समाज

घ्यू बेचेर छोराछोरीलाई डाक्टर बनाउने कुस्मे बडुवाल

जुम्लामा घ्यू बेच्दै दैलेखका कुस्मे बडुवाल। तस्बिर गोल्डेन बुढा/नागरिक

दैलेखको आठबीस नगरपालिका–९ छेपाडी गाउँका कुस्मे बडुवाल दैनिक एकदेखि तीन केजीसम्म घ्यू बेच्छन्। जुम्लाको सदरमुकाम खलङ्गामा भैंसीको घ्यू बेच्न थालेको १० वर्ष भएको छ। अहिले उनले घ्यू बिक्री गरेर वार्षिक दुई लाख सत्तरी हजार रुपैयाँ चोखो बचत गर्छन्। उनले घ्यू बेचेर आफ्नो आठजनाको परिवारको खर्च धानेको बताए।

चार छोरी र दुई छोरा छन्। कुस्मे बडुवाल भन्छन्, ‘३१ वर्षको उमेरदेखि जुम्लामा भैंसीको घ्यू बेचिरहेको छु।’ प्रतिदिन तीन हजार रुपैयाँ सम्म आम्दानी हुने उनले बताए। प्रति केजी एक हजार रुपैयाँ  र प्रति माना पाँच सय रुपैयाँ मा बिक्री गर्छन्। ‘बजारतिर घ्युको माग बढ्दो छ। शुद्ध घ्यू भए बिक्री–वितरणमा समस्या छैन। मेहनत र साहस गरे हरेक कुरा सम्भव हुन्छ,’ उनले भने।

घरखर्च धान्दै जेठो छोरा जिवराज बडुवाललाई उच्च शिक्षा पढाउन सफल भएका छन्। छोरा धुलिखेल अस्पतालमा डाक्टर बन्न पाँचवर्षे एमबीबीएस अध्ययन गरिरहेका छन्। अब एक वर्ष मात्र बाँकी छ। जेठी छोरी रमा बडुवाल काठमाडौँको वीर अस्पतालमा रेडियोग्राफीको जागिर गर्छिन्। अर्की छोरी सृजना बडुवाल जाजरकोटको नलगाड नगरपालिकामा सुब्बा छिन्। यो सबै घ्यू बेचेर सम्भव भएको हो। बाँकी दुई छोरी र एक छोरा स्नातकोत्तर अध्ययनरत छन्।

घरको कामधन्दा श्रीमती पम्फा बडुवालले सम्हाल्छिन्। ‘हामीले भैंसीको घ्युबाट आम्दानी गरेरै छोराछोरीको पढाइ खर्च जुटाएका छौँ,’ उनले भने, ‘भैंसी पालन पुर्ख्यौली पेसा हो।’ घरमा पाँचवटा भैंसी छन्। गाउँमा दाजुभाइले पालेका भैंसीबाट प्रति केजी आठ सय रुपैयाँ मा घ्यू किनेर जुम्लामा बेच्ने गरेका छन्। छोराछोरीको पढाइमा हालसम्म ६०/७० लाख खर्च भइसकेको र सबै घ्यू बिक्रीबाट धानेको उनले बताए। श्रीमती पम्फाको ठूलो सहयोग रहेको उनको भनाइ छ।

प्रकाशित: १० वैशाख २०८२ ०८:१३ बुधबार