समाज

कसले पढाइदिने यी लालाबाला?

चण्डेनीमण्डन (काभ्रे)- ‘कस्तो डर लागिरा'छ, घरभित्र पस्नै मन लाग्दैन,' ११ वर्षीया सुस्मिता तामाङ घरि यता घरि उता गर्दै गमिरहेकी छन्। ‘अझै भुइँचालो आ'को आयै छ, हल्लाइरहन्छ, बसेको ठाउँ फेरि भत्किने हो कि?' उनको मनभित्र कस्तो–कस्तो डरले डेरा जमाइरहेको छ।

नहोस् पनि कसरी?
काभ्रे, चण्डेनीमण्डनस्थित उनको घर भत्कँदा उनले एकैछिनमा हजुरआमा, दुई बहिनी र एक भाइ गुमाइन्। ‘घर भत्कँदा हजुरआमा, दुई बहिनी र एक भाइ एकै ठाउँमा पुरिए, धन्न यो भाइ मैले नै तान्न भ्याएकाले बच्यो,' हात समातेर उभिइरहेको भाइलाई सुम्सुम्याउँदै उनले भनिन्, ‘कम्मरभन्दा मुनिको भाग मात्र पुरिएकाले यसलाई तानेर बाहिर निकाल्न सकेँ, आमा बारीमा काम गर्न जानुभएकाले केही भएन। अरूलाई त घरले छोपिहाल्यो।'
यति सुनाइसक्दा उनका गला अवरुद्ध भए।


