समाज

हिउँको काखमा आस्थाको मेला: गोसाइँकुण्डमा हजारौंको भीड

<br>

सबै तस्बिर: सुप्रदीप्त न्यौपाने/नागरिक

रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड यतिखेर दशहरा मेलाको आस्था र उल्लासले गुञ्जायमान बनेको छ।

समुद्री सतहदेखि ४,३८० मिटर उचाइमा रहेको यस पावन भूमिमा दैनिक हजारौंको संख्यामा श्रद्धालु भक्तजन र पर्यटकहरूको ओइरो लाग्ने गर्छ।

शुक्रबारसम्म चल्ने यो मेलापछि उक्त क्षेत्रलाई थप आकर्षक र व्यवस्थित बनाउन १०८ शिवलिङ्ग स्थापना लगायतका महत्वाकांक्षी योजना अघि सारिएको छ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ मा अवस्थित यस अनुपम तीर्थस्थलमा श्रद्धालुहरूले पवित्र जलमा पुण्य स्नान गर्ने, पूजाआजा गर्ने तथा विभिन्न धार्मिक अनुष्ठानमा भाग लिइरहेका छन्।

यस धार्मिक तथा सांस्कृतिक महत्व बोकेको मेलाले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई समेत आकर्षित गरेको छ।

दशहरा मेलाको समापनसँगै गोसाइँकुण्ड क्षेत्रको धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकासका लागि विशेष पहलकदमी अघि बढाइने भएको छ।

गोसाइँकुण्ड नीलकण्ठ महादेव १०८ शिवलिङ्ग संरक्षण समाजका सचिव रामेश्वर बिडारीका अनुसार, मेला सम्पन्न भएलगत्तै यस पवित्र स्थलमा १०८ वटा शिवलिङ्ग स्थापना गर्ने, पुजारीहरूका लागि कुटी निर्माण गर्ने, अखण्ड धुनी सञ्चालन गर्ने र वीर अमरसिंह थापाले साधना गरेको ऐतिहासिक गुफाको मर्मतसम्भार तथा संरक्षण गर्ने विस्तृत योजना रहेको छ।

सचिव बिडारीले यी प्रयासहरूमार्फत गोसाइँकुण्ड क्षेत्रलाई नेपालकै एक प्रमुख धार्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने समाजको लक्ष्य रहेको सुनाए।

यस्ता योजनाले यस क्षेत्रको धार्मिक महत्वलाई थप उजागर गर्नुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।

सबै तस्बिर: सुप्रदीप्त न्यौपाने/नागरिक

प्रकाशित: १८ जेष्ठ २०८२ २२:१० आइतबार