समाज

विश्व सम्पदा चाँगुनारायण

धराेहर

नेपालकै ख्यातिप्राप्त देवस्थलहरूमध्ये चाँगुनारायण पनि एक हो। सो मन्दिरको नामबाट नै चाँगु नगरपालिका नामकरण भएको हो। काठमाडौंबाट करिब १६ किमिपूर्व भक्तपुर जिल्लामा अवस्थित छ।

समुद्र सतहबाट ५५ सय फिट उचाइमा रहेको चाँगुनारायणको पूर्वमा मण्डनदेउपुर नगरपालिका, पश्चिममा कागेश्वरी मनोहरा नगरपालिका एवं मध्यपुर ठिमि नगरपालिका, उत्तरमा शंखरापुर नगरपालिका र दक्षिणमा सूर्यविनायक नगरपालिका एवं भक्तपुर नगरपालिका रहेका छन्।

नगरपालिकाको जम्मा घरधुरी संख्या २३ हजार चार सय ९५ छ भने जनसंख्या ६४ हजार दुई सय ६० रहेको छ। जम्मा क्षेत्रफल ६२.९८ वर्ग किमि रहेको यस नगरपालिका लिच्छविकालीन धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण धार्मिक तीर्थस्थलका रूपमा परिचित रहेको छ।

काठमाडौं उपत्यकाको चार नारायण चाँगु, इचंगु, शेष र विशंखुमध्ये एक चाँगुनारायण हो। कात्र्तिक शुक्ल एकादशीमा चार नारायणको दर्शन गर्ने प्रथा लिच्छविकालदेखि सुरु भएको मानिन्छ। हरिबोधनी एकादशीमा यी चार नारायणको दर्शन गर्न जाने भक्तजनहरूको आजभोलि पनि भिड लागेकै हुन्छ। गोपालराज वंशावलीमा उल्लेख भएअनुसार इस्वीको १४ औं शताब्दीमा चार नारायण स्थापना भएका हुन्।

उपत्यकामा रहेका प्राचीन मन्दिरमा सबभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको हो। चाँगुनारायण मानदेवकालीन संवत् ३८६ (इ.सं. ४६४) नै नेपालको सर्वप्रचलित शिलापत्र मानिन्छ। चाँगुनारायणलाई चम्पकनारायण, चँगुनारायण र गरुडनारायण पनि भन्ने गरिन्छ।

इसापूर्व केही शताब्दी अघिदेखि नै ‘चाँगु’, ‘चम्पकारण्य’ नाम प्रसिद्ध थियो। ‘चम्पक’ र ‘आरण्य’ दुई शब्द मिली चम्पकारण्य भएको छ। लिच्छविकालमा यस मन्दिरको नाम डोलाशिखर थियो। चाँगुनारायण मन्दिर अवस्थित डाँडाको नाम डोलागिरि र यसको शिखरको स्वामीको रूपमा यिनलाई डोलाशिखर स्वामी भनिएको हो।

मल्लकालमा यिनको नाम नेपाल भाषामा कथिन पुग्यो। स्थाननामकोशका अनुसार पुरानो नेवारी भाषामा ‘चँ’ (भक्तपुरे उच्चारण) ‘चाँ’ को अर्थ ‘पिङ’ र ‘गुँ’ को अर्थ ‘पर्वत’ हुन्छ। सम्भवतः संस्कृत भाषाको ‘दोलागिरि’, ‘दोलाद्रि’ वा ‘दोलाशिखर’को नेवारीमा उल्था गरिँदा चाँगु नाम रहन गएको होला। यस्तै ‘चम्पक’ अर्थात् चाँपको ‘गुँ’ जङ्गल वा पर्वत हुनाले चाँगु भएर। चँगुँमा अवस्थित नारायण विष्णु मूर्तिलाई चँगुँनारायणको संज्ञा दिइएको हो।

चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालमा राजा हरिदत्त वर्माले इसापूर्व ३२३ मा बनाएको भए पनि लिच्छविकालमै अर्का राजा मानदेवले पूर्व र पश्चिमका सामन्तहरूमाथि विजय प्राप्त गरेपछि अत्यन्त प्रसन्न भई वि.सं. ५२१ मा चाँगुनारायण मन्दिरको परिसरमा गरुडको मूर्ति स्थापना गराई नेपालको पहिलो ऐतिहासिक शिला अभिलेख राख्न लगाएका थिए। सोही समयमा राजा मानदेवले चाँगुनारायण मन्दिरको गुठीका लागि जमिन चढाएको कुरा उक्त अभिलेखमा अंकित छ।

राजा मानदेवले चाँगुनारायण मन्दिर परिसरमा आफ्नो र आफ्नी श्रीमतीको मूर्तिसमेत प्रतिस्थापन गर्न लगाएका थिए। त्यस्तै, १० फिट अग्लो विजयस्तम्भमा ठुलो शङ्खलगायत विष्णुका अन्य प्रतीक चिह्नहरू राखिएका छन्। धातुकै सानो बारभित्र १७ औं शताब्दीको भूपालेन्द्र मल्ल तथा उनकी रानीको ढलौटको सालिक रहेका छन्।

