सदरमुकाम गाईघाटमा वेश्यावृत्ति गरेको आरोपमा दुई होटल सञ्चालकसहित दर्जन बढीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ। वैशाख १६ र १७ गते गाईघाट बजारको पिपलचोकस्थित भ्यू प्वाईन्ट होटल र मकालु होटलमा वेश्यावृत्ति गरे/गराएको जाहेरीका आधारमा सञ्चालकसहित १३ जनामाथि कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार जारी गरेको प्रेस नोटमा साङ्केतिक नाम गाईघाट ८४ (क) र गाईघाट ८५ (ख)ले १३ वर्षीया नाबालिका छोरी साङ्केतिक नाम गाईघाट ८४ र १५ वर्षीया साङ्केतिक नाम गाईघाट ८५ लाई अवैध यौनधन्दामा लगाएको उजुरीका आधारमा पक्राउ गरी कारबाही अघि बढाइएको उल्लेख छ।
प्रहरी प्रेस नोटका अनुसार बालक साङ्केतिक नाम गाईघाट ८६, गाईघाट ८७ र जिल्ला झापा कन्काई नगरपालिका ४ परिवर्तित टोल स्थायी ठेगाना भई हाल त्रियुगा नगरपालिका ११ नेपाल पत्रकार महासङ्घ भवन नजिकै डेरा लिई बस्ने २० वर्षीय विक्रम तामाङ भन्ने विक्रम रणपहेली (दर्जी), सोही ठाउँ बस्ने १९ वर्षीया पूर्णिमा राई, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका ४ का २५ वर्षीय कुन्दन दासलगायत पक्राउ परेका छन्।
उनीहरूले पिपलचोकस्थित भ्यू प्वाईन्ट होटल र मकालु होटलमा लगेर विभिन्न अपरिचित पुरुषसँग यौन क्रियाकलाम (वेश्यावृत्ति)मा लगाएको प्रेस नोटमा उल्लेख छ। यस्तो कार्यप्रति वेश्यावृत्तिसँगै मानव बेचविखन तथा ओसारपसारको कानुन आकर्षित हुने हुँदा निजहरूविरुद्ध परेको जाहेरीका आधारमा जिल्ला प्रहरीले २०८२ वैशाखको विभिन्न मितिमा पक्राउ गरी अनुसन्धात अघि बढाइएको प्रहरीले जनाएको छ।
आरोपीहरू बिक्रम रणपहेली (दर्जी), कुन्दन दास, पूर्णिमा राई तथा मकालु होटल सञ्चालक त्रियुगा ११ का ३८ वर्षीय ललित भण्डारी, भ्यु प्वाईन्ट होटल सञ्चालिका त्रियुगा १० की २९ वर्षीया सम्झना मगर तथा ३ बालक र ५ बालिका गरी १३ जनामाथि अनुसन्धान भइरहेको छ। उनीहरूविरुद्ध मानव बेचविखन तथा ओसारपसार सम्बन्धी ऐन आकर्षित हुने भएकाले सोही अनुसार अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय उदयपुरमार्फत अभियोजन भई जिल्ला अदालत उदयपुरमा पेस गरिएको प्रेस नोटमा जनाइएको छ।
प्रकाशित: ८ जेष्ठ २०८२ १२:१३ बिहीबार