समाज

महानगर विवाद र एसपी जोशीको काँधमा आइपुगेकाे ‘निमित्त प्रहरी कमान्डर’को जिम्मा

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डे निलम्बित भएपछि निमित्त प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक(एसपी) विष्णुप्रसाद जोशीको काँधमा आउने देखिएको छ। स्रोतका अनुसार जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिने निश्चित भइसकेको छ। नियुक्त पत्र भने भोलि(बुधवार) मात्रै दिइने र त्यसपछि मात्र उनले कार्यभार समाल्नेछन्। 

निलम्बित प्रमुख एसएसपी पाण्डेले चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेश गर्न रोक्न खोजेका थिए। उनले मेयर बालेन्द्र साह(बालेन)को मौखिक निर्देशनमा गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाउन खोजेको भनिएको छ। 

सोही विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले एसएसपी पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधेका थिए। महानगर प्रहरी ऐन, २०८० अनुसार नगर प्रहरी परिचालनको जिम्मा प्रमुख प्रशासकीय अधिकृतलाई नै दिएको छ। तर एसएसपी पाण्डेले सिधै मेयर बालेनसँग मात्रै परामर्श गरेर काम गरिरहेका थिए। 

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाएपछि स्पष्टीकरण सोध्नुपर्ने प्रसंग उठेको थियो। तर ढिलाइ गरेर जेठ ६ गते गुरागाईँले पाण्डेसँग स्पष्टीकरण मागेका थिए। 

स्पष्टीकरणमा प्रशासकीय अधिकृतले प्रयोग गर्ने गाडीमा ह्विल लक गरिएको, कार्यालय प्रवेशमा अवरोध गरिएको, जनप्रतिनिधिलाई अमर्यादित व्यवहार गरिएको, प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा ताला लगाएको र हाजिर पुस्तिका कब्जामा लिइएको विषय सोधिएका थिए।  जसको जवाफ पाण्डेले जेठ १२ गते बुझाएका थिए।

यो विवादका बिचमा मेयर बालेनलले रुचाएका प्रहरी प्रमुख पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले निलम्बन गरेर हटाएपछि महानगरको विवाद नयाँ चरणमा पुगेको छ। यसले सिर्जना गर्ने तनाव कहाँसम्म पग्छ सहजै भन्ने अवस्था छैन।  

अर्कातिर नयाँ नियुक्त भएर आउने प्रहरी प्रमुख जोशीलाई बालेनले कस्तो रूपमा लिन्छन् त्यो पनि चासोका साथ हेरिने विषय बन्ने देखिएको छ।

प्रकाशित: २० जेष्ठ २०८२ १७:२७ मंगलबार

#KTM Mahanagar Bibad