जुम्लाको पातारासी गाउँपालिका–१ माथाचौरमा मंगलबार राति भएको सवारी दुर्घटनामा आठ जना घाइते भएका छन्। जुम्ला बजारबाट पातारासी–१ स्थित गडिगाउँतर्फ जाँदै गरेको भे १ ख ४००८ नम्बरको एसएमएल गाडी अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल पल्टिँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब १० बजे भएको उक्त दुर्घटनामा पातारासी गाउँपालिका–१ का ३४ वर्षीय हर्क बुढाले चलाएको गाडीमा चालकसहित ११ जना सवार थिए। तीमध्ये आठ जना घाइते भएका छन्, भने अन्य तीन जना सामान्य अवस्थामा रहेका छन्। घाइते सबैलाई स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ।
उपचाररत अधिकांश घाइतेको अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्। दुर्घटनामा पातारासी गाउँपालिका–१ की १५ वर्षीया अनिषा एडीको टाउको र दायाँ खुट्टामा चोट लागेको छ भने १६ वर्षीया काली एडीको दायाँ हातमा चोट लागेको छ।
त्यस्तै १५ वर्षीया ममता बुढाको टाउको, ढाड र खुट्टामा चोट लागेको छ, भने १४ वर्षीया सृष्टि बुढाको टाउको र घाँटीमा सामान्य चोट लागेको छ।यसैगरी २६ वर्षीया जनतारा एडीको टाउको, ढाड र बाँया हातमा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको चिकित्सकले बताएका छन्। १६ वर्षीय दिनेश एडीको दायाँ घुँडामा चोट लागेको छ भने १९ वर्षीय हिराबहादुर एडीको दायाँ हातमा चोट लागेको छ। १८ वर्षीय सुनिल एडीको कुम र खुट्टामा चोट लागेको छ।
दुर्घटनाको कारण गाडी अनियन्त्रित भएर सडकबाट तल खस्नु रहेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
प्रकाशित: ३ चैत्र २०८२ ०७:४७ मंगलबार