महिला हिंसाविरुद्ध १६ दिने अभियान सुरु भइरहँदा जुम्लामा भने घरेलु हिंसाका घटनाले महिलाको सुरक्षा र न्यायमाथि गम्भीर प्रश्न उठाएका छन् । हिंसाका घटना प्रहरी र सरोकारवाला निकायसम्म पुग्ने गरे पनि कतिपय घटना मिलापत्रमै टुंगिने गरेका छन् । यसले पीडित महिलाले न्याय पाउनुको सट्टा हिंसा सहेर बस्नुपर्ने अवस्था सिर्जना गरिरहेको छ ।
गत मंसिर २ गते राति हिमा गाउँपालिका–७ मच्चीगाउँकी कर्मकन्यामाथि श्रीमान् उमेश त्रिरुवाले निर्घात कुटपिट गरे । गम्भीर घाइते भएकी उनलाई भोलिपल्ट उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्याइयो । उनको माथिल्लो ओठ काटिएर दुई फ्याक भएको थियो भने कानबाट रगत बगेको थियो । शरीरका अन्य भागमा पनि पुराना चोटका दाग थिए ।
२२ वर्षीय श्रीमानले मादक पदार्थ सेवन गरी पटक–पटक कुटपिट गर्ने गरेको कर्मकन्याको भनाइ छ । यसअघि पनि हिंसा दोहोरिँदा परिवारले घरबार नबिग्रियोस् भन्ने आशामा पटक–पटक मिलापत्र गराएर उनलाई श्रीमान्को घर पठाएको थियो । तर, मिलापत्रले हिंसा रोक्न सकेन ।
कर्मकन्याका दाइ सुनजित वडका अनुसार यसपटक बहिनीलाई गम्भीर घाइते अवस्थामा अस्पताल ल्याउनुपरेको हो । पीडित परिवारले श्रीमान् उमेश र सासू धौली त्रिरुवाको समेत घटनामा संलग्नता रहेको आरोप लगाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय जुम्लामा ज्यान मार्ने उद्योगसम्बन्धी उजुरी परेपछि प्रहरीले उमेशलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरेको जनाएको छ । उपचारपछि कर्मकन्या अहिले माइतीघरमा छिन् ।
यो घटना जुम्लामा महिला हिंसाको एउटा उदाहरण मात्र हो । दिमाआमा घर जुम्लाकी अध्यक्ष दिलमाया शाहीका अनुसार पछिल्लो डेढ वर्षमा महिला हिंसासम्बन्धी ४५ घटना संस्थामा पुगेका छन् । तीमध्ये १२ घटनामा मिलापत्र गरिएको छ भने अन्य घटनामा बहुविवाह, यौन शोषण र बलात्कारजस्ता प्रकृति देखिएका छन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकले पनि हिंसाका घटना उल्लेख्य रहेको देखाउँछ । आर्थिक वर्ष २०८१/८२ मा घरेलु हिंसाबाट ६६ महिला र तीन बालिका पीडित भएका थिए । सामाजिक हिंसातर्फ ५१ महिला र सात बालिका पीडित भएका थिए । आर्थिक वर्ष २०८२/८३ मा घरेलु हिंसाका पीडित महिला ९२ पुगे भने सामाजिक हिंसाबाट ७२ महिला र आठ बालिका पीडित भए । चालु आर्थिक वर्ष २०८३/८४ मा हालसम्म घरेलु हिंसाबाट ३१ र सामाजिक हिंसाबाट २१ महिला पीडित भएका छन् ।
यौनजन्य अपराधका घटनासमेत प्रहरीमा दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा जबर्जस्ती करणीका १४ र बहुविवाहका १४ घटना दर्ता भएका थिए । २०८२/८३ मा जबर्जस्ती करणीका नौ र बहुविवाहका चार घटना दर्ता भए । चालु आर्थिक वर्षमा हालसम्म जबर्जस्ती करणीका दुई र बहुविवाहका पाँच घटना दर्ता भएका छन् ।
यही अवस्थाबीच बुधबारदेखि जुम्लासहित देशभर १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सुरु भएको छ । यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको प्रतिबद्धता’ रहेको छ । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले सदरमुकाममा सेतो रिबन बाँधेर र्याली आयोजना गरेको थियो ।
तर, अभियानलाई सदरमुकामका कार्यक्रम र गोष्ठीमा मात्र सीमित राख्न नहुने आवाज उठेको छ । सिंजा गाउँपालिका–३ की धनलक्ष्मी धितालका अनुसार गाउँका महिलासम्म अधिकार, संरक्षण र न्यायिक उपचारसम्बन्धी जानकारी पर्याप्त रूपमा पुग्न सकेको छैन । पीडितको घरदैलोमै पुगेर संरक्षण र न्यायको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
यसैबीच, सिंजा गाउँपालिकाले बालबालिका, महिला तथा जोखिममा रहेका व्यक्तिको संरक्षणका लागि सेवा प्रदायक निकायबीच समन्वय बढाउने निर्णय गरेको छ । बालविवाह, घरेलु हिंसा र यौन हिंसाको जोखिममा रहेकाको पहिचान गरी स्वास्थ्य, मनोसामाजिक तथा कानुनी सेवामा पहुँच सुनिश्चित गर्ने योजना अघि सारिएको छ ।
संयुक्त राष्ट्रसंघीय महासभाको निर्णयअनुसार हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिने अभियान सञ्चालन हुँदै आएको छ । तर, अभियानका क्रममा गरिने प्रतिबद्धता व्यवहारमा कार्यान्वयन नभएसम्म जुम्लाका महिलाका लागि न्याय अझै चुनौतीपूर्ण रहने देखिन्छ ।
प्रकाशित: १० मंसिर २०८३ १९:५४ बिहीबार