सदरमुकाम गाईघाट बजारमा निर्माणाधीन स्तरोन्नतिसहितको कालोपत्रे सडक कार्यमा ढिलाई भएको स्थानीयले गुनासो गरेका छन्। त्रियुगा नगरपालिकाद्वारा विश्व बैँकको ऋण सहयोगमा निर्माणाधीन १४.६४६ किलोमिटर सडक कालोपत्रेको काम म्याद सकिन लाग्दा आधा पनि नभएको स्थानीयको गुनासो छ।
नगरको ११ नं. वडा गाईघाट र बजारसँग जोडिएका १०, १२ र १३ नं. का विभिन्न सडक निर्माण भइरहेको ‘मेघा प्रोजेक्ट’ असार मसान्तभित्रै सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ । तर, अहिलेसम्म आधा पनि नभएको भन्दै आउँदो वर्षामा पुरै बजार हिलाम्य हुने चिन्ता स्थानीयलाई छ । जेठ आधा बितिसक्दासम्म आधा नभएको काम वर्षा सुरु भएपछि रोकिने भन्दै अहिलेसम्म नाला र सवबेस नै नभएकाले यो वर्ष हिलोमय हुने चिन्ता उनीहरुलाई छ ।
गाईघाट मुख्य चोक–पिपलचोक हुँदै सङ्गमटोल–बरुवा पुलसम्मको खण्ड, पुरानो बसपार्क–हिमाली टोल, बिपी चोक–नगरपालिका गेट–पेट्रोल पम्प खण्ड, बाबारानी मार्ग, नगरपालिका पछाडिको लाइनलगायत सडकहरू अहिलेसम्म सवबेससमेत हुन सकेको छैन । तत्कालीन टाउन प्लानिङ तथा त्यससँग जोडिएका बोक्सेतर्फ जाने र बजारको भित्री भाग छिर्ने सडकहरू पनि लगभग त्यही अवस्थामा छन् । अत्यन्त ढिलो काम भएको भन्दै सर्वसाधारणदेखि जनप्रतिनिधिसम्मले नगपालिका र सम्बन्धित ठेकेदारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
११ नं. का वडाध्यक्ष सुमन्त कोइरालाले काम ढिलो हुनुका साथै गुणस्तरीय नभएको गुनासो गरेका छन् । आफू पनि ठेकेदार पृष्ठभूमिबाटै आएको भन्दै वडाध्यक्ष कोइरालाले सदरमुकामजस्तो मुख्य बजारको काममा गुणस्तरहीन सामग्री प्रयोग र ढिला गरेर निर्माण व्यवसायीले लापरबाही गरेको बताए । आफ्नो वडाभित्रको काम भएकाले छिटो र गुणस्तरीय हुनुपर्ने भनेर ठेकेदार र नगरपालिकाको ध्यानाकर्षण गराएको उनले बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार कोइरालाका अनुसार नेपाल सरकारको ‘सहरी शासकीय तथा पूर्वाधार आयोजना (एनयुजिआईपी)अन्तर्गत सहरी सडक स्तरोन्नति कार्यका लागि विश्व बैँकको ऋण लगानीमा यो काम भइरहेको हो । ४ वडाभित्रको १४. ६४६ किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रेको काम आशिष आशीर्वाद÷स्वामीनारायण जेवीले मूल्य अभिवृद्धि कर (भ्याट)सहित ६६ करोड ११ हजार १ सय ४० रुपैँयामा दुई खण्डमा गर्ने गरी जिम्मा लिएको छ । हाकिम कोइरालाका अनुसार कालोपत्रे उच्च गुणस्तरको ४० मिलिमिटर बाक्लो अस्फाल्ट प्रविधिको हुने सम्झौतामा उल्लेख छ ।
११ नं. गाईघाट बजार र १० बोक्सेतर्फको खण्ड स्वामीनारायणले काम गर्दैछ भने १२ र १३ वडा हवाई फिल्डदेखि तल्लो भेगको काम आशिष आशीर्वादले गरिरहेको छ । तुलनात्मक रुपमा तल्लो खण्डको काम केही बढी भएको छ । हवाई फिल्डदेखि तलको भाग सवबेस सकेर बेसको काम भइरहेकाले छिट्टै कालोपत्रे हुने अपेक्षा गरिएको छ । बजार क्षेत्रको काम भने सवबेस नै नभएकाले म्यादभित्र काम सक्नेमा स्थानीयमा शङ्का उत्पन्न भएको हो ।
निर्माण कम्पनीले पहिलेको नाली भत्काउनु पर्ने, कालोपत्रे उप्काउनु पर्ने, विद्युत्को पुराना पोल उखालेर नयाँ गाड्नुपर्ने तथा खानेपानीको नाला व्यवस्थापन गर्नुपर्नेजस्ता समस्याले काम ढिला भएको कारण देखाइरहेको छ । त्यस्तै नाला बाङ्गाटिङ्गा र अग्लो होचो बनाउन बजार बासीको अनाहक दबाब र झमेला झेल्नुपर्दा पनि काम भनेजस्तो छिटो गर्न नसकेको ठेकेदारको दुखेसो छ ।
समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई सचेत गराएको छ । नगरप्रमुख बसन्त बस्नेतले ठेकेदार कम्पनी आशिष आशीर्वाद÷स्वामी नारायण जेभीलाई तोकिएकै समयमा गुणस्तरीय काम सम्पन्न गर्न सचेत गराएको बताएका छन् । जेठ पहिलो सातासम्म सडकको समग्र कामको भौतिक प्रगति ६५ प्रतिशत भएको र वित्तीय प्रगति ४९.१० प्रतिशत भएको प्रगति पनि मेयर बस्नेतले सुनाएका छन् । गुणस्तरको विषयमा सम्झौता नहुने भन्दै नगर उपप्रमुख र प्राविधिकको अनुगमन रिपोर्ट आएपछि मात्र भुक्तानी दिने उनले बताएका छन्।
प्रकाशित: १३ जेष्ठ २०८२ १३:३६ मंगलबार