महाभूकम्पले परिवारका चार सदस्यलाई खोस्यो— ७१ वर्षीया हजुरआमा कृष्णमाया, नौ वर्षीया अस्मिता, तीन वर्षीया रस्मिता र एक वर्षीय भाइ रोजनलाई। ७९ वर्षीय हजुरबुबा गजमान तामाङ गम्भीर घाइते छन्। बनेपाको शिरमेमोरियल अस्पतालमा उनको उपचार भइरहेको छ। उनीहरू बस्दै आएको चण्डेनीमण्डन–७, सर्वझाङस्थित घर भग्नावशेषमा परिणत भएको छ। सुस्मिता, उनकी आमा नीरमाया र ६ वर्षीय भाइ सुजन मात्र सकुशल छन्। भूकम्पको मुखबाट बाँचेका परिवारका सदस्य महादेवस्थानमा रहेको जयबहादुर तामाङकहाँ शरण लिएर बसिरहेका छन्।
जयबहादुरको हालत पनि उस्तै छ। महादेवस्थान–६, गहतेस्थित जयबहादुरको घर बस्नै नहुने गरी चर्किएको छ। साँघुरो पालभित्र जयबहादुर र नीरमायाका परिवारका सदस्य टाउको लुकाइरहेका छन्। ‘पानी पर्दा अनि हावाहुरी चल्दा अनिँदोमै रात काट्नुपर्छ, केटाकेटीको कन्तबिजोगै भयो। यो पीडा सरकार मात्र होइन, कसैले पनि सुनेनन्,' जयबहादुरले दुखेसो पोखे।   
सुस्मितालगायत केटाकेटीहरू नजिकैको धारामा लुगा धोइरहेका थिए। नयाँ मान्छे देख्नासाथ उनीहरू झुम्मिँदै आए।
‘भुइँचालोमा परेर मृत्यु हुनेहरू मेरा भाइ (अक्षयकुमार) का छोराछोरी र सासू हुन्, उताको घर पूरै नष्ट भयो, बाँचेकाहरू मिलेर यहीँ बसेका छौं,' उनले भने। बुहारी नीरमाया राहतकै कामले गर्दा गाविस कार्यालय गएको उनले जानकारी दिए। ‘मृतकलाई सरकारले गाविसमार्फत दिने क्षतिपूर्तिबाहेक अन्य राहत आएको छैन,' उनले भने।
भूतपूर्व इन्डियन लाहुरे गजमान र कृष्णमायाकी एकमात्र छोरी नीरमायासँग विवाह गरेपछि अक्षयकुमारको परिवार ससुरालीमै बस्दै आएको थियो। डेढ वर्षअघि अक्षयकुमारले आत्महत्या गरेपछि निम्नमध्यमवर्गीय परिवारमा ठूलो संकट आयो। बूढा बाबुआमा र छोराछोरीको लालनपालनको जिम्मा निरक्षर नीरमायाको काँधमा आयो। खेतीपाती र ज्यालामजदुरी गरेर भए पनि उनले छोराछोरीको पढाइका साथै सबै व्यवस्था उनैले मिलाउनुपर्ने भयो। जिम्मेवारी पूरा गर्दै आएकी थिइन् उनी।
महाभूकम्प आएको दिन वैशाख १२ मा बिहानै छोराछोरी र बूढा बाबुआमालाई चियाखाजाको व्यवस्था मिलाएर नीरमाया मेलापात निस्किइन्। उनी बारीमा गएर गहुँ काट्न थालिन्। घरमा उनका बाबु गजमान, आमा कृष्णमाया, छोरीहरू सुस्मिता, अस्मिता, रस्मिता तथा छोराहरू सुजन र रोजन थिए। एकवर्षीय रोजन रोएको रोयै गर्न थालेपछि सुस्मिता भाइ बोकेर आमाले काम गरेको बारीमा गइन्। आमाले दूध खुवाएपछि भाइ रोजनलाई लिएर सुस्मिता फेरि घर फर्किन्।
भुइँतल्लाको कोठामा कृष्णमाया बसिरहेकी थिइन्। सुस्मिता, अस्मिता, रस्मिता, सुजन र रोजन हजुरआमासँगै थिए। गजमान कोठाकै अर्को कुनामा बसिरहेका थिए। सुस्मिता आमालाई काम सघाउन बारीमा जानका लागि कोठाभित्रबाट बाहिर आँगनमा निस्केकी मात्र थिइन्। जोडले घर हल्लियो। उनी ‘भुँइचालो–भुँइचालो' मात्र भनिरहिन्। हेर्दाहेर्दै घर गर्ल्याम्म ढल्यो। बाहिर खेल्दै गरेका भाइ सुजनलाई ढुंगामाटोले आँगनमै पुर्योस। अरू सबै कोठाभित्रै एकैठाउँमा छोपिए।
‘त्यतिबेला भाइ सुजन चिच्याएको आवाजले मलाई तान्यो,' सुस्मिताले भनिन्, ‘त्यसपछि म उसलाई बचाउन गएँ, कम्मरभन्दा मुनिको भाग ढुंगा–माटोले पुरिएको थियो, म आफैंले हटाएर भाइलाई निकालँे।' बाहिर निकालेपछि सुजन निकै बेरसम्म कहालिइरह्यो। केहीबेरमा उनकी आमा नीरमाया बारीबाट रुँदै घर आइन्। त्यसबेलासम्म भूकम्पले सर्वनाश गरिसकेको थियो।   
भूकम्प थामिएपछि चण्डेनीमण्डन–७, सर्वझाङका गाउँले भेला भए। उद्धारका लागि वरपरका गाउँलेलाई पनि खबर भयो। वरपरका आफन्त पनि आए। भूकम्प आएका बेला महादेवस्थान–६, गहतेको घरमा रहेका जयबहादुरले दिउँसो दुई बजे मात्र भाइ अक्षयकुमारको परिवार घरले थिचिएर पुरिएको थाहा पाए। उनी घटनास्थल पुग्दा दिउँसोको चार बजिसकेको थियो।    
सबै जना मिलेर पुरिएका मानिसलाई घरबाट निकाल्न थाले। दुई घन्टाको प्रयासपछि ढुंगामाटो पन्छाउने काम सकियो। ‘कोठाको उत्तरी कुनामा हजुरआमा कृष्णमाया, नातिनीहरू अस्मिता, रस्मिता र नाति रोजनको शव भेटियो, भूकम्प आउँदा उनीहरू एकै ठाउँमा गँुडुल्किएर बसेका रहेछन्, अर्को कुनाबाट गजमान घाइते अवस्थामा भेटिए,' उद्धारमा खटिएका जयबहादुरले भने।
नीरमायालाई एकातिर छोराछोरी र आमा गुमाउँदाको पीडा छ। अर्कातिर, घाइते बुबालाई अस्पतालमा रेखदेख गर्न जानुपर्ने अवस्था छ।
‘आइमाई केटाकेटी मात्र भएको परिवारलाई यस्तो दुःख नपरोस्, एकपछि अर्को गरी थपिँदै गएको पीडालाई सहन पनि गाह्रो हुन्छ,' नीरमायाकी जेठानी अमृता तामाङले भनिन्। यस्तो आपतका बेला नीरमायाको परिवारलाई आफन्तले सकेको सहारा दिँदै आएका छन्। ‘उताको घर ध्वस्त भयो, मर्ने त मरिहाले, बाँच्नेलाई सजिलो होस् भनेर नीरमाया र बाँचेका अस्मिता र सुजनलाई यतै ल्याएर राखेका छौं,' उनले भनिन्, ‘देवरको मृत्यु भएको डेढ वर्ष मात्र नाघेको छ, यस्तो विपतको बेला सहारा दिनै पर्योँ नि।'

