२०७४ सालमा दुबईबाट ल्याइएको भनिएको ३३ किलो सुन काण्डमा चूडामणि उप्रेती (गोरे) सहित पक्राउ परे। गोरेकै अगुवाइमा दुबईबाट ३३ किलने सुन ल्याइएको दाबी गरिए पनि त्यो सुन कहाँ गयो भन्ने खुल्न सकेन। सोही सुन तस्करी काण्डमा मोरङमा सनम शाक्यको हत्यासमेत भयो। सुन गायब पारेको आरोपमा शाक्यको हत्या भएको बयान गोरेले दिएका थिए। उनी अहिले जेलमा छन्।
अनुसन्धानपछि सुन ल्याउने, सुनमा लगानी गर्ने र खरिद गर्ने व्यवसायीसमेत गरी ७७ जनाविरुद्ध मुद्दा दायर भयो। सुन तस्करीमा कुनै न कुनै रूपमा संलग्न भएको अभियोगमा ७७ जनाविरुद्ध मुद्दा दायर भएपछि नेपाली तस्करहरूको सञ्जाल केही हदसम्म भत्कियो। तर नेपालमा तस्करीको सुन भित्र्याउने क्रम भने रोकिएन। सुन तस्करीमा चिनियाँ संलग्न हुन थाले।
२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट बाहिरएको ६१ किलो सुन बरामद भयो। हङकङबाट ‘ब्रेक सु’मा लुकाएर ल्याइएको उक्त सुनमा चिनियाँ समूह संलग्न भएको अनुसन्धानबाट खुल्यो। चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङले नेपाली युवती अमला रोकासँग विवाह गरी राजनीतिक तहसम्म पहुँच पुर्याएर ३७ क्विन्टलसम्म सुन तस्करी गरेको नेपाल प्रहरीको अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धाबाट खुलेको थियो।
चिनियाँ तस्करको समूहले काठमाडौंको टोखामा जग्गा भाडामा लिएर सुन गाल्ने र वितरण गर्ने केन्द्र स्थापना गरेका थिए। समूहका ६ जनासँग नेपाली नागरिकताको प्रमाणपत्र पनि थियो। ६१ किलो सुन तस्करी काण्डको अनुसन्धानपछि ५० जनाविरुद्ध मुद्दा दायर भयो। जसमध्ये दावासहित नौ जना चिनियाँ गत वर्षको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका छन्।
नेपालमा अहिले चिनियाँहरूले सुन तस्करीमा नयाँ समूह स्थापित गर्न खोजिरहेको तथ्य गत असोज २१ गते बरामद २१ किलो सुनले पुष्टि गर्छ। उक्त सुन तस्करीको आरोपमा तीन चिनियाँ पनि पक्राउ परे। पक्राउ परेका उनीहरूले अनुसन्धानमा असहयोग गरिरहेका छन्। नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १० दिन रेकी गरी नियन्त्रणमा लिएका ती तीनजना चिनियाँले अनुसन्धानमा कुनै सहयोग गरेका छैनन्। उनीहरूले काठमाडौं बुढानीलकण्ठमा मासिक तीन लाख ३० हजार रुपैयाँमा घर भाडामा लिए एक नेपाली सुरक्षा गार्डसमेत राखेको अनुसन्धानबाट खुलेको छ। उनीहरूले सूचना चुहिने डरमा ती गार्डलाई पनि हटाइदिएको खुलेको प्रहरी स्रोत बताउँछ।
प्रहरीले ती चिनियाँको साथबाट बरामद मोबाइल जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डिएफएल) मा पठाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालका प्रमुख एसएसपी सन्तोष खडकाका अनुसार मोबाइलको डिएफएल रिपोर्ट आउन बाँकी भएकाले २१ किलो सुन कहाँबाट ल्याइएको थियो भन्ने खुलेको छैन। प्रारम्भिक रूपमा चीनबाटै ल्याइएको देखिए पनि अरु तथ्य खुलाउन उनीहरूले असहयोग गरिरहेको एसएसपी खडकाले बताए।
एसएसपी खडकाका अनुसार उक्त सुनको वास्तविक मालिक चीनमा नै भएको अनुमान छ। पक्राउ परेका ती तीनजनाले आफूहरूलाई सुन ओसारपसार गर्ने जिम्मेवारी मात्रै दिइएको बयान दिएका छन्। उनीहरूले एक पटक लाजिम्पाटस्थित एक होटेलमा सुन पुर्याएको तर रातको समयमा गएकाले होटेलबारे थाहा नभएको बयान पनि दिएका छन्। उनीहरूले सुन पठाउनेसँग विच्याटबाट संवाद गर्ने भएकाले सबै विवरण मोबाइलको डिएफएल रिपोर्टपछि मात्र खुल्न सक्ने खडकाले बताए।
यो समूहले अहिलेसम्म उक्त सुन तस्करीमा कुनै पनि नेपालीलाई संलग्न नगराएको पाइएको छ। ‘यो समूहले कुनै पनि नेपालीको सहयोग लिएको देखिएको छैन र यात्रा विवरणअनुसार धेरै खेप सुन ल्याएको जस्तो पनि देखिँदैन। पहिलो पटकमै पक्राउ परेको हुन सक्ने हाम्रो बुझाइ छ। थप खुलासा मोबाइलको डिएफएल रिपोर्टपछि होला’, खडकाले भने।
खड्काका अनुसार पक्राउ परेका चिनियाँको यात्रा विवरण हेर्दा साउनमा नेपाल आएर सुन तस्करीको योजना बनाएको देखिन्छ। प्रहरीले छापा मारेर सुन बरामद गरेको बुढानीलकण्ठस्थित एक निजी घर साउन ८ गते चिनियाँ नागरिक ‘सु कान’ले मासिक ३ लाख ३० हजार रुपैयाँमा भाडामा लिएका थिए। चार महिनाको भाडावापत १३ लाख २० हजार अग्रिम भुक्तानी दिएर सु साउन ३० गते चीन फर्किएको अभिलेख छ। भाडामा लिएको घरको साँचो उनले चीन पुगेर ‘झान जी ली’ लाई दिएका थिए। झानले ‘हान फी र जो लोङ छिङ’ लाई उक्त साँचो दिएर नेपाल पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरू दुवैजना अहिले प्रहरी नियन्त्रणमा छन्। उनीहरू असोज ११ गते भाडामा लिइएको घरको साँचो बोकेर चीनबाट नेपाल आएको देखिएको छ। उनीहरूले विमानस्थलबाटै असोज २५ गतेसम्मका लागि बिओआइडी गाडीसमेत भाडामा लिएका थिए।
सुन तस्करी आरोपमा प्रहरीले पक्राउ गरेका अर्का वाङ जेन असोज १५ गते काठमाडौं आइपुगेको राहदानीबाट खुलेको छ। नेपालमा सुन तस्करीको अवस्था बुझ्न सुरुमा हान फि आएका थिए। साउनमै पत्नीसहित काठमाडौं आएका ‘हान फी’ काठमाडौंको बजार र तस्करी गर्न सकिने सबै आधार पत्ता लगाएर फर्केका थिए। उनले अन्य दुईजना पनि लिएर आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। हङकङबाट सुन ल्याउने दावा छिरिङको समूहसँग यो समूहको सम्बन्ध छ कि छैन भन्नेबारे अनुसन्धान भैरहेको छ।
प्रकाशित: १० कार्तिक २०८३ ०९:०५ मंगलबार