समाज

छोरीको जन्मदर्ता बनाउन गएकी मिरासँग वडा सचिवले मागे ३ लाख घुस

जुत्ताको माला लगाउने र कालोमोसो दल्ने थाहा पाएपछि फरार

पोखरा महानगरपालिका वडा नम्बर–३ का वडा सचिव मोहन ढुंगानामाथि घुस मागेको आरोप लागेको छ । अदालतको आदेश अनुसार छोरीको जन्मदर्ता गर्न र नागरिकताका लागि सिफारिस माग्न वडा कार्यालय पुगेका सेवाग्राही मिरा पुनसँग वडा सचिव ढुंगानाले ३ लाख घुस मागेको आरोप लागेको हो । घुस मागिएकी सेवाग्राही एकल महिला हुन् ।

जिल्ला अदालत र उच्च अदालत धाएको ६ वर्षपछि श्रीमानसँग उनको नाता प्रमाणित भएको थियो भने माना चामल भराउने आदेश आएको थियो । सोही आदेशका आधारमा छोरीको जन्मदर्ता लिन वडा कार्यालय पुगेकी उनलाई वडा सचिवले विभिन्न बहाना बनाएर डेढ महिना झुलाउँदै घुस मागेको आरोप छ । पीडित पुनका अनुसार वडा सचिवले प्रमाण र कागजात पुगेको भएपनि जन्मदर्ता र नागरिकता सिफारिसका लागि तीन लाख मागेका थिए ।

तर आफूसँग त्यत्रो रकम छैन भन्दा डेढ लाख रुपैयाँ दिएमा छोरीको जन्मदर्ता मात्रै भएपनि गराइदिने वचन दिए । तर त्यत्रो रकम पनि आफूसँग नभएपछि आफूले ५० हजार मात्रै दिन सक्ने बताएको तर त्यतिमा वडा सचिव नमानेको उनको दाबी छ । मैले ५० हजार मात्रै दिन सक्छु भनेँ,उनले भनिन्,‘तर त्यतिले पुग्दैन भन्दै डेढ महिना झुलाइरहे ।’ मैले के कागजात पुगेन र पैसा माग्नु भएको हो भनेर सोधे,उनले अगाडि थपिन्,‘मैले कागजात पुगेन भनेको छु र ? कागजात नपुगेको होइन, मिलाउन अलिकति रकम दिनुपर्छ मात्र भनेको हुँ भनेर वडा सचिव ढुंगानाले भन्नुभयो ।’

पीडित पुनले वडा सचिव ढुंगानाले आफूलाई घुससँगै मानसिक तनाव पनि दिएको गुनासो गरिन् । वडामा जाँदा मोबाइल लिएर जान नदिने तथा शरीर खानतलासी गर्नेसम्मको हर्कत गरेको उनको आरोप छ । वडा सचिवको कार्यकक्षमा जाँदा मोबाइल लिएर जानै नदिने,उनले भनिन्,‘मोबाइल थुतेर बाहिर नै राखिदिने, अनि शरीर पनि खानतलासी गरेर मात्रै भित्र जान दिने गरे ।’ घुस मागेको भ्वाईस रेकर्ड गर्छ कि भन्ने शंकाले मोबाइल राख्नेदेखि शरीर खानतलासी गरेको उनको भनाई छ । त्यति मात्र होइन वडा सचिवले गोप्य कुरा गर्न भन्दै रेष्टुरेण्टमासमेत भेट्न बोलाएर हजारौँको बिल तिराएको उनले बताइन् । पोखराको महेन्द्रपुल स्थित मारवाडी भोजनालयमा साँझ ५ बजेपछि बोलाए,उनले भनिन्,‘त्यहाँ बिना कारण बार्गेनिङ गर्दै राती ९ बजेसम्म राखे । बसुन्जेल मन परेका परिकारहरू खाए अनि निस्कने बेलामा एक झोला मिठाई पनि लगे ।’ उनले त्यो बसाइँमा मिठाईको मात्र ३ हजार १ सयको बिल तिरेको दाबी गरिन् ।

