उदयपुरका एक वृद्ध पाँच दिनयता बेपत्ता छन्। जिल्लाको ताप्ली गाउँपालिका ४ ठानागाउँ स्थायी घर भई सदरमुकाम त्रियुगा नगरपालिका ११ गाईघाटमा रहेकी छोरीलाई भेट्न आएका ७८ वर्षीय कुलबहादुर राई गत ९ गतेदेखि बेपत्ता भएका हुन्।
जेठ ५ गते मात्र गाईघाट आएका राई गाईघाट निलो पुलस्थित छोरीज्वाईको खाजा पसलबाटै बेपत्ता भएका हुन्। ज्वाई हिमालसिँह राई बजार निस्केको र छोरी पसल बाहिर रहेका बेला विहान लगभग ९ बजेको समयमा एक्कासी हराएका राईको खोजीका लागि त्यतिबेलै जिल्ला प्रहरी कार्यालयमा खबर गरे पनि अहिलेसम्म अत्तोपत्तो छैन।
माओवादी मजदुर पार्टीका महासचिवसमेत रहेका ज्वाई हिमालसिँहका अनुसार ससुरा बुबाको खोजीमा छिमेकी, आफन्तजन, नरनाता र चिनजानका व्यक्ति सबैसँग सम्पर्क गर्दा पनि पत्तो लागेको छैन। ‘म कामले बजार निस्केँ, श्रीमती पनि थिइनन्, उहाँ पसलमै हुनुहुन्थ्यो,’ राईले भने, ‘आधा घण्टापछि फर्कंदा हुनुहुन्नथ्यो, धेरैतिर सोधीखोजी गर्दा पत्ता नलागेपछि प्रहरीमा खबर गर्यौँँ तर अहिलेसम्म फर्कनु भएन, कसैसँग सम्पर्कमा पनि आउनु भएको छैन।’
परिवारिक स्रोतका अनुसार वृद्ध अलि सुस्त मनस्थितिका थिए। गाउँको मान्छे सहर बजार आएपछि उसै पनि अल्मलिने समस्या हुने त्यसमाथि वृद्धवृद्धा जेष्ठ नागरिक भएकाले कतै अल्मलिएर अर्कै ठाउँ पुगेको हुसक्ने परिवारजनको आँकलन छ। तर, यतिका दिन बित्दासम्म कसैको सम्पर्कमा नआउँदा परिवारजनलाई पीडा बोध ज्वाईले बताए।
जिल्ला प्रहरी कार्यालय उदयपुरले पनि वृद्धको खोजी कार्य हुलियासहित जारी राखेको छ। तर, अहिलेसम्म कहीँकतै फेला नपरेको जनाएको छ। प्रहरी र आफन्तजनले वृद्धलाई कसैले कतै फेला पारे सम्पर्क गर्न मोबाइल नम्बर ९८६३७७९०५१/९७०३४२७०६५ समेत उपलबध गराएका छन्।
प्रकाशित: १४ जेष्ठ २०८२ १५:०५ बुधबार