'कोष पदाधिकारीले कार्यक्रमलाई भव्य बनाउन ध्यान दिएनन्'–लामो समयदेखि लुम्विनीमा बस्दै आएका भिक्षु मैत्रेयले नागरिकलाई भने। बुद्ध जयन्तीमा स्थानीय बासिन्दा र विदेशी पाहुनाको सहभागिता गराउन कोषले ध्यान नदिएकोले कार्यक्रम फिलतो भएको उनको भनाई छ। विगतका बुद्ध जयन्तीमा बौद्ध धर्म मान्ने मुलुकका राजदुतहरु सहभागी हुन्थे। यसपाली कोही राजदुत सहभागी भएनन्। कोष श्रोतका अनुसार, स्थानीय बासिन्दाको सहभागितालाई पनि कोष प्रशासनले महत्वपूर्ण ठानेन।
भिक्षु मैत्रेयका अनुसार, बुद्ध जयन्तीलाई भव्य रुपमा मनाउन विगतमा एक महिनादेखि तयारी बैठक छलफल आयोजना हुन्थे। यसपाली स्थानीय संघसंस्था, राजनैतिक दल लगायतसँग तयारी बैठक गरिएन।
विहान आयोजना गरेको र्याालीमा स्कुले बालबालिका मात्रै सहभागी भए। डेढसय बालबालिका र केही भिक्षु सहभागी र्याली निस्केको थियो। विभिन्न झाँकी सहित पाल्पा र काठमाडौंको बौद्ध धर्म मान्ने नेवारी समुदाय यसपाली सहभागी भएन। थारु समुदायको झाँकी पनि र्यालीमा देखिएन। कोषका पदाधिकारी पनि र्यालीमा सहभागी भएनन्। लुम्विनीमा बुद्ध जयन्ती मनाउँदा स्कुले विद्यार्थी सहभागी भएर र्याली आयोजना गर्नु दुर्भाग्य भएको भिक्षु मैत्रेयको भनाई छ। 'लुम्विनीमा रहेका विहारहरुसँग पनि कोषले राम्ररी छलफल गरेन'–उनले भने– 'र्यालीलाई निकै राम्रो बनाउन सकिन्थ्यो।'
बुद्ध जयन्तीको औपचारिक कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि पनि सहभागी भएनन्। कार्यक्रम उदघोषक कोष सदस्य सचिव अजितमान तामाङले राजनैतिक दलका सबै जिल्ला प्रमुखलाई आसन ग्रहणको लागि बोलाएपनि समारोहस्थलमा एमाले जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठ बाहेक अन्य देखिएनन्।
बुद्ध जयन्तीको औपचारिक कार्यक्रम आयोजना गर्न लुम्विनी विकास कोषले बर्षेनी लाखौं खर्च गर्दै आएको छ।
लुम्विनीबारे जानकार प्राध्यापक डा. गितु गिरीले लुम्विनी विकास कोष नै कार्यक्रमलाई भव्य बनाउन चासो नदिएको बताउछन्। 'लुम्विनीमा आयोजना हुने बुद्ध जयन्ती औपचारिक मात्रै हुनुहुदैन, आयोजकको चाहना हुने हो भने भव्य बनाउन सकिन्छ–उनले भने। स्थानीय बासिन्दा, संघसंस्था र राजनैतिक दलसंग सहकार्य गर्ने बानी बसाल्न कोष पदाधिकारीलाई उनको सुझाव छ।
प्रकाशित: ११ जेष्ठ २०७० ०६:२७ शनिबार