समाज

फागुनसम्म घरेलु तथा साना उद्योगमार्फत १५५ जनाले पाए रोजगारी

थपिए ४१ नयाँ उद्यमी

चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा घरेलु तथा साना उद्योग कार्यक्रममार्फत १ सय ५५ जनाको रोजगारी सृजना भएको छ।

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख लक्ष्मी सुहाङका अनुसार चालु आवको यो अवधिसम्ममा ४१ जना नयाँ उद्यमी सृजना भएका छन्। सुहाङका अनुसार चालु आवमा उद्योगतर्फ ४१ र वाणिज्यतर्फ १८ वटा दर्ता हुँदा उद्योगतर्फ १ सय ६० र वाणिज्यतर्फ ८४ वटाको नवीकरण भएको छ। उद्योगतर्फ अहिलेसम्म ठाउँसारी र उद्देश्य थप भएका छैनन् भने वाणिज्यतर्फ एक–एक वटाको ठाउँसारी र उद्देश्य थप भएको कार्यालयले जनाएको छ।

उद्योगतर्फ ४ वटाको पुँजी वृद्धि, २ वटाको नाम परिवर्तन र ३ को नामसारी र ३ वटाकै लगत कट्टा भएको छ। वाणिज्यतर्फ भने ७ वटाको लगत कट्टा बाहेक पुँजी वृद्धि, नाम परिवर्तन, नामसारी र प्रतिलिपिका कुनै कारबाही नभएको उद्योग अधिकृत सुहाङले जानकारी दिए।

आर्थिक वर्ष २०८१/८२ मा भने ताप्लेजुङमा ४ सय १७ जनाको रोजगारी सृजना भएको थियो। सो आवमा १ सय ३ जना उद्यमी सृजना भए। सो आवमा ९२ वटा नयाँ उद्योग समेत थपिएको सुहाङले जानकारी दिए। १ सय ८४ उद्योगले नवीकरण गरे भने २ वटा उद्योगको ठाउँसारी, ६ वटाको नामसारी, ५ को उद्देश्य थप र ८ को गलत कट्टा भयो। यो उद्योग प्रशासनतर्फको अभिलेख हो।

वाणिज्य प्रशासनतर्फ भने आव २०८१/८२ मा १६ वटा उद्योग खारेजीमा परे। २३ वटा फर्म दर्ता हुँदा १ सय ५ वटाको नवीकरण भयो। १–१ वटा उद्योगको नामसारी र उद्देश्य थप हुँदा वाणिज्य प्रशासनतर्फ कुनै पनि फर्मको ठाउँसारी भएन।

प्रकाशित: १७ चैत्र २०८२ १५:०२ मंगलबार