समाज

आगामी आवमा गाईघाट-रौता सडक कालोपत्रे हुने

जिल्लाको पर्यटकीय तथा धार्मिकस्थल रौता पोखरीलाई सदरमुकामसँग जोड्ने सडक आगामी वर्षभित्र व्यवस्थित हुने अपेक्षा स्थानीयमा जागेको छ। कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षको प्रस्तावित नीति तथा कार्यक्रम र बजेटमा १५ करोड रुपैयाँ सुनिश्चित गर्ने प्रक्रिया अघि बढाएसँगै गाईघाट–रौता पोखरी सडक व्यवस्थित हुने आशा स्थानीयमा पलाएको हो।

सदरमुकाम गाईघाटदेखि ४८ किलोमिटर उत्तर रौतामाई गाउँपालिका–६ मा पर्ने रौतापोखरी जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा परिणत हुँदै गएको छ। तर त्यहाँसम्म आउजाउ गर्ने हालसम्म आधा दुरीको बाटो मात्र राम्रा भए पनिआधा कच्ची ट्र्याक नै भएकाले वर्षामा हिलाम्य र हिउदमा धुलोले आउजाउ गर्न बडो कठिन छ।

पहाडको टुप्पोमा सफा जलाशय (पोखरी) र छेउमै  प्रसिद्ध रौतारानी मन्दिर पनि भएकाले धार्मिक स्थलका रूपमा समेत यो ठाउँ उत्तिकै महत्त्वपूर्ण मानिन्छ। रौता पोखरीको पर्यटकीय तथा धार्मिक विकासका लागि साबिक आँपटार गाउँविकास समिति हुँदैदेखि धेरै प्रयास हुँदै आएको थियो।

तत्कालीन जिल्ला विकास समिति, पर्यटन मन्त्रालयलगायत सरकारी कार्यालयमार्फत गाविसले थुप्रै पटक पटके र ससाना योजनाहरू कार्यान्वयन गरे पनि सडक पूर्वाधारको आभावकै कारण विकासले ठोस आकार लिन सकेको थिएन। स्थानीय तह पुनःसंरचनापछि २०७४ मा रौतामाई गाउँपालिका कार्यान्वयनमा आएपछि भने बर्सेनि बजेट छुट्याएर पर्यटन प्रवर्द्धनको काम हुँदै आएको छ।

पर्यटनको प्रचुर सम्भावना बोकेको रौता पोखरीको विकास र प्रवद्र्धनको मुख्य बाधक सडक व्यवस्थाापन नहुनु नै हो। गाउँपालिकाले पोखरी व्यवस्थापन गर्नेदेखि मन्दिर पुनर्निर्माण, पूजाआजा गर्ने सेड (टहरा) देखि आगन्तुकलाई घुमफिर गर्न दुई किलोमिटर लामो चक्रपथ सिँढी र ठाउँठाउँमा मन्दिर र सालिक राखेर पर्यटक आकर्षण गराउने अवयवहरू निर्माण गरिसकेको छ।

यहाँ सडक राम्रो नभएकै कारण पर्यटक अडिन नसकेको ६ नम्बरका वडाध्यक्ष पृथ्वी राई बताउँछन्। उनले पर्यटकको सहजताका लागि वडा र गाउँपालिकाले थुप्रै पूर्वाधार  निर्माण गरिसके पनि मुख्य पक्ष सडक भएकाले पहिलो प्राथमिकता त्यसैलाई दिनुपर्ने बताए।

रौता पोखरीको एकीकृत विकास गर्ने लक्ष्यका साथ डेढ दशकअघि नै गठन भएर क्रियाशील रहँदै आएको ‘रौता धार्मिक संस्था’ले हालसम्म के कति बजेट रौता पोखरीको विकासमा खर्च भयो भन्ने यकिन हिसाब देखाउन सकेको छैन। पटकपटक गरी करोडौं रकम खर्च भइसकेको भए पनि विकासको ठोस चित्र भने संस्थाले देखाउन नसकेको स्थानीय बताउँछन्।

गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरलेरौता पोखरी क्षेत्रको यकिन गरी जमिन अतिक्रमण हुन नदिन तीन वर्षअघिदेखि फलामे घेराबार लगाइरहेको बताए। प्रदेश सरकारसँगको साझेदारीमा तीन करोड बढी लागतको फलामे घेराबार लगाउने काम आधा बढी सम्पन्न भइसकेको उनको भनाइ छ।

त्यसैगरी पर्यटक तथा भक्तजनलाई खाने बस्ने व्यवस्था गर्न प्रदेश सरकारकै सहयोगमा तीन तले आवास भवन (अतिथि गृह) पनि निर्माण गरेर सञ्चालनमा ल्याइसकेको उनले बताए।

गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग अन्तर्गत ३० किलोमिटर कालोपत्रे भइसकेको खाँबु रानीबासदेखि उत्तरतर्फ रौता पोखरी छुट्ने सडक साँघुरै भए पनि डहरसम्मको थप पाँच किलोमिटर पनि कालोपत्रे भइसकेको छ। तर डहरदेखि रौता पोखरीसम्मको सडक कच्ची मात्र भएकाले धेरै यात्रु रौता पोखरी हिँडे पनि गन्तव्य नपुगी फर्कन बाध्य हुँदै आएका छन्।

 डेढ दशकअघि नै यातायात सञ्चालनमा आए पनि आवश्यक बजेट अभावमा सडक स्तरोन्नति हुन नसक्दा बर्सेनि वर्षायाममा हिलो र हिउदमा धुलोको सामना गर्दै यात्रा गर्नुपर्ने बाध्यता छ। प्राय हरेक वर्ष मर्मत गर्ने नाममा बजेट आए पनि नगन्य मात्रामा आउने भएकाले सडक व्यवस्थित गर्न नसकिएको स्थानीय कमल राई बताउँछन्।

उनका अनुसार उकालो ओरालो सडकमा गिटी बालुवाको ग्राभेल हालेर मर्मत गर्ने गरे पनि वर्षायाममा बगाएर जस्ताको तस्तै बनाउने समस्याले सडक व्यवस्थित हुन नसकेको हो।

डहरदेखि १३ किलोमिटर सडक स्तरोन्नति गर्न गत आव २०८०/८१ मा प्रदेश सरकारले दिएको एक करोड बजेटमध्ये ८२ लाखमा टेन्डर लागेर ३ सय ५ मिटर सडक स्तरोन्नति गरिएको छ। केएनयस/दाहाल निर्माण सेवा जेवीले डहरको रमितेदेखि अँधेरी खोलासम्मको ६० मिटर, बाँसझाङ–चौतारा खण्ड ४० मिटर र बाँझबिरमा दुई सय पाँच मिटर स्तरोन्नति गर्न ढलान गरेको थियो।

चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारकै तीन करोडबाट एक करोड १७ लाखमा काम गर्ने गरी चार सय ३६ मिटर सडक ढलान गर्ने काम भइरहेको छ। हतपते कन्ट्रन्सन सिन्धुलीले सो कार्य यही असार १३ गतेसम्ममा बनाइसक्ने गरी ठेक्का सम्झौता गरेको छ।

अँधेरी खोलादेखि उत्तरतर्फ ६६ मिटर, रमितेभन्दा माथिका दुई खण्डमा क्रमशः एक सय ५० मिटर र एक सय २० मिटर ढलानको काम अन्तिम चरणमा पुगेको छ। कन्ट्रक्सन प्रतिनिधि लोकनाथ अधिकारीका अनुसार तोकिएको म्यादभित्रै सम्पन्न गरेर जिम्मा लगाउने गरी काम भइरहेको छ।

डहर–रौता पोखरी खण्डको सडकमा सात सय ३३ मिटर सडक चट्टानैचट्टानयुक्त निकै भिरालो, अप्ठेरो र उकालोमा ढलान गरिएको छ। अप्ठेरो ठाउँमा चालु वर्ष नै ढलान भइसकेकाले आगामी वर्षको बजेटबाट सँगै आगामी वर्षदेखि डहरदेखि कालोपत्रे सुरु गरिने भएको छ।

प्रकाशित: २ असार २०८२ ०९:४७ सोमबार

# Nagarik # Rautapokhari