समाज

केपिलासगढीका ज्येष्ठ, अपांगता र अशक्तलाई गाउँमै राष्ट्रिय परिचयपत्र

खोटाङको केपिलासगढी गाउँपालिकाले ज्येष्ठ, अशक्त र अपांगता भएका नागरिकलाई गाउँमै पुगेर राष्ट्रिय परिचयपत्र दर्ता गराएको छ । गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसकेका ज्येष्ठ नागरिक, अपांगता र अशक्तलाई जिल्ला प्रशासनका कर्मचारीसमेतको टोली गाउँमा खटाएर राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था मिलाएको हो ।

राष्ट्रिय परिचयपत्र नहुँदा सामाजिक सुरक्षा भत्ता बुझ्न समस्यामा परेका लाभग्राहीलाई लक्षित गरी गाउँपालिकाले तीनदिने शिविर आयोजना गरी ज्येष्ठ नागरिक, अपांगता र अशक्त व्यक्तिहरूलाई गाउँमै परिचयपत्र बनाइदिएको अध्यक्ष समीर राईले बताए । उनका अनुसार तीन दिन लगाएर सञ्चालित शिविरबाट एक सय २४ लक्षित वर्ग गाउँमै सेवा लिन सफल भएका छन् ।

लक्षित वर्गलाई सहज सेवा दिने उद्देश्यले गाउँपालिकाले फरक–फरक तीन ठाउँमा केन्द्र तोकेर एक–एकदिने ‘राष्ट्रिय परिचयपत्र शिविर’ सञ्चालन गरेको थियो । स्थानीयहरू आफ्नै गाउँमा शिविर राखेर राष्ट्रिय परिचयपत्र बनाउन पाउँदा हर्षित भएका छन् । सामाजिक सुरक्षाभत्ताका लाभग्राहीलाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने नीति सरकारले लागु गरेपछि ज्येष्ठ नागरिक, अपांग र अशक्तलाई जिल्ला प्रशासन कार्यालयसम्म पुग्न समस्या परेको थियो ।

त्यसका लागि गाउँपालिकाले प्रशासन कार्यालय खोटाङसँग सहकार्य गरी तीनवटा केन्द्र तोकेर राष्ट्रिय परिचयपत्र बनाउन शिविर सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत सौधन राईले बताए । उनका अनुसार केपिलासगढीमा सामाजिक सुरक्षाभत्ताका लाभग्राहीको संख्या एक हजार आठ सय ७२ जना रहेकोमध्ये कतिपयले राष्ट्रिय परिचयपत्र बनाए पनि सदरमुकाम पुग्न नसक्ने ज्येष्ठ, अपांग र अशक्तहरू भने त्यत्तिकै थिए । 

सदरमुकाम दिक्तेलसम्म पुग्न नसक्नेहरूको विवरण संकलन गरी उनीहरूलाई पायक पर्ने तीन केन्द्र तोकेर सेवा दिइएको हाकिम राईले बताए । वैशाख १८, १९ र २० गते सञ्चालन गरिएको शिविरबाट सदरमुकाम जान नसकेर छुटेका सबै लाभग्राहीले राष्ट्रिय परिचयपत्र पाएको उनले बताए ।

पहिलो दिन बाक्सिला, सप्तेश्वर र बासपानीका लाभग्राहीलाई लक्षित गरी बाक्सिलास्थित वडा कार्यालयमा शिविर आयोजना गर्दा ४८ जना लाभान्वित भएका थिए । दोस्रो दिन १९ गते फेदी र खार्तम्छावासीलाई लक्षित गरी वडा कार्यालय खार्तम्छामा आयोजित शिविरबाट २१ जना तथा २० गते शनिबार सुङ्देलस्थित वडा कार्यालयको शिविरबाट दिप्सुङ र सुङ्देलका ५६ जना लाभान्वित भएको अधिकृत राईले बताए ।

शिविरमा जिल्ला प्रशासन कार्यालय खोटाङका पञ्जीकरण शाखा प्रमुख फनिन्द्र राई नेतृत्वको टोली डिभाइसजडित उपकरणसहित केपिलासगढी पुगेको थियो । शिविरमा खट्ने प्रशासन कार्यालयको टोलीलाई खाना, खाजा, आवास र आवश्यक कर्मचारीको व्यवस्था गाउँपालिकाले गरिदिएकाले सेवा प्रवाहमा सहज भएको प्रशासनका पञ्जीकरण शाखा प्रमुख राईले बताए ।

गाउँपालिका अध्यक्ष समीर राई र प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले १८ गते एक कार्यक्रमबिच उद्घाटन गरेको शिविर ज्येष्ठ नागरिक, अपांगता र अशक्तका लागि ठूलो राहत सावित भएको स्थानीयले बताए । आगामी दिनमा पनि यस्ता शिविर निरन्तर चलाइराख्न पनि उनीहरूले आग्रह गरेका छन् । शिविरमा छुटेका र अब थपिने लाभग्राहीका लागि आउँदो आर्थिक वर्ष यस्तै शिविर सञ्चालन गर्ने प्रतिबद्धता अध्यक्ष राईले जनाएका छन् ।

प्रकाशित: २२ वैशाख २०८२ ०९:४४ सोमबार

#राष्ट्रिय परिचयपत्र #NagarikNews