समाज

सवारी दुर्घटनामा भलिबल प्रशिक्षकको मृत्यु

उदयपुरका भलिबल प्रशिक्षकको सवारी दुर्घटनामा मृत्यु भएको छ। शनिबार बिहान मदन भण्डारी लोकमार्गको सुपाडे–रामपुर खण्डमा पर्ने बेलका नगरपालिका–९ रङ्गलक्ष्मी पेट्रोलपम्प नजिक दुर्घटनामा ४५ वर्षीय नवीन राईको मृत्यु भएको हो।  

बुद्धचोकबाट रामपुरतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प १९१३ नम्बरको मोटरसाइकलमा सवार राई कल्भर्ट नजिक बेहोस अवस्थामा भेटिएका थिए। सडक छेउमा लडिरहेको देखेपछि बिहान ६:०० बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय रामपुरको टोलीले उद्धार गरी उपचारका लागि लैजान खोज्दा उनको मृत्यु भइसकेको पाइयो।  

बेलका नगरपालिकाका खेल प्रशिक्षक राईले नगरभरिका विद्यालय र क्लबमा भलिबल प्रशिक्षण दिँदै आएका थिए। शुक्रबार दिउँसो बेलका–४ मा रहेको जनता माध्यमिक विद्यालय गुरुङचौरीका विद्यार्थीलाई भलिबल सिकाएर साँझ घर फर्केका थिए। ‘दिउँसो भलिबल सिकाइरहनुभएको थियो,’ स्कूलकी छात्रा लेजिना चामलिङले भनिन्, ‘आज बिहानै यस्तो दुखद खबर सुन्नुपर्‍यो।’  

इलाका प्रहरी कार्यालय रामपुरको टोलीले घटनास्थलको सर्जमिन मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमका लागि बेलका नगर अस्पताल पठाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित: ३१ जेष्ठ २०८२ १२:२७ शनिबार

#NagarikNews