भविष्यमा उनी धरानमा बसेर अंग्रेजी विषयमा उच्च शिक्षा अध्ययन गर्न चाहन्छन्। जयका बुबा गणेशप्रसाद छोराले 'नाम राखेको'मा गर्व गर्छन्।
जयनारायण र उनका परिवारजन मात्रै होइन, यतिबेला धरान–१५ स्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयबाट एसएलसी दिएका सबै दृष्टिविहीन विद्यार्थी र उनीहरूका अभिभावकमा खुसी छाएको छ। यस विद्यालयबाट एसएलसी परीक्षा दिएका शतप्रतिशत विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण भएका छन्। विद्यालयबाट तीन छात्र र छ छात्राले एसएलसी दिएका थिए। 'छोरीभन्दा धेरै हामी खुसी छौं। उनले भनेअनुसार नै पढाउँछौं,' झापाकी सुजाता लिम्बूकी आमा टीकामायाले भनिन्।
विद्यालयकी प्रधानाध्यापक केशरी थापाले शतप्रतिशत विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण भए पनि ब्रेललिपिमा परीक्षा दिन नपाउँदा विशिष्ट श्रेणी ल्याउनबाट भने वञ्चित हुनुपरेको बताइन्। थापाले भनिन्, 'सहयोगीका भरमा परीक्षा दिनुपर्ने व्यवस्थाले दृष्टिविहीन विद्यार्थी मारमा परेका छन्। उनीहरूले ब्रेललिपिमा आफंै परीक्षा दिन पाए डिस्टिङ्सन ल्याउन सक्छन्।'
एसएलसीमा दृष्टिविहीन विद्यार्थीले सहयोगीका भरमा परीक्षा दिनुपर्छ। सहयोगी र परीक्षार्थीबीच राम्रो समन्वय नहुँदा समस्या हुने गरेको प्रअ थापा बताउँछिन्। यस विद्यालयले ०६९ सालदेखि एसएलसीमा विद्यार्थी सहभागी गराउन थालेको हो। त्यसयता विद्यालय हरेक वर्ष शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल छ।
प्रकाशित: ६ असार २०७२ २२:१० आइतबार