वडा सचिव ढुंगानाले घुस मागेको स्वीकारेका छन् । उनले बोलेको एक भिडियोमा आफू प्रलोभनमा परेको स्विकारेका हुन् । आफैले घुस नमागेको भन्दै उनले अगाडि भनेका छन्,‘सेवाग्राहीले नै पैसा दिन्छु भनेपछि लिन्छु मात्र भनेको हुँ । तर मैले त्यस्तो गर्नु हुँदैन थियो ।’

पीडित पुनले घुस काण्डमा वडाध्यक्ष प्रकाश उदास र वडाका अर्का कर्मचारी विकास पुनको पनि संलग्नता रहेको दाबी गरेकी छिन् । उनले भनिन्,‘पछिल्लो समय सबै कुरा विकाससँग गर्नु भन्नुहुन्थ्यो । अनि वडाध्यक्षलाईपनि भाग दिनुपर्छ भन्नुहुन्थ्यो ।’

यसैबिच, आइतबार वडा सचिव ढुंगानालाई जुत्ताको माला र कालोमोसो लगाउने प्रयास भएको छ । पीडित महिलालाई लिएर पुगेका पुन समाज र नेवा मिसा पुन: नदीपुर र तेर्सापट्टीका महिलाहरूले ढुंगानालाई जुत्ताको माला र कालोमोसो लगाउने प्रयास गरेका हुन् । तर वडा सचिव आफूमाथि दुर्व्यवहार हुने थाहा पाएपछि वडा छाडेर भागेको स्थानीय रजनी श्रेष्ठले बताइन् । अदालतले दिनु भनेर आदेश दिएपछि वडाले किन रोक्यो ? प्रश्न गर्दै उनले भनिन्,‘महिलाले न्याय पाउनु प¥यो । दोषीमाथि कारबाही पनि हुनुप¥यो ।’

वडाध्यक्ष प्रकाश उदासले भने घुस काण्डमा आफूलाई मुछ्नु बेकारको कुरा भएको बताए । घुस काण्डमा आफ्नो संलग्नता अस्वीकार गर्दै उनले भने,‘योबारे मलाई केहिपनि जानकारी छैन ।’ उनले आफूमाथि घुस मागेको प्रमाणित गरे जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताए । वडा सचिव आफैले घुस मागेको स्वीकारेको देखिएको भन्दै उनले भने,‘यदि यो सत्य हो भने वडा सचिव ढुंगानामाथि कारबाही हुनुपर्छ । मेरो पनि संलग्नता देखियो भने म माथि पनि कारबाही होस् । तर नाम जोडेर बदनाम मात्रै नगरियोस् ।’

वडा सदस्य नवीन लामाले घुस काण्डमा जो जो संलग्न हो ती सबैमाथि कारबाही हुनुपर्ने बताएका छन् । वडामा पहिलेदेखि नै घुस काण्ड चल्ने गरेको  हल्ला चलेको तर वडाध्यक्ष मौन बसेको भन्दै उनले आइतबार वडाध्यक्षको टेबलमा मुड्कीसमेत ठोकेका छन् । घुस काण्डले वडा नम्बर–३ को साथै समग्र जनप्रतिनिधिको बेइज्जत गरेको उनको भनाई थियो ।

वडा सचिव भागेपछि पीडित पक्षले दोषीमाथि कारबाही र पीडित महिलालाई न्याय दिन माग गरेका छन् । पीडित महिलाको छोरी निस्मा पुनको जन्मदर्ता र नागरिकताको सिफारिस गरिदिनुपर्ने पीडित पक्षकी शारदा प्रजूले बताइन् । त्यसमा वडाध्यक्ष उदास पनि सहमत भएका छन् । म पनि पीडित महिलाको न्यायको पक्षमा छु,उनले भने,‘नागरिकता सिफारिस र जन्मदर्ता मैले गर्ने होइन, नयाँ वडा सचिव आएपछि मिल्ने रहेछ भने दिनलाई भन्छु । वडा सचिव आउन ढिलाई हुने भयो भने महानगरको पञ्जाधिकारीले हेरेर पनि दिन सक्छ त्यसका लागि म पहल गर्छु ।’

प्रकाशित: ११ जेष्ठ २०८२ १८:४६ आइतबार

#NagarikNews #Pokhara News