समाज

३ सय २१ कार्टुन काँचो स्याउ प्रहरी नियन्त्रणमा

जुम्लामा पाक्नुअघि नै टिपेर सुर्खेत र नेपालगञ्ज पठाउन लागिएको ३ सय २१ कार्टुन स्याउ प्रहरीले ६ दिनदेखि रोकेर राखेको छ।तिला गाउँपालिका–१ रारास्थित प्रहरी चौकीमा तीन गाडी स्याउ रोकिएका हुन्।

कृषि विकास कार्यालय जुम्लाका अनुसार तातोपानी गाउँपालिकाका ६१ र चन्दननाथ नगरपालिकाका २ सय ६० कार्टुन स्याउ बजार पठाउन लागिएको अवस्थामा नियन्त्रणमा लिइएको हो।

स्याउको आकार सानो, दाना हरियो र आवश्यक गुलियोपना नपुगेको पाइएपछि गाडी रोकिएको कार्यालयले जनाएको छ।

रिफ्र्याक्टोमिटरबाट परीक्षण गर्दा स्याउमा कम्तीमा ११ प्रतिशत गुलियोपना हुनुपर्ने भए पनि रोकिएको स्याउमा उक्त मापदण्ड पूरा नभएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताए।

‘स्याउ पाकेको छैन। रिफ्र्याक्टोमिटरबाट परीक्षण गर्दा कम्तीमा ११ प्रतिशत गुलियोपना आवश्यक हुन्छ,’ अधिकारीले भने, ‘निर्यातका लागि स्थानीय तहका प्राविधिकले सिफारिस पनि दिएका छैनन्। मनपरी रूपमा लैजान लागेको काँचो स्याउ रोकिएको हो।’

उनका अनुसार कृषि प्राविधिकबाट परीक्षण गराई सिफारिस लिएपछि मात्र स्याउ जिल्लाबाहिर लैजान आग्रह गरिएको छ। रोकिएका गाडीमा राखिएको स्याउ एउटै जात र एकै नासको समेत नरहेको उनले बताए।

प्रहरी चौकीमा स्याउ रोकिएपछि जिल्ला कृषि विकास कार्यालयको नेतृत्वमा स्याउ सुपरजोन र स्थानीय तहका कृषि शाखाका प्राविधिक टोली परीक्षणका लागि रारा पुगेका थिए। टोलीले स्याउको अवस्था, गुलियोपना र परिपक्वता परीक्षण गरेको थियो।

‘परीक्षणका क्रममा स्याउ पाकेको देखिएन। टिपेको नौ दिन भएको र चौकीमा रोकिएको छ दिन भएको देखियो,’ अधिकारीले भने, ‘अझै गुलियोपना भरिनुपर्ने देखिएपछि केही दिन राखेर मात्र लैजान भनिएको हो।’

जुम्लाको स्याउको गुणस्तर जोगाउन जुम्लामा बसेको सर्वपक्षीय बैठकले स्याउ टिप्ने समयसमेत निर्धारण गरेको थियो। गत साउन १८ गते बसेको बैठकले भदौको पहिलो सातापछि मात्र स्याउ टिपेर जिल्लाबाहिर पठाउने निर्णय गरेको थियो।

तिला गाउँपालिकामा भदौ ५ गतेदेखि र जिल्लाका अन्य सात स्थानीय तहमा भदौ दोस्रो सातादेखि स्याउ टिप्न मिल्ने निर्णय गरिएको थियो। तर बजारमा मूल्य र माग बढेको मौका छोप्दै केही किसान तथा व्यापारीले निर्णयविपरीत काँचो स्याउ टिपेर बाहिर पठाउन थालेका छन्।

‘अहिले पनि कृषि प्राविधिकलाई जानकारी नदिई काँचो स्याउ टिपेको देखियो,’ तिला गाउँपालिका कृषि शाखा प्रमुख राजेश विश्वकर्माले भने, ‘यसरी ल्याइएका स्याउ चौकीमा रोकिएको हो।’

उनका अनुसार पछिल्ला केही दिनयता लुकिछिपी स्याउ टिपेर सुर्खेत, नेपालगञ्जलगायतका बजारमा पठाउने क्रम बढेको छ।

‘परीक्षण गर्दा अझै केही दिन राख्नुपर्ने भेटियो,’ उनले भने, ‘तत्काल बाहिर पठाउनुभन्दा केही दिन राखेर मात्र बजार पठाउनु उपयुक्त हुन्छ।’

कृषि प्राविधिकका अनुसार परिपक्व हुनुअघि टिपिएको स्याउ बजारमा पुग्दा स्वाद र गुणस्तरमा असर पर्छ। त्यस्तो स्याउ ‘जुम्लाको स्याउ’का रूपमा बजारमा पुगेमा समग्र जुम्ली स्याउको पहिचान र ब्रान्डमै असर पर्ने जोखिम छ। जुम्लाको स्याउको माग सुर्खेत, नेपालगञ्ज, काठमाडौं लगायतका ठुला बजारमा बढ्दै गएको छ।

माग बढेसँगै किसान तथा व्यापारीले समय अगावै स्याउ टिपेर पठाउने प्रवृत्ति भने स्थानीय तह र कृषि प्राविधिकका लागि नयाँ चुनौती बनेको छ।

तिला गाउँपालिकाले किसानलाई स्याउ पूर्ण रूपमा परिपक्व नभएसम्म नटिप्न आग्रह गर्दै आएको छ। सबै स्थानीय तहका कृषि शाखाहरुले बजार पठाउनुअघि स्याउको गुणस्तर र परिपक्वता परीक्षण गर्नसमेत किसान तथा व्यापारीलाई आग्रह गरेका छन्।

जुम्लामा ४ हजार ४ सय ९७ हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ। जिल्लामा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन, रिचार्ड रेड, जोनाथन र स्पोरलगायत स्थानीय जातका स्याउ उत्पादन हुँदै आएका छन्।

पछिल्लो समय उच्च घनत्व प्रविधिका गाला र फुजी प्रजातिको स्याउखेतीसमेत विस्तार भइरहेको छ।

जुम्लाले चालु आर्थिक वर्ष २०८३/०८४ मा ७० करोड रुपैयाँ बराबरको स्याउ निर्यात गर्ने लक्ष्य राखेको छ। कृषि विकास कार्यालयका अनुसार गत आर्थिक वर्षमा ४१ करोड २० लाख ८९ हजार रुपैयाँ बराबरको स्याउ निर्यात भएको थियो।

गत वर्ष जुम्लामा १८ हजार २ सय ४५ मेट्रिक टन अर्थात् १ लाख ८२ हजार ४ सय ५० क्विन्टल स्याउ उत्पादन भएको थियो। त्यसमध्ये ५५ हजार ९ सय १० क्विन्टल मात्र जिल्लाबाहिर निर्यात भएको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले बताए।

चालु आर्थिक वर्षमा २० हजार ७० मेट्रिक टन अर्थात् २ लाख ७ सय क्विन्टल स्याउ उत्पादन हुने अनुमान गरिएको छ। बढ्दो उत्पादनसँगै जुम्ली स्याउको बजार र ब्रान्ड जोगाउन गुणस्तरमा कडाइ गर्नुपर्ने चुनौती पनि थपिएको कृषि प्राविधिकहरूको भनाइ छ।

प्रकाशित: २८ श्रावण २०८३ १६:०७ बिहीबार