समाज

बुढाबुढी टिपरमा, हिँडनसक्ने जंगलतिर भागे

आइतबारको बाढीले क्षति पु¥याएको रसुवागढी जलविद्युत् आयोजनाको हेडबक्स। नागरिक

रसुवा - उत्तरगया गाउँपालिका–५ खाल्डे बस्दै आएका ३२ वर्षीय पूर्ण घले सुत्ने तयारीमा थिए। बस्तीनजिकै त्रिशूली खोला बगे पनि उनलाई डर थिएन किनकि उनी गोगनेबाट खाल्डेमा गएर बसेको दुई वर्ष भएको थियो। यसअघि सो नदीमा पानीको बहाव बढेको उनलाई अनुभव थिएन। आइतबार राति एक्कासि बाढी आएको सूचना पाएपछि उनी मात्रै होइन, त्यहाँका दुई सय ६० घरका व्यक्ति आत्तिए। रुँदै चिच्याउँदै कोही नौबिसे फाँट पुगे भने कोही जंगलतिर लागे।

क्याम्पमा हिँड्न नसक्ने बुढाबुढी मात्रै बाँकी रहे। उनीहरूका लागि एउटा टिपर खोजियो अनि चढाइयो ताकि क्याम्पमा पनि बाढी पसिहाल्यो भने उनीहरूलाई तत्काल सुरिक्षत स्थानतर्फ लैजान सकियोस्। ‘आइतबार राति आएको बाढीले हामीलाई भूकम्पको याद दिलायो,’ घलेले भने, ‘त्यतिखेर सबै रुँदैकराउँदै भागिरहेका थिए, यो बाढीले पनि त्यस्तै बनायो।’

टिमुरेस्थित रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ४५ जनाभन्दा बढी कामदार पनि क्याप्प छाडेर बाहिर निस्किएका थिए। नदीमा ठूलो बाढी आएको र कुनै पनि समय क्याम्पमा क्षति पुग्ने खतरा देखिएपछि उनीहरू सुरक्षित स्थानतिर गएका थिए।

भूकम्पका कारण विस्थापित दुई सय ६० परिवार खाल्डेमा बसिरहेका छन्। ‘बाढीको सूचना आएपछि सक्ने मान्छे झोलातुम्लो बोकेर हिँडे, विस्थापित व्यवस्थापन संघर्ष समितिका संयोजक छेकु लामाले भने, ‘हिँड्न नसक्ने बुढाबुढी र अपांग व्यक्तिलाई हामीले जसोतसो उद्धार ग-यौं।’

पैरेबेसीकी ३० वर्षीया चन्द्रावती भट्टलाई राम्चेमा पहिरो गएपछि खोलामा पानीको बहाब बढेको याद छ। त्यसपछि ठूलो खोला आएको अनुभव गरेकी छैनन्। आइतबार बाढी आएको सूचना आउँदा उनी भने आत्तिएर भागिनन्। ‘मनमा अलिअलि डर त लागिहाल्छ नि,’ उनले भनिन्, ‘तर अहिलेसम्म त्यति ठूलो नआएकाले भाग्नचाहिँ भागिनँ।’

भूकम्प जानुपूर्व खोला माथि रहेको उनले बताइन्। उनले थपिन्, ‘अहिले त खोला गहिरिएको छ।’ यता टिमुरेस्थित रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ४५ जनाभन्दा बढी कामदार पनि क्याप्प छाडेर बाहिर निस्किएका थिए। नदीमा ठूलो बाढी आएको र कुनै पनि समय क्याम्पमा क्षति पुग्ने खतरा देखिएपछि उनीहरू सुरक्षित स्थानतिर गएका थिए। आयोजना प्रमुख छवि गैरेका अनुसार बाढी आएको सूचना पाउनेबित्तिकै कामदार सुरक्षित स्थानतर्फ लागेका थिए।

पानीको बहाब घटेपछि राति साढे २ बजेतिर कामदार क्याप्पमा फर्किएका थिए। बाढीले आयोजनाको बाँधस्थलमा रहेको कफर ड्याममा पूर्ण क्षति गर्नुका साथै बेलिब्रिज, इन्सिनेटर र पेनस्टक बगाएको छ। बेलिब्रिजमा क्षति पुगेपछि आयोजनाको काम प्रभावित बनेको आयोजना प्रमुख गैरेले जाानकारी दिए।

समयमै सूचना प्रवाह गर्न सकेकाले मानवीय क्षति हुन नपाएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। रसुवाको रसुवागढीदेखि बेत्रावतीसम्म नदी बग्ने भएकाले त्यसआसपासका बस्ती बाढीको जोखिममा छन्।

प्रकाशित: ३ भाद्र २०७६ ०१:४६ मंगलबार

त्रिशूली बाढी टिपर