समाज

विषालु च्याउ खाएर बिरामी परेकाहरूको गोठमै उपचार

रसुवामा विषालु च्याउ खाएर बिरामी परेका सात जनाको गोठमै गएर उपचार गरिएको छ। जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५ को भेठीगोठमा पुगेका सात जनाले शनिबार बिहान विषालु च्याउ खाएपछि बिरामी परेका थिए।  

शनिबार साँझ बिरामीले प्रहरीलाई खबर गरेका थिए। खबर पाएपछि थाम्बुचेतबाट प्रहरी र स्वास्थ्यकर्मीको टोली राति भेठीगोठ गएका थिए। स्वास्थ्यकर्मी र प्रहरीको टोली राति १० बजेर ५० मिनेट जाँदा भेठीगोठ पुगे।  

उनीहरू त्यहाँ पुग्दा बिरामीको अवस्था चिन्ताजनक थियो। थाम्बुचेतबाट करिब ७ घण्टा हिँडेपछि पुग्न सकिने उक्त स्थानमा राति बिरामीलाई स्वास्थ्य चौकी ल्याउन कठिन हुने भएपछि स्वास्थ्यकर्मीले त्यही बसेर उपचार गरेका हुन्। प्रहरी नायव उपरीक्षक इन्दप्रसाद्र सुवेदीका अनुुसार बिरामीको स्वास्थ्य क्रमिक रूपमा सुधार भइरहेको छ।  

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४ का २५ वर्षीय निहा लामा तामाङ, उनकोे श्रीमती २५ वर्षीय बुटी माया तामाङ, बहिनी ११ वर्षीय सुशिला तामाङ बिरामी परेका छन्।  

यसैगरी धादिङ जिल्लाको रुविभ्याली गाउँपालिका– १ का  ३१ वर्षीय ग घले २६ वर्षीय क्षितिज घले, क्षितिज घलेको श्रीमती २५ वर्षीय चो माया तामाङ र ३० वर्षीय तिति माया घले बिरामी परेका हुन्।  

थाम्बुचेत प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक अभिनाष भण्डारीको नेतृत्वमा ३ जना र स्थानीय स्वास्थ्य चौकीका २ जना स्वास्थ्यकर्मी उद्धारको लागि घटनास्थलमा गएका थिए। अहिले उनीहरूको त्यही उपचार भइरहेको छ। ‘अहिलेसम्मको अवस्था हेर्दा बिरामीको त्यही उपचार सम्भव हुने देखिएको छ’, उनले भने, ‘आवश्यक परेको खण्डमा टोलीले उनीहरूलाई स्वास्थ्य चौकी ल्याउने छ।’  

प्रकाशित: १४ भाद्र २०७७ ०९:२५ आइतबार