समाज

६३ वर्षको उमेरमा नेपालीले पाइन् नागरिकता

पोखराकी सुकुमाया नेपालीले ६३ वर्षको उमेरमा नागरिकता पाएकी छन् । पतीसमेत गुमाइसकेकी नेपालीले जन्मेको ६३ वर्षपछि नागरिकता पाएकी हुन् । चार छोरी र आधा दर्जन नातिनातिनाकाे हजुरआमा भएपछि नागरिकता पाउँदा उनी दङ्ग छिन् । जन्मेको ६३ वर्षपछि, विवाह गरेको झण्डै ४० वर्षपछि अनि पतीको निधन भएको झण्डै ११ वर्षपछि नागरिकता पाउँदा उनको हर्षको सीमा छैन ।

जन्मदर्ताको आधारमा उनी ६३ वर्षको भएपनि उनलाई चिन्नेहरू उनको वास्तविक उमेर ७० कटेको बताउँछन् । पोखरा–२८ कालिकामा जन्मेकी सुकुमायाको विवाह ४० वर्षअघि पोखरा–५ मालेपाटनका फुलबहादुर नेपाली (नानीबाबु)सँग भएको थियो । श्रीमान् फुलबहादुर भइन्जेल उनले न विवाह दर्ता गरिन् नत नागरिकता नै बनाइन् । श्रीमानको मृत्यूपछिपनि उनलाई नागरिकताको चासै भएन ।

तर जब नातिनी (ठुली छोरीकी छोरी)लाई विदेश पठाउनुपर्ने भयो तब हजुरआमा भइसकेकी सुकुमायाको नागरिकताको खोजी भयो। पहिले त आवश्यकता नै थिएन, त्यही भएर नागरिकता बनाउने भन्ने नै भएन,उनले भनिन्,‘तर अहिले नातिनीलाई चाहिएपछि मेरो नागरिकताको खोजी भयो ।’

नागरिकता बनाउन त बनाइन् तर नागरिकता बनाउँदाको सास्तीको कहानी छुट्टै छ । उनी नागरिकता बनाउनका लागि आफू जन्मेको पोखरा–२८ कालिका, बिहे गरेर घरजम गरेको पोखरा–५ मालेपाटन, बसाइँ सरेर गएको पोखरा–१९ र पोखरा–११ फूलबारी मात्र होइन हाल बसोबास गरिरहेको पोखरा–९ को वडा कार्यालय दर्जनौँ पटक पुगिन् । त्यति मात्र होइन उनी नागरिकता बनाउनका लागि आधा दर्जन पटक त जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय धाइन् । उनले सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला अधिकारीसँग पटक/पटक कुरा गरिन् । किनकि उनीसँग न जन्मदर्ता थियो, नत विवाह दर्ता नै ।

तर निरन्तरको प्रयासले झण्डै चार महिनापछि सुकुमायाले नागरिकता पाएकी छन् । यसमा पोखरा–५ का वडाध्यक्ष विष्णुप्रसाद बराल र पूर्व वडाध्यक्ष तथा सामाजिक अभियन्ता धनबहादुर नेपालीको साथ, समर्थन र पहलले सम्भव भएको हो । अभियन्ता नेपालीले प्रमाण जुटाउन मात्रै ४ महिना भाैतारिनु परेको बताए । जहाँ जहाँ बस्नुभयो, त्यहाँ त्यहाँ प्रमाण लिन गयौं,उनले भने,‘सबै ठाउँबाट सर्जिमिन र मुचुल्का बनाएर प्रमाणसहित साक्षी बसेपछि बल्ल नागरिकता बनाउन सफल भयौँ ।’

हजुरआमा सुकुमायाको नागरिकता बनेपछि उनका छोरी तथा नातिनीहरुको पनि नागरिकता बनाउने बाटो खुल्ला भएको पोखरा–५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए। ढिलै भएपनि नागरिकता पाउनु भएको छ,उनले भने,‘अब सबै छोरी तथा नातिनीहरुले पनि नागरिकता पाउने बाटो खुल्यो ।’

सुकुमायाकी जेठी छोरी विष्णु नेपालीले आमाको नागरिकता बनेपछि बल्ल आफू र आफ्नो छोराछोरीको नागरिकता पाउने आधार बनेको भन्दै खुसी व्यक्त गरिन् । भनिन्,‘नागरिकता नबनेर कतै छोराछोरीले सरकारी जागिर खान, विदेश जान वा अन्य कुनै काम गर्न पाउँदैनन् कि भन्ने चिन्ता थियो तर अब भने ढुक्क भयो ।’

प्रकाशित: ७ वैशाख २०८२ १८:०१ आइतबार