समाज

वन कार्यालयले अल्लो प्रशोधन गर्ने उपकरण दिने

डिभिजन वन कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुका लाभग्राहीलाई अल्लो प्रशोधन गरी कपडा बनाउन आवश्यक पर्ने १० लाख मूल्य बराबरको उपकरण दिने भएको छ । जडीबुटी विकास कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रममार्फत उक्त सहयोग गर्न लागिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

फुङलिङ नगरपालिका वडा नं १० का वडाध्यक्ष सन्तोष नुगो लिम्बूका अनुसार उक्त वडामा गत आवबाटै अल्लो प्रशोधन गरी त्यसबाट झोला सहित विभिन्न प्रकारका अल्लोजन्य उत्पादनका सामग्री बनाउने तालिमहरू सञ्चालन भइरहेको छ । तालिमलाई थप प्रभावकारी बनाउन तथा तालिममा सहभागीलाई संस्थागत रूपले उद्योगीको रुपमा विकास गर्न डिभिजन वन कार्यालयबाट उक्त सहयोग हुन लागेको वडाध्यक्ष लिम्बूले जानकारी दिए । फुरुम्बुमा पर्याप्त मात्रामा अल्लोको कच्चा पदार्थ पाइने गरेको छ ।

कच्चा पदार्थको पर्याप्त उपलब्धता हुने तथा अल्लोबाट उत्पादन हुने झोला सहितका सामग्री बनाउन यसअघिबाट नै सीप तथा दक्षता विकास सम्बन्धी तालिम समेत पाएका व्यक्ति भएकोले उक्त सहयोगबाट तालिम प्राप्त व्यक्तिलाई उद्यमी बन्न प्रोत्साहित गर्ने वडाध्यक्ष लिम्बूले बताए। डिभिजन वन कार्यालयका सूचना अधिकारी परमेश्वर पासवानका अनुसार डिभिजन वन कार्यालयले २०८१ साल फागुन १३ गते कार्यक्रम सञ्चालनका लागि वन उपभोक्ता समूहलाई प्रस्ताव आह्वान गरेको थियो।

एक महिनाको अवधि राखेर आह्वान भएको प्रस्तावका आधारमा जडीबुटी तथा वन पैदावारका लागि सामग्री खरिद र व्यवस्थापन शीर्षकमा छनौट भएको वन उपभोक्ता समूहमा कार्यक्रम हुने डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयले उक्त कार्यक्रमको कार्यान्वयनका सम्बन्धमा कार्यान्वयन निर्देशक समितिका पदाधिकारी तथा सरोकारवालाको सहभागितामा शुक्रवार फुरुम्बुका जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल समेत गरेको छ । यसअघि फुरुम्बुमा हिमाली संरक्षण मञ्चको समन्वयमा अल्लोबाट झोला उत्पादन गर्ने तालिम समेत सञ्चालन गरिएको थियो । 

प्रकाशित: १२ वैशाख २०८२ १४:०६ शुक्रबार