समाज

असिनाले फूल झारेपछि स्याउ बगैँचा रित्तै

जुम्लामा गत बुधबार बेलुका परेको असिनाले स्याउ खेतीमा क्षति पुर्याएको छ। करिब आधा घण्टा असिना परेको थियो। जुम्लाको चन्दननाथ नगरपालिका, गुठिचौर, पातारासी र तातोपानी गाउँपालिकामा असिनाले स्याउ खेतीमा क्षति पुर्याएको हो।

'केही स्याउमा स–साना दाना लागिसकेको थियो। केही बिरुवामा चिचिला पलाउँदै थियो,' जुम्लाको गुठिचौर-३ दामदासे गाउँका नुर्बु लामाले भने, ‘यो वर्ष असिनाले स्याउमा ठुलो क्षति पुग्यो। किसान निकै दुखी छन्।’ लामाको बगैँचामा करिब एक हजार ५ सय स्याउ छन्। गत वर्षमात्रा ८ सय बिरुवा फलेका थिए। 'यो पटक राम्रो फल लाग्ने आश थियो। मौसम पनि अनुकूल देखिएको थियो,' उनले भने, ‘एकै पटक आएको असिनाले आशा निराशामा बदलिदियो।’

उनले गत वर्ष ८ लाख रुपैयाँको स्याउ बेचेको बताए। असिनाले वर्षभरिको दु:ख खेर गएको किसानहरू बताउँछन्। बगैंचाभरि स्याउका दाना र चिचिला मात्रै झरेका छन्। स्याउका बोट रित्तिएका छन्। 'असिनाले जिल्लाका अधिकांश किसानको स्याउ बगैँचामा धेरै मात्रामा क्षति पुगेको छ,' नोर्बुले भने, ‘पछिल्लो समयमा स्याउ जुम्लाको समृद्धिको आधार हो।’

केही दिनको बदलिँदो मौसमले कालो तुसारो लाग्ने र असिना पर्नाले जुम्ली स्याउमा समस्या देखिएको छ। यस्तै जुम्लाको पातारासीका गनबहादुर खत्रीको स्याउ बगैँचामा फूल झरेर भुइँ सेताम्मे छ। पहिले रुखमा फूल सेताम्मे देखिन्थे तर असिनाले झारेपछि हाँगा रित्तै छन्।

हिउँदमा खडेरीले हैरान किसान पछिल्लो समयमा नियमित पानी पर्दा खुसी थिए। गुठीचौर गाउँपालिकामा असिनाले झण्डै ६० लाख बढीको क्षति पुर्याएको वडा कार्यालयको तथ्यांक छ। नुर्बुका गाउँमा १५ वटा बगैँचा छन्। ति बगैँचाहरू बर्सेनि गाउँमा लाखौं भित्र्याउँछन्। असिना पानी र मौसमले क्षति पुगेका बिरुवाको गत वर्षसम्म बिमा हुने गरेको थियो। शिखर बिमा कम्पनीले स्याउको बिमा गर्ने गरेको थियो। यो वर्ष बिमा पनि गरिएको छैन। सबैभन्दा बढी क्षति पनि यही वर्ष भयो।

यता गुठीचौर गाउँपालिका-२ का वडाध्यक्ष दीपबहादुर ऐडीले असिनाले स्याउ किसान निराश देखिएको बताए। उनका अनुसार वडाभित्रका कोल्ते, गुठीगाउँ र मुडुरी लगायतका ५ सय ५० घरधुरीमा लगाइएको स्याउ, ओखर, जौं, गहुँ बालीमासमेत क्षति पुगेको छ। यता कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम अधिकारीले झण्डै १४ प्रतिशत स्याउका फूलहरू नष्ट भएको बताए। उनले भने, 'असिना पानीले क्षति पुगेको विवरण संकलन भइरहेको छ। गत वर्ष जुम्लामा स्याउ बेचेर ६१ करोड ४१ लाख ५ हजार रुपैयाँ भित्रिएको थियो।’

कृषि विकास कार्यालयको तथ्यांक अनुसार ४ हजार २ सय ५० हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ। जुम्लाका १८ हजार घरधुरीमध्ये झण्डै १६ हजार घरमा स्याउ खेती भइरहेको छ।

प्रकाशित: २० वैशाख २०८२ १३:३० शनिबार