कसले पढाइदेला अब?

भूकम्पले आफूहरू बसेको घर ध्वस्त बनाएपछि काका जयबहादुरले बनाएको पाल सुस्मिता र भाइ सुजनको ‘घर' भएको छ। सुस्मिता र सुजन दिनभरि गाउँका केटाकेटीसँग खेलेर भुल्ने प्रयास गर्छन्। दुई बहिनी र भाइको कुरा निकाल्नेबित्तिकै सुस्मिताको आँखा आँसुले भरिन्छन्। बोल्दाबोल्दै उनी टोलाउन थाल्छिन्।
‘सुस्मिता धेरै कुरा गर्न पनि मन गर्दिनन्, आँखैअगाडि त्यति धेरै आफन्तको मृत्यु देखेकीले होला, त्यत्तिकै दिग्दार मान्छिन्,' जयबहादुरले सुनाए।
चण्डेनीमण्डन–६ हल्देमा रहेको कालिका निम्नमाध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्छिन् सुस्मिता, भाइ सुजन कक्षा १। भूकम्पले स्कुल भवनमा क्षति पुर्याोएपछि कहिले पढाइ सुरु हुने हो, टुंगो छैन। महादेवस्थान गएपछि झन् उनलाई पढाइलाई कसरी निरन्तरता दिने भन्ने चिन्ता छ। ‘महादेवस्थानको गहतेबाट पहिलेको स्कुल डेढ घन्टाजति हिँड्नुपर्छ, त्यति हिँडेर स्कुल धाउन दिदी र भाइ दुवैलाई सजिलो छैन। गहते गाउँमा कक्षा ५ सम्म मात्र पढाइ हुने प्राथमिक स्कुल छ,' अमृताले बताइन् ।
‘यस्तो दुःख परेका बेला सकेसम्म नजिकको स्कुलमा राख्ने भनेको, तर यहाँ नजिकै कक्षा ६ सम्म पढाइ हुने स्कुल छैनन्,' अमृताले भनिन्, ‘कोही दाता आएर यिनलाई पढाइदिए धेरै कल्याण हुने थियो।'
कक्षा ५ बाट तेस्रो भएर कक्षा ६ पुगेकी सुस्मिता मेधावी छात्रामध्येकी हुन्। कालिका निमावि, हल्देका शिक्षक तुलबहादुर तामाङले भने, ‘सुस्मिता लगनशील विद्यार्थी हुन्, उनले अवसर पाएमा राम्रो गर्न सक्छिन्। पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि उसको रुचि छ।' कक्षा १ मा पढ्ने सुजन पनि चलाख छन्। खेल्न मन पराउने उनी पनि कक्षाका अब्बल विद्यार्थी हुन्।
२०६८ सालको जनसंख्याअनुसार चण्डेनीमण्डन गाविसमा ७ सय ८२ घरधुरी तथा ३ हजार २ सय ६५ जनसंख्या छ। यसपालिको महाभूकम्पमा परी चण्डेनी गाविसमा मात्र २५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ। भूकम्पले चण्डेनीमण्डनका अधिकांश घर ध्वस्त छन्।

प्रकाशित: २२ वैशाख २०७२ २३:५४ मंगलबार