समाज

आइसीटीबाट शिक्षण गर्दै दुर्गमका विद्यार्थी

कुनै समय संस्कृत जानेका मानिस गाउँभरका विद्वानका रूपमा कहलिन्थे। संस्कृतका श्लोक अध्ययन र वाचन गर्ने मानिसको छुट्टै ख्याति थियो। विस्तारै संस्कृतलाई पश्चिमा सभ्यताबाट आएको अंग्रेजी भाषाले छायामा पार्‍याे।

अंग्रेजी नजाने जीवनभर पछि परिन्छ भन्ने सोचको विकास हुन थाल्यो। विद्यालयदेखि उच्च शिक्षा तहसम्म अंग्रेजी भाषाबाट अध्ययनअध्यापन हुने क्रम चल्यो। अभिभावकहरू सकीनसकी आफ्ना छोराछोरीलाई अंग्रेजी पढाउन निजी विद्यालयमा भर्ना गरिदिन्थे तर अहिले अलि फरक अवस्था देखिन थालेको छ। अब अंग्रेजी जानेर मात्रै कुनै काममा योग्य हुने अवस्था रहेन।

अहिले जताततै डिजिटल शिक्षाको अवधारणा फैलिरहेको छ। सूचना प्रविधिमा अभ्यस्त भएका मानिस मात्र यो युगमा साक्षर र सबल बन्न सक्ने अवस्था सिर्जना भएको पाइन्छ।

प्रविधिक उपकरण चलाउन नजाने अरू कुरामा जति नै पोख्त भए पनि सफलता पाउन नसक्ने मान्यता स्थापित हुँदै आएको छ। डिजिटल दुनियाँमा आफूलाई पनि त्यसै अनुरूप बदल्नुपर्छ नत्र शैक्षिक योग्यता भए पनि हामी ‘अनपढ’ जस्तै बन्न पुग्छौं।

यो तितो सत्य कुरा हो। परम्परागत शैक्षिक सामग्री र शिक्षण विधि विस्थापन गर्न जगत नै डिजिटल शिक्षा प्रणालीको अभ्यासतिर प्रवेश गरिरहेको छ। यो आधुनिक शैलीको प्रणालीबाट पठनपाठन गराउन अपरिहार्य छ।

यस्तै जुम्लाको दुर्गम गाउँको एक सामुदायिक विद्यालयले शिक्षण सिकाइमा डिजिटल प्रविधिको प्रयोग गर्न थालेको छ। पातारासी गाउँपालिका - ४ काे ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरले आईसीटीबाट शिक्षण गराउन थालेको हो।

विद्यालयको गुणस्तरमा परिवर्तन ल्याउने उद्देश्य छ। पहिलोपटक शिक्षामा प्रविधि (आईसीटी) को प्रयोगलाई प्रश्रय दिइरहेको छ। उक्त गाउँपालिकामा १६  सामुदायिक विद्यालय छन्। जसमध्ये निमावि ६, मावि ६ र ४ वटा प्रावि छन्।

अहिले साढे ५ सयभन्दा बढी विद्यार्थी छन्। आधारभूत तहदेखि माध्यमिक तहसम्म पढाइ हुन्छ। पातारासी क्षेत्रकै एक पुरानो विद्यालय हो। डिल्लीचौर २०१७ सालमा स्थापना भएको थियो।

यो विद्यालय मानवशास्त्र डोरबहादुरसँग साइनो गाँसिएको छ। यहाँका नागरिकलाई अघि बढाउन शिक्षामा योग्दान रहेको बुढापाका बताउँछन्। विष्टले जापानको विद्यालय चिबा मितोकु जुनेर एण्ड सिनियर हाइस्कुल र ऋणमोक्ष मावि बिच भगिनी सम्बन्ध गाँसेका थिए। २०५१ सालतिर यो चिबा मितोकु जुनेर एण्ड सिनियर हाइस्कुल दिदी र ऋणमोक्ष बहिनीको सम्बन्ध अहिलेसम्म कायमै छ।

जापानको विद्यालयका शिक्षकहरू बेलाबखत अवलोकन गर्न पुग्छन्। स्कुललाई १ लाख बढी बजेट सहयोग गरिरहेको छ। पुरानो इतिहास बोकेको यो विद्यालय अहिले भने आधुनिक प्रणाली मार्फत शिक्षा क्षेत्रमा क्रियाशील हुँदै छ। “हामी अहिले शिक्षामा प्रविधिको अधिकतम प्रयोग गरी शैक्षिक सुधारतर्फ लागिरहेका छौं,” विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर बुढा भन्छन्, ”यही जेठ २१ गतेदेखि आईसीटीको प्रयोग गर्न थालिएको हो।“