चाँगुनारायण मन्दिरको भण्डारभित्र लिच्छविकालदेखि मल्लकालीन हतियारहरू प्रशस्त सङ्ग्रह गरी राखिएका छन्। त्यहाँ तरबार, खुँडा, खुकुरी, खड्ग, छुरी, भाला, त्रिशूल, धनु, वाण, घुँयत्रो र केही पुराना बन्दुकहरू पनि छन्। चाँगुस्थित शिवदेव–अंशुवर्माको अभिलेखमा उल्लेख गरिएअनुसार लिच्छविकालदेखि नै चाँगु एउटा बलियो गढ (किल्ला)का रूपमा रहेको थियो।

नेपाल माहात्म्य र विभिन्न वंशावलीअनुसार पनि चाँपको रूखको फेदबाट निस्केर देवताले सुदर्शन ब्राह्मणको गाईको दुध चोरेर खाँदा ब्राह्मणले शिर छेदन गर्दा चाँगुनारायणको उत्पत्ति भएको वर्णन पाइन्छ। चाँगुनारायण मन्दिरका हालका मुख्य पुजारी चक्रधरानन्द राजोपाध्यायको शब्दमा चाँगुनारायणको उत्पत्तिसम्बन्धि एक किंवदन्ती सबैलाई रोमाञ्चक लाग्न सक्छ।

उहाँका अनुसार परापूर्वकालमा हाल चाँगुनारायण अवस्थित डाँडा चाँप वा चम्पक रुखहरूले भरिएको वन थियो। त्यही वनको छेउमा सुदर्शन नामक ब्राह्मण बस्नुहुन्थ्यो। ती ब्राह्मणको वरिपरि गोठालाहरू बसोबास गर्थे, जसले ती ब्राह्मणको गाई चराउँथे र बिहान ब्राह्मणको कुटीमा दुध पु¥याउँथे। एक्कासी धेरैदिनसम्म गोठालाहरू सुदर्शन ब्राह्मणलाई दुध पु¥याउन गएनन्।

ब्राह्मण अचम्मित हुँदै खास कुरो बुझ्न जाँदा एउटा कालोवर्णको पुरुषले बिहान–बिहानै आएर गाईको थुन चुसेर भाग्दो रहेछ। दुध चोरेको झोकमा त्यस कालो पुरुषको शिर छेदन गरिदिए ब्राह्मणले। तर तिनै कालो पुरुष आफ्ना चार हातसँगै त्यहीं उत्पत्ति भए। चार हातका साथ उत्पत्ति भएको देखेर सुदर्शन ब्राह्मण आत्तिए र देवतालाई मारेको हो कि भनेर पश्चाताप गर्दै मर्न तयार भए।

तर त्यतिखेर नै उनलाई मर्नबाट रोक्दै कालो पुरुषको धारण गरेका विष्णु‍–नारायणले आफूले रचेको प्रपञ्चबारे विस्तृत रूपमा व्याख्यान गर्दै जाँदा पत्ता लाग्यो कि धेरै पहिला देवता र अशुरहरूको संग्राम भाथ्यो। ‘सुमति’ भन्ने ब्राह्मण दानवको तर्फबाट लड्न आएको थियो र विष्णु बाध्य भएर ती सुमति ब्राह्मणलाई मार्नुप¥यो। ती ब्राह्मणका गुरु शुक्राचार्यले यो कुरो पत्ता लाएपछि विष्णुलाई ब्रह्म–हत्याको श्राप दिएका थिए। त्यो श्रापबाट मुक्त हुनका लागि सुमतिकै सन्तानले विष्णुको शिर छेदन गर्नुपर्दो रहेछ।

यसरी सुमतिका सन्तान सुदर्शनले कालो पुरुषधारण विष्णुको शिर छेदन गरेपछि विष्णुश्रापमुक्त भए र विष्णुले अब सुदर्शनलाई नै आफ्नो पुजारी हुन आग्रह गरे। त्यही दिनदेखि चाँगुनारायणका पुजारीहरू सुदर्शनकै सन्तान हुने गर्छन् र आफ्नो बुबाआमा बिते पनि जुठो नपर्ने भएकाले सधैं मन्दिरमा पूजा गर्नैपर्ने परिपाटि चलिआएको छ। यही परम्परालाई आज पनि सुदर्शनकै सन्तानमा गनिने प्रमुख पुजारी चक्रधरानन्द राजोपाध्यायले दैनिक पूजा गरेर कायम गर्दै आउनुभएको छ।

