पछिल्लो एकवर्षे अवधिमा ताप्लेजुङमा मानव अधिकार उल्लङ्घन सम्बन्धी ५३ वटा घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ।
इन्सेक ताप्लेजुङका जिल्ला प्रतिनिधि एलिना दियालीले बुधवार २०८१ साल पुस १६ देखि २०८२ मङ्सिर २४ गतेसम्म यहाँ भएका मानव अधिकारसँग सम्बन्धित घटनाका बारेमा वार्षिक समीक्षा प्रस्तुत गरेकी हुन्। दियालीका अनुसार ५३ वटा घटनामध्ये झण्डै ५४ प्रतिशत घटनामा महिला पीडित भएका छन्।
दियालीका अनुसार ५३ मध्ये २९ वटा घटनामा महिला पीडित भएको देखिएको छ। घटनाबाट १४ पुरुष र ७ बालिका पीडित भएको इन्सेकले आफ्नो विवरणमा प्रस्तुत गरेको छ। इन्सेकका अनुसार मानव अधिकार उल्लङ्घनका घटनामा १३ वर्षीया बालिकादेखि ७२ वर्षीय ज्येष्ठ नागरिकसम्म पीडित भएका छन्।
इन्सेकले ताप्लेजुङ जिल्लामा महिला कारागार, बाल सुधार र सुरक्षित आवास कक्ष नहुँदा हिंसामा परेका महिला तथा बालबिज्याईंमा परेका बालबालिकालाई सुधार तथा संरक्षणका लागि जिल्ला बाहिर पठाउनु परेको दुखद् अवस्थाको अन्त्य हुनुपर्ने औँल्याएको छ। पुनर्स्थापना केन्द्र निर्माणको दीर्घकालीन योजना नबनाउने हो भने यस्ता सुधार तथा संरक्षणका कार्यमा थप गतिरोध आउन सक्नेतर्फ इन्सेकले सचेत समेत गराएको छ।
ताप्लेजुङमा महिला तथा बालबालिकाहरू आफ्नै छिमेकी, नातेदार, आफन्त र चिनजानकै व्यक्तिबाट बलात्कार तथा यौन दुरव्यवहारमा परिरहनु परेको इन्सेकको विश्लेषण छ। गमबुटको निहुँमा दाइले भाइको हत्या गर्नु र खैनीको निहुँमा श्रीमानले श्रीमतीको हत्या गर्नुजस्ता आवेगप्रेरित घटना हुने गरेको भन्दै इन्सेकले यस्ता घटनाको न्यूनीकरणमा सचेतनाको खाँचो देखेको छ।
विद्युतीय तारबारको उचित व्यवस्थापनको अभावमा विद्युतीय तार लत्रिएर मानिसको ज्यान जाने गरेको घटनाप्रति इन्सेकले विद्युत् प्राधिकरण र सम्बद्ध निकायको ध्यानाकर्षण गरेको छ। सेफ्टी ट्यांकी जस्ता खाडल प्रकृतिका पूर्वाधार निर्माणको समयमै व्यवस्थापन र उचित सुरक्षा नगर्दा खाडलमा डुबेर बालबालिकाको ज्यान जाने गरेका घटनाप्रति संकेत गर्दै इन्सेकले यस्ता कार्यहरूमा लापरबाही गर्न नहुनेमा जोड दिएको छ।
नेपाल–चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा नाका टिपताला भञ्ज्याङ सञ्चालन, सिमापास परिचयपत्र वितरण, ओलाङचुङगोला मूल भन्सार कार्यालय सञ्चालनमा समेत सरकारले कूटनीतिक पहल र सहजीकरण गर्नुपर्ने इन्सेकले बताएको छ। मानव तस्करीकै झल्को दिने भारत उत्तराखण्डको रुद्रपुर घटनामा मानिसको ज्यान जानुपर्ने अवस्था र त्यहाँ अलपत्र करिब ६ सय मानिसको उद्धारका लागि गरिएको प्रहरी पहलको इन्सेकले स्वागत गरेको छ।
सन् २०२५ को डिसेम्बर १ देखि सोही वर्षको डिसेम्बर ९ सम्म भएका मानवसँग सम्बन्धित घटनाको अभिलेखीकरण गरी सरोकारवालाको राय सुझाव समेत लिएर इन्सेकले प्रकाशित गर्ने मानव अधिकार वर्ष पुस्तक २०२६ का सन्दर्भमा इन्सेक ताप्लेजुङले वार्षिक समीक्षामार्फत राय सुझाव सङ्कलन गरेको हो। संकलित राय सुझाव समेत समेटेर ताप्लेजुङ जिल्लाको मानव अधिकारका विषयलाई अन्तिम अभिलेखीकरण गरी पुस्तक प्रकाशनका लागि सामग्री ग्राह्य बनाउने इन्सेक जिल्ला प्रतिनिधि दियालीले बताइन्।
प्रकाशित: २४ मंसिर २०८२ १३:२० बुधबार