नेपालको हिमाली भेग, जहाँ हिउँसज्जा वातावरणले स्वर्गीय दृश्य दिन्छ, त्यहीँ पाइने एक आकर्षक र दुर्लभ पन्छी हो– चिलिमे। यसलाई अंग्रेजीमा ‘ब्लड फेसन्ट’ भनेर चिनिन्छ। यो नाम राखिनुमा यसको छाती वरिपरि देखिने रगतजस्तै रातो धर्साको ठुलो भूमिका छ, जसले यस पन्छीलाई अरूभन्दा फरक र विशिष्ट बनाएको छ।
विशेषगरी लाङटाङ, गोसाइँकुण्ड, सोलुखुम्बु, मकालु, कलिञ्चोक, राराजस्ता हिमाली क्षेत्रमा ३२ सय मिटरदेखि ४७ सय मिटर उचाइसम्म पाइने चिलिमे प्रायः घना झ्याउ, लालीगुराँसको जङ्गल, डालेघाँस र पतझरका बुट्यानहरूले भरिएको भूभागमा बसोबास गर्छ। यिनीहरू हरियो मौसमी वनस्पतिको संरक्षणमा लुकेर बाँच्ने गर्छन्। प्राकृतिक सिमसार र उच्च पहाडी जंगलहरू नै तिनका प्रिय आवास हुन्।
भाले चिलिमे रंगीन हुन्छ– सेतो, हरियो, खैरो र गाढा रातो रङको संयोजनले सजिएको यसको शरीर अत्यन्त आकर्षक देखिन्छ। पोथीहरू भने अलि धमिलो र खैरो रङका हुन्छन्। लजालु स्वभावका यी पन्छी प्रायः जोडीमा या सानो समूहमा देखिन्छन् र मानिस देख्नासाथ झाडीभित्र लुक्न जान्छन्।
यिनीहरूको आहार झ्याउ, साना किरा, वनस्पतिको जरा, मौसमी फलफूल र फूलका भाग हुन्। प्रजननकाल वैशाखदेखि असारसम्म हुने गर्छ र माटाको खोँचमा चारदेखि ६ वटा अन्डा कोरल्छन्।
हालका वर्षहरूमा वासस्थानको विनाश, जलवायु परिवर्तन र मानवीय गतिविधिका कारण चिलिमेको सङ्ख्या घट्दै गएको छ। यही कारण अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) ले यसलाई ‘निकट सङ्कटग्रस्त’ श्रेणीमा राखेको छ। यसको संरक्षणका लागि प्रभावकारी कदम चाल्नु जरुरी भएको छ, विशेषतः यसको प्राकृतिक वासस्थान सुरक्षित राख्नुपर्छ।
३५ सय ५० मिटर उचाइमा रहेको लाङटाङ राष्ट्रिय निकुञ्जको गोसाइँकुण्डको चोलाङपाटी क्षेत्रमा चिलिमेका यी तस्बिर कैद गरिएका हुन्। हरियाली डालेघाँसबिच रङ्गीन पखेटा फिजाउँदै हिँडिरहेको चिलिमे हिमाली शान्तिदूतझैँ देखिन्छ। यस्तो अनुपम दृश्यले नेपालको जैविक धरोहरको स्मरण गराउँछ, तर संरक्षणप्रति हाम्रो जिम्मेवारी पनि बोध गराउँछ।
यसरी हेर्दा चिलिमे केवल एउटा पन्छी मात्र होइन, यो नेपालको हिमाली पहिचान, प्रकृतिप्रेम र जैविक विविधताको जीवन्त प्रतीक पनि हो। यसको संरक्षणमा हामी सबैको सरोकार हुनु आवश्यक छ।
प्रकाशित: २४ जेष्ठ २०८२ १०:३२ शनिबार