चित्राङ्गडको जीवनचक्र अन्य धेरै चराका तुलनामा निकै फरक र रोचक छ। यो चरा विशेषगरी आद्र्रभूमि, खोला, पोखरीछेउका झार आदि क्षेत्रमा बसोबास गर्छ।
चित्राङ्गडहरू सामाजिक रूपमा उल्टो लिंगी भूमिकाका लागि प्रख्यात छन्। अन्य धेरै चराको जीवनशैली हेर्दा पोथीले अन्डा कोरल्छ र चल्लाहरू हुर्काउने जिम्मेवारी लिन्छ।
चित्राङ्गडमा यो भूमिका भालेले लिन्छ। जब पोथी चित्राङ्गडले अन्डा पार्छ, त्यसपछि ऊ भालेलाई जिम्मा दिएर जोडी खोज्न जान्छ।
भाले चित्राङ्गडले अन्डा कोरल्छ, चल्ला बाहिर आएपछि न्यानो राख्छ र उनीहरूको हेरचाहमा पूर्ण समर्पित हुन्छ। अन्डा कोरल्ने, ओथारो बस्ने, चल्ला हुर्काउने सम्पूर्ण प्रक्रिया भालेले नै गर्छ।
चल्लाहरू विकसित भएर जन्मिन्छन्। तिनीहरू जन्मिएलगत्तै हिँड्न सक्ने हुन्छन् र केही समयमै खाना खोज्न पनि थाल्छन्।
सुरुका दिनमा भालेले चल्लालाई झार, पानीको छेउछाउमा लैजाने, उनीहरूलाई खाना खुवाउने र आवश्यकतानुसार आफ्नो पखेंटामुनि न्यानो गरेर राख्ने काम गर्छ। साधारणतया एक हप्तापछि चल्ला आफैंले खाना खोज्न सिकिसकेका हुन्छन् र बिस्तारै स्वतन्त्र बन्छन्। तर, तिनीहरू अझै केही हप्ता भालेको संरक्षणमा रहन्छन्।
चित्राङ्गडको जीवनशैलीले प्रजनन भूमिकाबारे परम्परागत धारणा उल्टाउँछ र जैविक विविधताको सुन्दर उदाहरण प्रस्तुत गर्छ। यो प्रजनन रणनीतिका दृष्टिले निकै अनौठो र अध्ययनयोग्य पक्ष हो। यी तस्बिर ललितपुरको धापाखेलमा खिचिएका हुन्।
प्रकाशित: १४ असार २०८२ १३:०७ शनिबार