ताप्लेजुङका स्थानीय तहले वर्षायाम अवधिभर गोलिया काठको ओसारपसारमा प्रतिबन्ध लगाउन थालेका छन् ।
प्राय कच्ची सडक मार्ग रहेको ताप्लेजुङमा वजनदार मालवाहक सवारी साधनले सडक क्षतिग्रस्त हुने भयका कारण बर्षायाम अवधिभर गोलियाको ढुवानीमा प्रतिबन्ध लगाउन थालेका हुन् ।
फुङलिङ नगरपालिकाले भदौ मसान्तसम्म गोलियाको ओसारपसारमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलका अनुसार बर्षात्को समयमा हुन सक्ने बाढी पहिरोको जोखिम तथा मोटर बाटो क्षतिलाई न्यूनीकरण गर्न मुख्य सडक बाहेकका अन्य कृषि सडकमा भदौ मसान्तसम्म गोलियाको ओसारपसारमा प्रतिबन्ध गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ ।
उता सिरिजङ्गा गाउँपालिकाले यसअघि नै यसअघि नै जेठ १८ गतेपछि अर्को सूचना जारी नभएसम्म गोलिया ओसारपसारमा प्रतिबन्ध गर्ने निर्णय गरिसकेको छ । सिरिजङ्गाले गोलिया कटान वा घाटगद्दी गरेको भए जेठ १८ अगावै सो पालिका क्षेत्रका सडक मार्गबाट उठाई सक्न र उप्रान्त अर्को सूचना जारी नभएसम्म ओसारपसार गर्न नपाइने बताएको छ ।
पालिका अध्यक्ष लालकृष्ण चौहानले बर्षायाममा कच्ची सडकबाट गोलिया ढुवानी गर्दा सडक बिग्रने,भत्कने,खाल्डो पर्ने तथा पहिरो जाने जस्ता समस्या आउने तथा सडक बिग्रँदा र भत्कँदा यात्रुवाहक तथा खाद्यान्न सहितका समान बोकेका सवारीका आवत–जावतमा कठिनाइ हुने भन्दै गोलियाको ओसारपसारमा प्रतिबन्ध गरिएको जानकारी दिए ।
प्रकाशित: १४ जेष्ठ २०८२ ११:२० बुधबार