समाज

जुम्लामा ३१ प्रतिशत खेतीयोग्य जमिन बाँझो, कृषि उत्पादनमा चुनौती

कर्णाली प्रदेशअन्तर्गत पर्ने जुम्लाको ६८.६९ प्रतिशत अर्थात् २६ हजार ४ सय ३५ क्षेत्रफल भू-भाग खेतीयोग्य रहेको सरकारी तथ्यांकले देखाएको छ। कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार जिल्लाको समग्र भू-भागमध्ये झन्डै दुई तिहाइ हिस्सा खेतीका लागि उपयुक्त छ। 

उनले भने, ‘जुम्लाको कुल क्षेत्रफल २ लाख ५३ हजार एक सय छ। कुल खेतीयोग्य जमिनको क्षेत्रफल ३८ हजार ४ सय ८६ देखिन्छ। यो को १५.२१ प्रतिशत हो। यस्तै १२ हजार ५१ क्षेत्रफल अर्थात् ३१.३१ प्रतिशत खेतीयोग्य जमिन बाँझो छ। ३ हजार ६ सय ५० क्षेत्रफल अर्थात् १३.८१ प्रतिशत सिँचित जमिन छ।’ 

कृषि विकास कार्यालय जुम्लाका अनुसार २२ हजार ७ सय ८५ क्षेत्रफल अर्थात् ८६.१९ प्रतिशत असिँचित पाखो छ। यस्तै १ लाख ४५ हजार ७० क्षेत्रफल अर्थात् ४१.३२ प्रतिशत बनजंगलले ढाकेको छ। ६६ हजार २ सय १० क्षेत्रफल अर्थात् २६.१६ प्रतिशत जमिन चरन क्षेत्र छ। ४३ हजार ८ सय ३४ अथवा १७.३२ प्रतिशत जमिन ताल, खोला, चट्टानले ओगटेको तथ्यांकमा उल्लेख छ।

‘जुम्लाको भौगोलिक बनावट र मौसमी अवस्थाले परम्परागत खेतीका लागि अनुकूलता देखिएको छ,’ अधिकारीले बताए। उनका अनुसार जुम्लामा परापूर्वकालदेखि नै प्रमुख बालीका रूपमा अन्नबाली, आलु, गहुँ, जौँ, मकै, चिनो, कोदो, कागुनो, धान, फापर उत्पादन हुँदै आएको छ। तर खेतीयोग्य जमिन प्रशस्त भए पनि प्रविधिको पहुँच, सिँचाइ सुविधा, र बजार व्यवस्थापन अभावका कारण उत्पादकत्व अपेक्षाकृत कम देखिएको अधिकारी बताउँछन्। ‘यदि आधुनिक प्रविधि, बीउ व्यवस्थापन, र सिँचाइ संरचनामा सुधार गरियो,  जुम्ला कृषि आत्मनिर्भर बन्न सक्छ,’ उनले थपे। 

यसअघि जिल्लामा गरिएको एक सर्वेक्षण अनुसार कुल खेतीयोग्य जमिनमध्ये ठूलो हिस्सा अझै बाँझो रहने गरेको पाइएको छ। श्रमशक्ति अभाव, बसाइँसराइ, र कृषिमा युवाको चासो कम हुनु यसका प्रमुख कारणका रूपमा देखिएको छ। तर यस्तो सम्भावनायुक्त क्षेत्रले अझै पनि अपेक्षाकृत कृषि उत्पादन दिन नसकेकोप्रति विज्ञ चिन्तित छन्।

कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दीपक सिंह धामीका अनुसार खेतीयोग्य जमिन प्रशस्त भए पनि पर्याप्त सिँचाइ संरचनाको विकास हुन नसक्दा खेती सिँचाइको अभावमा निर्भर रहँदै आएको छ। जिल्लामा साना-साना खोलानाला भए पनि तिनको प्रयोग गरी व्यवस्थित सिँचाइ प्रणाली विकास गर्ने प्रयास न्यून देखिन्छ।

‘सिँचाइ बिना खेती सुक्खा मौसममा झन् जोखिमपूर्ण हुन्छ। बर्खामा बाढी, हिउँदमा खडेरी, र वसन्तमा असिना–यस्ता जोखिमसँग जुध्दै आएका छौँ,’ उनले बताए। जुम्लामा पछिल्लो दशकमा वैदेशिक रोजगारी र शैक्षिक बसाइँसराइ बढेसँगै खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दो छ। १८ देखि ४० वर्ष उमेर समूहका युवाको शहर र विदेश पलायनले गर्दा खेती गर्ने जनशक्ति नै न्यून हुन थालेको छ।

कृषि विज्ञ भन्छन्, ‘हामीसँग प्रशस्त जमिन छ, बीउ छ, तर उत्पादन गर्ने जनशक्ति छैन। महिला मात्र खेतीमा छन्। युवा फर्किएर कृषि पेशा अँगाल्न तयार भएमा जुम्ला आत्मनिर्भर हुन सक्छ।’ 

हालै स्थानीय तह र गैरसरकारी कार्यालयले कृषि प्रवर्द्धनका लागि केही कार्यक्रम ल्याइरहेका छन्। तर यी कार्यक्रम समन्वययुक्त, दीर्घकालीन योजना र लगानीको अभावमा प्रभावकारी बन्न सकेका छैनन्। कृषि विकास कार्यालय उपलब्ध तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ तथ्यांक केलाउँदा जुम्लाको खाद्यान्न बाली कुल १४ हजार ५ सय ३३ हेक्टर क्षेत्रफल जमिनमा खेती भइरहेको छ। २४ हजार २ सय ३१ मेट्रिक टन उत्पादन भएको देखिन्छ, जसमा धान २ हजार ८ सय ९० हेक्टर क्षेत्रफलमा खेती भइरहेको छ। 

सूचना अधिकारी धामीका अनुसार ५ हजार ९ सय ८७ मेट्रिक टन उत्पादन भइरहेको छ। गहुँ २ हजार २ सय हेक्टर क्षेत्रफलमा खेती भइरहेको छ। यस्तै मकै ४ हजार ४ सय ५० हेक्टरमा जमिनमा खेती भएको छ। उत्पादन १० हजार ५ सय मेट्रिक टन भएको छ। यता कोदो २ हजार ७ सय ४० हेक्टर क्षेत्रफल जमिनमा खेती गरिन्छ। ३ हजार ८ सय ५० मेट्रिक टन उत्पादन भएको तथ्यांकमा उल्लेख छ। जौँ १ हजार ९ सय ३५ हेक्टर जमिनमा खेती भइरहेको छ। ३ हजार ५ सय १५ मेट्रिक टन उत्पादन भइरहेको छ। फापर १ सय १० मेट्रिक टन उत्पादन भइरहेको छ। 

९५ हेक्टर क्षेत्रफलमा खेतीपाती भइरहेको छ। उवा १५ मेट्रिक टन उत्पादन भइरहेको छ। १० हेक्टर क्षेत्रफलमा जमिनमा खेती भइरहेको छ। चिनो २ सय हेक्टर क्षेत्रफलमा खेतीपाती भइरहेको छ। २ सय ४० मेट्रिक टन उत्पादन भएको देखिन्छ। कागुनो १४.३ मेट्रिक टन उत्पादन भएको छ। १३ हेक्टर क्षेत्रफल जमिनमा खेती भइरहेको छ।

प्रकाशित: २ आश्विन २०८२ १२:०६ बिहीबार