स्कन्दपुराणअनुसार एकपटक कुनै ब्राह्मणले रिसाएर प्रतिशोधस्वरूप विष्णुको टाउको काटिदिए किनभने विष्णुले रिसको झोकमा शुक्रको एक चेला, ब्राह्मण जातको दैत्यको टाउको काटिदिएकाले रुष्ट भएर शुक्रले ज्यानमारा विष्णुलाई सराप दिएका थिए। शिवका वाहन नन्दीजस्तै विष्णुको वाहन नागहरूका जातीय शत्रु गरुडले नागहरूसँग एउटा सम्झौता गरी दोलागिरिको वरिपरि विष नभएका नागहरू मात्र रहने बन्दोबस्त मिलाइका थिए।

नेपालमा बौद्धमार्गीहरूले पशुपतिलाई अपनाएजस्तो चाँगुनारायणलाई पनि अपनाए। उनीहरूले विष्णुलाई अवलोकितेश्वर शक्तिको प्रतीकका रूपमा लिए। एकदिन गरुड तक्षक नागसँग भिडन्त गरिरहेका थिए र विष्णुको सहायताले जित्न लागेकै बेलामा लोकेश्वरले हस्तक्षेप गर्न आई सम्झौता गराए र तक्षक नाग गरुडको घाँटीमा बस्न गए। विष्णुले बेइज्जती सही काँधमा लोकेश्वरलाई राखेर आफ्नो वाहनमा चढे। त्यसैबखत सिंहको शरीर र चिलको टाउको भएको पंक्षी शार्दूलले अकस्मात तीनवटै देवतालाई टिपेर लगी दोलागिरिको टुप्पामा ओरालिदियो। त्यहाँ भएका मूर्तिहरूले अहिले पनि यसको सम्झना दिलाउँछन्।

चाँगुनारायणलाई तोकिएको निश्चित तीन ठाउँको जलले मात्र नारायणलाई स्नान गर्ने चलन रहेको पाइन्छ। हरेक सङ्क्रान्ति, शुक्लपक्षको द्वादशी तथा हरेक पूर्णिमाको दिन बागमतीबाट घडामा ल्याएको जलबाट स्नान र पूजा गरिन्छ।

यस्तै सङ्क्रान्ति, शुक्लपक्षको द्वादशी पूर्णिमाको दिनबाहेक सधैं नारायण धाराबाट ल्याएको जलले स्नान र पूजाले गरिन्छ। कथङ्कदाचित धारा सुकेर पानी आएन भने नजिकको मनमती (मनोहरा)को जल ल्याई नित्य कर्म गरिन्छ। जल ल्याउँदा घडा भुइँमा बिसाउन हुन्न भने कसैलाई नछोईकन ल्याउनुपर्ने नियम रहको छ।

नेपाल संवत् ८१५ जेष्ठ शुक्ल पञ्चमीको दिन पुजारी भवानीशंकर राजोपाध्यायको कालगतिले मृत्यु भएपछि जेठो छोरा शिवेन्द्रनन्द राजोपाध्याय राजा भूपालेन्द्र मल्ललाई बाबु मरेको हुनाले नारायणको पूजा गर्न के गर्ने भनी बिन्ती चढाउन गए। नासलचोकमा राजाले पण्डितहरू भेला गरेर जुठो सूतक लाग्ने नलाग्ने विषयमा छलफल गरेपछि राजाले एउटा छोराले देवताको पूजा गर्नु, पूजा गर्नेलाई जुठो लाग्दैन। अर्को छोराले बाबुको किरिया गर्नु भन्ने निर्णय गरे। यही परम्पराले आजसम्म चाँगुनारायणको पूजा अखण्डित रूपमा चलेको छ।

चाँगुनारायण मन्दिर आउने देशविदेशका पर्यटकहरूलाई मध्यनजर राखी २०५७ साल जेठ १९ गते स्थानीय वैष्णवराज श्रेष्ठको व्यक्तिगत प्रयासबाट चाँगु क्षेत्रको प्राचीन सम्पदा संरक्षण गर्ने हेतुले आफ्नै घरमा चाँगुनारायण सङ्ग्रहालय स्थापना गरेका छन्।

सङ्ग्रहालयमा गोपालकालीनदेखि करिब पाँच सय प्रकारका प्राचीन पुरातात्त्विक मत्त्वका सामग्री सङ्कलन गरेर प्रदर्शनमा राखेका छन्। जसमा नेपालभाषाका प्राचीन ग्रन्थ, लिपि, मानापाथी, थाङ्का चित्र साथै नेवारी कलात्मक झल्किने खालका धारा, भाँडाकुडालगायत अन्य थुप्रै वस्तुहरू रहेका छन् भने सङ्ग्रहालयको विशेष आकर्षण भनेको एक सय ६० वर्ष पुरानो हाकुवा (कालो धान), मार्सी धानसमेत अवलोकन गर्न पाइन्छ। यस सङ्ग्रहालयलाई अझै विस्तार गर्न सके भावी पुस्ताका लागि अध्ययन–अनुसन्धान गर्न र विश्वकै नमुना सङ्ग्रहालयका रूपमा स्थापित गर्न सकिनेछ।

प्रकाशित: १७ फाल्गुन २०८१ १०:५५ शनिबार