निर्माणका लागि पालिकाले पालिकाले ४ करोड २४ लाख ९ हजार रुपैयाँ खर्च गर्नेगरी बजेट विनियोजन गरेको जनाएको छ।
प्रकाशित: ७ भाद्र २०८३ १२:५५ आइतबार