शिक्षण पद्धतिमा थप सुधार हुनेछ,” उनले भने, “शिक्षक र विद्यार्थीकाे पर्याप्त अन्तर्क्रियासँगै पाठ्यक्रमसँग सम्बन्धित अन्य सन्दर्भ सामग्रीबारे पनि ज्ञान हासिल गर्न सकिन्छ।

पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोराले आईसिटीको उद्घाटन गरेका थिए। उनले जिल्लाका अन्य विद्यालयले पनि सिको गर्नुपर्ने बताए। शिशाको लगानीले दिगो विकासमा टेवा पुग्नेछ।”

आईसीटीको प्रयोगले समग्र विद्यालयकै शिक्षामा गुणस्तर ल्याउने छ। अब प्रविधिबिनाकाे शिक्षण सिकाइ प्रक्रिया अपुरो जस्तै बनेको छ। विद्यार्थीको सिक्ने शैली फेरिएको छ।”

आईसीटीमार्फत विद्यार्थीले कुनै पनि कुरा सजिलै र रोचक हिसाबले सिक्न सक्ने छन्। सबै कक्षाकोठामा सिसीक्यामेरा जाेडेकाे छ। शैक्षिक सुधारका लागि, “अब परम्परागत सिकाइले शिक्षामा गुणस्तर ल्याउन सक्दैन।“ विद्यार्थी नयाँनयाँ कुरा सिक्न सक्ने भएको हुँदा यो शिक्षण विधि प्रभावकारी छ”, बुढाले भने।

शिक्षण सिकाइ क्रियाकलापमा सहज र विद्यार्थीको आचरण र आनीबानीमा पनि परिवर्तन आएको छ। प्रविधिको प्रयोग गर्दै पठनपाठन हुन थालेपछि विद्यार्थी पढाइमा उत्साहित देखिएका हुन्। अहिले विद्यार्थी अनुशासित र सिर्जनशील भएकाे कक्षा ६ की छात्रा संगिता बुढाले बताइन्।

प्रविधिको अधिकतम् प्रयोग गर्दै पठनपाठन सुरु गरेसँगै निजी विद्यालय त्यागेर आउने विद्यार्थी धेरै छन्। सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किएको आरोप झेलिरहेका कतिपय सामुदायिक विद्यालयका लागि यो विद्यालय प्रेरणादायी विद्यालयकाे रूपमा परिचित छ। अर्गानिक खाजा खुवाइन्छ। भटमास, सिमीको गेडागुडी, मकै र जुम्ली मार्सी चामलको जाउलो खुवाइन्छ। यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर बुढाकाे अनुसार विद्यालयमा मोबाइल प्रतिबन्ध गरिएको छ।

विद्यार्थीहरूले  पढाइ छाेडेर मोबाइलमै अलमलिएकाले मोबाइल प्रतिबन्ध गरेको हो। माेबाइल लैजाने विद्यार्थीलाई तीन हजार रुपैयाँ जरिवाना गरिन्छ। जरिवानास्वरूपको रकम एक साताभित्र सम्बन्धित विद्यार्थीको अभिभावक आएर विद्यालयमा जम्मा गर्नुपर्नेछ। अभिभावक नआए सो मोबाइल लिलाममा विद्यालयले नै बेच्ने गरेको छ।

’मोबाइल बेचेको रकमले विद्यार्थीको शैक्षिक सुधारमा लगानी गरिन्छ। अहिलेसम्म तीन विद्यार्थी जरिवानामा परेका छन्। विद्यालयमा मोबाइल प्रतिबन्ध गर्नु राम्रो काम भएको अभिभावक फुलमाया बुढाले बताइन्। शिक्षकले मोबाइल विद्यालयमा समयभित्र अनिवार्य साइलेन्टमा राख्नुपर्ने निर्णय छ।’

मोबाइल ल्याउने विद्यार्थीको वार्षिक परीक्षा समेत रद्द हुने निर्णय भएको अध्यक्ष चन्द्रबहादुरले बताए। यस्तै ईसिडीदेखि  ५ कक्षासम्म अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको छ। ती सबै कोठामा कम्युटरबाट पठाउने गरिएको छ भने माथिल्लो विद्यार्थीलाई प्रोजेक्टरका माध्यमबाट शिक्षण गर्ने गरिन्छ।  

प्रकाशित: २३ जेष्ठ २०८२ ११:३६ शुक्रबार

# Nagarik