समाज

प्लान्ट क्वारेन्टिनका एक कर्मचारीलाई कोरोना संक्रमण

प्लान्ट क्वारेन्टिन कार्यालय रसुवाका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। केही दिनअघि चितवन गएर कार्यालय फर्किएका उनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो।

स्याफ्रु–रसुवागढी सडक अवरुद्ध भएका कारण उनी कार्यालय पुगेका थिएनन्। उनी स्याफ्रुमा रहेको एक होटलमा बसेका थिए। उनी बसेको होटल सिल गर्ने तयारी भएको छ। हालसम्म जिल्लामा १४ जनामा कोरोना पुष्टि भएको छ।  

संक्रमितमध्ये १२ जना निको भएर घर फर्किसकेका छन्। कार्यालयका अनुसार जिल्लाको नौकुण्ड गाउँपालिकामा ९, उत्तरगयामा ३ र कालिकामा १ जनामा कोरोना पोजेटिभ देखिएको थियो। भने अहिले कोरोना पुष्टि भएका संक्रमित जिल्ला बाहिरका हुन्।  

जिल्लामा हालसम्म २ सय ७२ वटा स्वाब संकलन गरिएको छ। जिल्लामा ३५ शैयाको आइसोलेसन र ३ सय २ शैयाको क्वारेन्टिन रहेको छ। हालसम्म जिल्लामा ४ सय १६ वटा नमुना संकलन भएको छ। अब १ सय ४३ वटाको नतिजा आउन बाँकी छ।

प्रकाशित: ५ भाद्र २०७७ १०:१३ शुक्रबार