समाज

सिंजा महोत्सवकाे उद्घाटन गर्न सिंजा आइपुगिन् उपसभामुख इन्दिरा

खस भाषा र सभ्यता जननि सिंजामा 'सिंजा महोत्सव २०८२' हुने भएको छ। महोत्सवको उद्घाटन प्रतिनिधित्व सभाका उपसभामुख इन्दिरा राना (मगर) तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले गर्ने छन्।

आजदेखि २१ गतेसम्म जुम्लाकाे सिंजा गाउँपालिका-३ मा रहेको नराकोट बजारको चाँगा भन्ने ठाउँमा 'सिंजा महोत्सव २०८२' हुने छ। खस भाषाकाे उद्‍गम स्थल ऐतिहासिक सिंजा उपत्यकामा पहिलो पटक आयोजना हुन लागेको हो।

सिंजा संचार केन्द्रको आयोजनामा र सिंजा गाउँपालिकाको संरक्षणमा हुने यो महोत्सवले सिंजाको अद्वितीय भाषा, संस्कृति, कृषि, पर्यटन र व्यापारको प्रवर्द्धन गर्ने लक्ष्य लिएको हो। संस्थाका अध्यक्ष मोहन विक्रम शाहीले भने, ´यो महोत्सवले सिंजा क्षेत्रको पर्यटन प्रवर्द्धन, व्यापारिक गतिविधिमा वृद्धि र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने छ।'

महोत्सवमा चर्चित कलाकारहरू पल शाह, दुर्गेश थापालगायत दर्जनौं कलाकारको सहभागी रहने छ। 'सिंजा उपत्यकाको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने हुनेछ,' अध्यक्ष शाहीले भने, 'हामीले पर्यटन, व्यापार र स्थानीय संस्कृतिको प्रवर्द्धनलाई प्राथमिकता दिएका छौं।'

महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम र खस सभ्यतासँग सम्बन्धित विभिन्न गतिविधिहरू समेटिने छन्। जुम्लाको पर्यटकीय सम्भावनालाई उजागर गरी स्थानीय समुदायको आर्थिक विकासमा टेवा पुर्‍याउने अध्यक्ष शाहीले बताए।

महोत्सवमा खस भाषा, संस्कृति र सभ्यताको प्रचार–प्रसार, जुम्लाको प्रसिद्ध कृषि उपज-मार्सी धान, स्याउ, सिमी, ओखर र रैथाने बालीहरूको प्रदर्शन, ऐतिहासिक स्थलहरू-कनकासुन्दरी मन्दिर, विराट दरबार, पाण्डव गुफा, भैरवनाथ, केदारनाथ, हिमनदीहरू तथा सिजा उपत्यकाको पर्यटन प्रवर्द्धन गरिने छ।

प्रकाशित: १२ वैशाख २०८२ ०८:०९ शुक्रबार