जुम्लाको तिला गाउँपालिका-६, घोडे गाउँकी ६४ वर्षीया काली रोकाया गाउँमै अन्न पिस्ने मिल सञ्चालन भएपछि खुसी छन्। पिठो पिस्न तीन घण्टा पैदल हिँडेर घट्ट जानुपर्ने बाध्यता हटेपछि उनले राहत महसुस गरेकी छन्।
उनले भनिन्, ‘गाउँका मानिसलाई सधैं घट्टमा पिठो पिस्ने चिन्ता हुन्थ्यो, परिवारको एक सदस्यले पिस्न जाँदा पुरै दिन खर्चनुपर्ने समस्या थियो।’ अब यो समस्या समाप्त भएको उनी बताउँछिन्। ‘गाउँमै मिल बनेको छ, त्यहाँ अन्न पिस्न पाउँदा गाउँलेहरू निकै खुसी छन्,’ उनले थपिन्।
गाउँमा मिल नहुँदा तीन घण्टाको उकालो-ओरालो हिँडेर छिमेकी गाउँ सुडी, रिपी, तुही, रारालिहीका घट्टमा पुग्नुपर्थ्यो। कहिलेकाहीँ त छिमेकी जिल्ला कालिकोटको रतडासम्म पनि पिठो पिस्न जानुपरेको अर्की महिला जसु रोकाया सम्झिन्छिन्। टाढा गएर पिठो पिस्न जाँदा पनि पालो नपाउने समस्या उस्तै थियो। उनले भनिन्, ‘दसैं-तिहार, ठूलो वर्षा वा विवाहमा महिलाहरूको अनुहार मलिन हुन्थ्यो, तर मिलले हामीलाई खुसी दिएको छ।’
अहिले गाउँमै बनेको मिलमा पिठो पिस्ने मात्र नभई तेल पेल्ने काम पनि भइरहेको छ। हिउँदमा खोला सुक्दा र चैत, वैशाख, जेठमा खडेरीले घट्ट चल्न नसक्ने समस्या थियो। पालो कुरेर कहिलेकाहीँ राति घट्टमै बस्नुपर्ने अवस्था पनि अन्त्य भएको छ। गाउँमै सौर्य ऊर्जाबाट चल्ने मिल बनेपछि सहज भएको छ।
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रमको १५ लाख लगानीमा यो मिल बनेको हो। तिला गाउँपालिका-६ का वडाध्यक्ष जङ्ग रोकायाले गाउँमा मिल बनेपछि कामको बोझ घटेको बताए। उनले भने, ‘मकै, जौ, गहुँको पिठो पिस्न निकै समस्या थियो। अब समयको बचत भएको छ। पानीको मुहान सुक्दा घट्ट बन्द हुन्थे, तर अहिले मिलले गाउँलेलाई राहत दिएको छ।’
उनका अनुसार, घोडे गाउँका ७६ घरधुरी यो मिलबाट लाभान्वित भएका छन्। ‘पिठो पिस्ने काम घोडे गाउँलेले मात्र गर्न सकिन्छ, तर तेल पेल्ने र धान कुट्ने सेवा छिमेकी गाउँलेले पनि लिन सक्छन्,’ उनले भने।
प्रकाशित: १७ जेष्ठ २०८२ १३:१८ शनिबार