वर्षायाममा घरको शौचालयको फोहोर ढलमा मिसाउने खोटाङ सदरमुकाम दिक्तेल बजारवासीलाई स्थानीय एक युवाले त्यसो नगर्न अन्तिम चेतावनी दिएका छन्। ठूलो वर्षा भएको मौका छोपेर घरको शौचालय खोलेर ढलमा मिसाइदिने गर्दा बजार दुर्गन्धित हुनुका साथै वातावरण प्रदूषित हुने गरेको स्थानीयको गुनासोपछि त्यसो नगर्न युवाले चेतावनी दिएका हुन्।
बजारवासीले ठूलो वर्षाको मौका छोपेर हज खोलेर ढलमा मिसाइ दिँदा दुर्गन्ध बढ्नुका साथै वातावरण प्रदूषित हुने गरेको यसअघि नै पुष्टि भइसकेको छ। पानी दर्केको मौकामा यस्तो हर्कत गर्ने थाहा पाएर स्थानीय युवाहरूले त्यसो नगर्न यसअघि नै सचेत गराउँदै आएका थिए। तर, गएको वर्षामा पनि सुधार नआएपछि अब ‘एक्सन’मा उत्रने चेतावनी दिएको स्थानीय युवा सञ्जय राईले बताए।
खोटाङ खेलकुद प्रतिष्ठानका अध्यक्षसमेत रहेका कराते प्रशिक्षक राईले सदरमुकाम जस्तो सभ्य बजारका नागरिकको यस्तो ‘असभ्य गतिविधि’ गरेको थाहा पाउँदा बजारकै इज्जत गएको भन्दै ‘मौकामा छक्का हान्ने’ यस्तो प्रवृत्तिविरुद्ध बाध्य भएर नराम्रो कदम चाल्न लागेको चेतावनी दिएका छन्।
राईले सामाजिक सञ्जाल फेसबुकमा समेत चेतावनी दिएका हुन्। भीषण वर्षाका बेला केही घरधनीले शौचालयको हज ढलमा मिसाइदिने गर्दा बजार दुर्गन्धित र वातावरण प्रदूषित भएको भन्दै फेरि त्यसो नगर्न एक पटक अन्तिम चेतावनी दिएको बताएका छन्। ‘ठूलो वर्षा भयो कि दिक्तेलका केही घरधनीहरूले शौचालयको हज खोलेर ढलमा मिसाउने चलन पुरानै हो,’ राईले भने, ‘पहिला त यो हर्कत थाहा पाइएन, तर खोजीसोधी गर्दा घर धनीसमेत पत्ता लागिसकेको छ। त्यसैले यस्तो गैरजिम्मेवारपूर्ण अपराध नगर्न धनीहरूलाई मौखिक रूपमा आग्रह गरेकै हुँ।’ अहिले फेरि त्यस्तो कर्म दोहोरिएको उनले बताए।
यस्तो हर्कतविरुद्ध २०७४ को स्थानीयत सरकार प्रमुख र उपप्रमुखलाई लिखित निवेदन दिँदै कारबाही गर्न माग गरेको स्मरण गर्दै राईल जनप्रतिनिधिले त्यस्तो कदम रोक्ने मौखिक आश्वासन मात्रै दिएको तर, कारबाही नगरेको गुनासो गरे। अहिलेको नगर प्रमुख र उपप्रमुखलाई पनि यो कुरा जानकारी गराउँदै कारबाही गर्न माग गरे पनि बेवास्ता गरेको गुनासो उनी गर्छन्।
राईले यस्तो स्थानीय गृषित समस्या रोक्नुको साटो राष्ट्रिय अन्तर्राष्ट्रिय समस्याको उठान गर्नेतर्फ बढी चासो राख्ने नगरपालिकालाई निवेदन नदिई फेसबुकमार्फत घटना सार्वजनिक गरेको बताए।
‘यस्तो गलत हर्कतबारे स्थानीय सरकार जानकार छ, त्यसैल निवेदन नदिइ सञ्जालमार्फत सम्बन्धित घर धनीहरूलाई अन्तिम चेतावनी दिन्छु,’ उनी भन्छन्। उनले ४ बुँदे विकल्प अपनाउन पनि सुझाएका छन्। राईले शौचालयको हज सफा गर्न ‘सक्सन मेसिन’ प्रयोग गर्न सुझाउँदै त्यो किन्न लाग्ने ८ हजार रकम दिने घोषणा गरेका छन्। त्यसका लागि सम्पर्क गर्न आफ्नो मोबाइल ९८४२२६०६५६ सार्वजनिक गरेका छन्।
त्यो सुझाव नमानेर फेरि हज ढलमा मिसाएको फेला परे त्यस्ताको नाम, ठेगाना र तीनपुस्ते विवरण सार्वजनिक गरिदिने चेतावनी उनले दिएका छन्। उनले त्यस्तासँग सबैखाले युद्ध गर्न अग्रिम तयार रहेको पनि बताएका छन्। अलि उग्र भाषामा उनको चेतावनी आएको छ ‘फेरि त्यस्तो गर्नेलाई उसकै घरको भान्सामा हज खोलेर एक वर्षसम्म मिसाउँन तयार हुने हो?’
राईले मानवको नाममा २ खुट्टा टेकेर मात्र भौतिक रूपमा मान्छे, बुद्धि, व्यवहार र चरित्र भने जनावरजस्तो नगर्न चेतावनी दिएका छन्। २०५८ सालदेखि दिक्तेल बजार बस्दै आएको र बजारवासीलाई राम्ररी नियालिसकेको सचेत युवाको नाताले ९९ प्रतिशत बजारवासीको कर्मकाण्डबारे जानकार रहेको पनि बताए। उनले निर्दोष बजारवासीप्रति माफी माग्दै नरिसाउन आग्रह गरेका छन्। ढलमा हज मिसाउने घर धनीका छिमेकीहरूलाई यस्तो हर्कत गर्नेहरूको बारेमा सुटुक्कै जानकारी गराउन अनुरोध गरेका छन्।
प्रकाशित: २१ वैशाख २०८२ ०९:१२ आइतबार